s

अवैध रूपमा विदेश जान लागेका ५ पक्राउ

मलंगवा नाकाबाट भारत हुँदै अवैध रूपमा विदेश जान लागेका ३ महिला र २ पुरुषलाई सशस्त्र प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ परेका पुरुष महिलालाई नयाँदिल्लीसम्म पुर्‍याउन हिंडेका थिए । पक्राउ पर्नेमा मकवानपुर छतिवन ९ की सोममाया मोक्तान, दोलखा स्यावा १ की जाङ्मु शेर्पा, मोरङकी लीला थापा, सिन्धुपाल्चोकका वीरबहादुर तामाङ र सर्लाहीका चन्द्रबहादुर मोक्तान छन् । काठमाडौंबाट आएर राति हरिवनमा बास बसेका उनीहरू बिहानै मलंगवा पुगेर खेतको बाटो हुँदै पैदल भारततर्फ जान लाग्दा सशस्त्र प्रहरीले शंका लागि पक्राउ गरेको थियो । सशस्त्र प्रहरी नायब उपरीक्षक भरत बस्नेतले भारत जानुको कारण सोधपुछ गर्दा कुरा फेर्न थालेपछि छानबिनका लागि नियन्त्रणमा लिइएको बताए । 'आनन्द विहार, दिल्ली, खाडी मुलुक र इराक जान थालेको भन्दै बयान फेरेपछि पक्राउ गर्‍यौ,' उनले भने, 'थप अनुसन्धानका लागि ५ जिल्ला प्रहरीमा बुझाएका छौं ।' पक्राउ परेकामध्ये वीरबहादुरले सबैको राहदानी दिल्ली पुगिसकेको र त्यहीं भिसा लगाएर उडाउने गरेको बताए । दिल्लीसम्म लगिदिएबापत आफूले पैसा पाउने गरेको उनले बताएका छन् । महिलाहरूले पनि इराक जाने भनेर दलाललाई पासपोर्ट र नगद बुझाएको प्रहरीसमक्ष स्विकारेका छन् । ३ जनाले २ लाख ३० हजार रुपैयाँ बुझाएर थप रकम दिल्लीमा दिने सहमति गरी विदेश जान जान थालेको बताए । अनुसन्धान गरिरहेका प्रहरी निरिक्षक पृथ्वी ओलीले राहदानीको फोटोकपीसमेत नपाइएकाले कुन प्रयोजनका लागि भारत जान लागेको भन्ने नखुलेको बताए । 

Published on: 22 September 2013 | Kantipur

Back to list

;