s

अवैध रुपमा म्यानपावर चलाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ

गैर कानूनीरुपमा म्यानपावर कम्पनी सञ्चालन गरेको आरोपमा प्रहरीले राजधानीबाट एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गागलफेदीका पुरुषोत्तम खड्का रहेका छन् ।
 
प्रहरीका अनुसार खड्काले राजधानीको पुतलीसडकस्थित क्याची एजुकेशन एण्ड कन्सल्टेन्सीको साइन बोर्ड राखेर वैदेशिक रोजगार व्यवसायको अवैध धन्दा गर्दै आएका थिए । उनले पोल्याण्ड, माल्टा, अजरबैजान, इस्टोनिया लगायतका मुलुकमा आकर्षक रोजगारी दिलाउने भन्दै प्रति व्यक्ति ७ लाख देखि १२ लाख रुपैयाँ सम्म असुल्दै कतिपयलाई अलपत्र पार्ने गरेको अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक नगरेन्द्र उप्रेतीले बताए । प्रहरीले पुतलीसडकस्थित उक्त कन्सल्टेन्सीमा छापा मारेपछि खड्काको अवैध धन्दाबारे रहस्योद्घाटन भएको हो ।
 
वैदेशिक रोजगार ऐन अनुसार सरकारी ईजाजत पत्र नलिई वैदेशिक रोजगारको व्यवासय गर्न पाइँदैन । ईजाजत पत्र नलिई वैदेशिक रोजगारको व्यवसाय गर्ने व्यक्तिलाई रु ३ लाख देखि ५ लाखसम्म जरिवान वा ३ वर्ष देखि ७ वर्षसम्म कैद अथवा दुबै हुन सक्ने व्यवस्था छ ।
 
खड्काले विदेश पठाउँदा आवश्यक पर्ने कागजातहरु आफै तयार पार्ने गरेको पनि खुलेको छ । प्रहरीले छापाका क्रममा उक्त कन्सल्टेन्सीबाट २५ थान राहदानी, केही सरकारी निकायका छापहरुसमेत बरामद गरेको थियो । खड्कालाई आवश्यक कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
 
Published on: 6 March 2018 | Madhyanha

Back to list

;