s

अटो रिक्सा चलाएर स्वरोजगारी

राजकरण महतो 

महोत्तरीको बर्दिबासका युवा अटो चलाएर स्वरोजगार बनेका छन्। पाँच लाखको लागतमा खरिद गरिएको अटोबाट बर्दिबासका एक सयभन्दा बढी युवा मासिक ३० देखि ५० हजार आम्दानी गर्न सफल भएका छन्।

वैदेशिक रोगजारीबाट फर्केका युवा पनि अटो खरिद गरेर स्वदेशमै रमाइरहेका छन्। आफ्नै गाउँठाउँमै अटो रिक्साबाट राम्रो आम्दानी भएपछि ट्रक, बस, कार चलाइरहेका चालकहरू पनि अटो रिक्सातर्फ आकर्षित भएका छन्।
 
तीन वर्ष काम गरेर मलेसियाबाट फर्केका बर्दिबास नगरपालिका १४ का २७ वर्षीय अशोककुमार साहले अटो रिक्सा चलाएर मासिक ३० हजार कमाउँछन्। खर्च काटेर दिनको एक हजार बचत हुने गरेको उनी बताउँछन्।
 
पाँच लाख रुपैयाँमा किस्ताबन्दीमा अटो रिक्सा किनेका अशोकले कमाएर घरपरिवार पालेर मासिक १४ हजार किस्ता चुक्ता गर्छन्। ‘बिहानै रिक्सा लिएर निस्किन्छु, दिनको १५ देखि १८ सय कमाइ भइहाल्छ,’ उनले भने, ‘घर बसेर कमाउन पाउँदा खुसी लागेको छ।’
 
बर्दिबास नगरपालिका ३ कालापानीका २९ वर्षीय गुणराज भण्डारी पनि अटो रिक्साबाट मनग्य आम्दानी भएपछि दंग छन्। बर्दिबास चोकमा यात्रुको पर्खेर बसेका उनले भने, ‘महिनाको ३० हजार त मज्जाले कमाइन्छ।’
 
तीन वर्ष मलेसियामा बसेका उनले विदेशभन्दा स्वदेशमै अटो रिक्साबाट राम्रो आम्दानी भएको बताए। ‘आफ्नै देशमा परिवारसँगै बस्न पाइएको छु,’ उनले भने, ‘स्वदेशमै राम्रो आम्दानी हुन्छ भने विदेश किन जाने ? ’ गुणराजले प्रतिप्रश्न गरे।
 
बर्दिबासकै ओमकुमार विश्वकर्माले दिल्लीमा ७ वर्ष कार चलाए। अर्काको देशमा रातदिन पसिना बगाए पनि आत्मसम्मान नपाएपछि नेपाल फर्किएको उनले बताए। अटो रिक्सा किनेर गाउँमै स्वरोजगारी बनेका उनले भने, ‘अर्काको देशमा किन गुलामी गर्ने ? रिक्सा किनियो, राम्रो आम्दानी लिइरहेको छु,’ स्वरोजगार भएपछि कसैको करचापमा बस्नु नपरेकोमा उनले खुसी व्यक्त गरे।
 
‘जबसम्म नाडीमा रगत र शरीरमा बल हुन्छ तबसम्म मालिकहरूले हाइहाइ गर्छन्,’ विदेशमा नेपालीहरूले भोगिरहेको अपमानित जीवनबारे बताउँदै उनले थपे, ‘अर्काको देशमा मर्दा कुकुर बिरालो मरेजस्तै हुन्छ नेपालीको हालत।’
 
बर्दिबास क्षेत्रमा दुई वर्षअघिदेखि अटो रिक्सा सञ्चालनमा आएपछि ग्रामीण भेगका घरदैलोमा यातायातको सुविधा पुगेको बर्दिबास जनता बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष गुञ्जबहादुर खड्काले बताए। उनले भने, ‘रिक्साले गाउँमै रोजागरीको अवसर सिर्जना गरेको छ।’
 
सानातिना ढुवानीदेखि आवतजावतमा अटो रिक्सा सञ्चालनले टेवा पुगेकोे खयरमारकी शिक्षिका गीता महराले बताइन्। ‘ठूला सवारी नपुगेको गाउँघरको बाटोमा पनि अटो रिक्सा पुग्छ,’ उनले भनिन्, ‘ग्रामीण क्षेत्रमा अटो रिक्साले एम्बुलेन्सको पनि काम गरेको छ। कहाँ एम्बुसलेन्स खोज्ने भन्दै तुरुन्तै गाउँकै अटो रिक्सा बोलाएर अस्पतालमा बिरामी पुर्‍याउन सहज भएको छ।’
 
Published: 11 March 2018 | Annapurna Post

Back to list

;