s

बागबजार 'बालश्रम मुक्त'

खिलक बुढाथोकी
 
काठमाडौं- काठमाडौं महानगरपालिका (कामपा)ले वडा ३१ लाई व्यवसाय जन्य बालश्रम मुक्त क्षेत्र घोषणा गरेको छ। काठमाडौंको केन्द्र भाग बागबजार आसपासमा पर्ने वडा ३१ बालश्रम मुक्त क्षेत्र घोषणा भएको महानगरकै पहिलो वडा हो।
 
महानगरको केन्द्र भागबाट बालश्रम क्षेत्र घोषणा सुरु गरिएको महानगरले जनाएको छ। बागबजार वरपरको क्षेत्रमा यातायात, होटल प्रशस्त रहेकाले यी क्षेत्रमा बढी बालश्रम प्रयोग हुन सक्ने अनुमान गर्दै महानगरले ३१ वडाबाट बालश्रम मुक्त क्षेत्र घोषणा कार्य अगाडि बढाएको हो।
 
महानगरले वडा ३१ मा गरेको अनुसन्धानमा ११ सय २५ व्यवसायमा १३ जना बालबालिका बालश्रम गरिरहेका भेटेको वडा प्रमुख सुदर्शन भट्टराईले जनाए।
 
ती बालबालिकालाई अभिभावक खोजेर जिम्मा लगाउने तथा अभिभावक नभएको खण्डमा सिविन, भोइस अफ चिल्डे्रन लगायत सामाजिक बाल संस्थामा पुनर्स्थापन गरिने भट्टराईले जानकारी दिए।
 
वडा ३१ बाट १३ बालबालिका मात्रै बालश्रम गरिरहेको पाइनु संख्यात्मक हिसाबले थोरै भए पनि राजधानीकै केन्द्रमा बालश्रम हुनु लज्जास्पद भएको महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए। 'बालअधिकारका विषयमा विभिन्न अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर तथा कानुन बनिसकेका छन् तर हामी भने भर्खर बाल श्रम मुक्त क्षेत्र घोषणा गर्दैछौं,' उनले भने, 'सामाजिक चेतनाका हिसाबले हामी धेरै पछाडि छौं, त्यसैले घोषणा गर्नुभन्दा पनि कार्यान्वयन जरुरी छ, यसका लागि हामी सबै लाग्नुपर्छ।'
 
महानगरले बालश्रममा बढी प्रयोग हुने क्षेत्र वडा २९, १३ र ६ मा पनि चाँडै नै बालश्रम मुक्त क्षेत्र घोषणा गर्ने जनाएको छ। महानगरले मात्र घोषणा गरेर नहुने हुँदा स्थानीय स्तरबाटै सचेत हुनुपर्ने महानगर सामाजिक विभागका बद्रीबहादुर खड्काले बताए।
 
Published on: 13 June 2016 | Nagarik

Back to list

;