s

अष्ट्रेलियाका प्रधानमन्त्रीले विदेशीलाई भने- गाह्रो छ भने आफ्नै देश फर्कन सक्नुहुन्छ

हेमन्त काफ्ले

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विद्यार्थी र अस्थायी भिषामा रहेकाहरूप्रति लक्षित गर्दै गाह्रो छ भने आफ्नो देश फर्कन सक्ने सुझाव दिएका छन्। 

कोरोनाभाइरसका कारण अष्ट्रेलियामा देखिएको आर्थिक संकट टार्न लागिपरेका प्रधानमन्त्री मोरिसनले पत्रकार सम्मेलनमा बोल्दै पढ्न आएकाहरूले पहिलो वर्षमै कठीन भयो भन्नु उचित नहुने बताए।

‘यो विषयमा अध्यागमनले हेर्ने भए पनि पढ्न आएको पहिलो वर्षमै कठीन भयो भन्नु उचित होइन,’ कोरोना भाइरसको पछिल्लो अवस्था र सरकारी प्रयासबारे आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘साँच्चै गाह्रो छ भने आ-आफ्नो देश फर्कन सक्नुहुनेछ।’ 

खासगरी विद्यार्थीलाई लक्षित गर्दै प्रधानमन्त्री मोरिसले उक्त अभिव्यक्ति दिएका छन्। विद्यार्थी भिषा आवेदन दिने क्रममा नै हरेक विद्यार्थीले पढाइको पहिलो वर्षभर पढ्न आर्थिक रूपमा सक्षम छु भनेर जिकीर गर्ने गरेको उल्लेख गर्दै उनले विद्यार्थीले सक्षमता प्रमाणित गर्नुपर्ने बेला आएको बताए। 

अरू भिजिटर र आप्रवासीहरूका सन्दर्भमा प्रधानमन्त्रीले उनीहरूलाई अष्ट्रेलिया बस्न बाध्यकारी नबनाएको पनि बताए। ‘हामीले उहाँहरूलाई यहाँ बस्न बाध्यकारी बनाएका छैनौं। समस्या भए आफ्नो देश फर्कन सक्नु हुनेछ।’ 

कोरोना संक्रमण र त्रासकाबीच कलकारखाना बन्द भएपछि रोजगारी गुमाएका अन्तर्राष्ट्रिय विद्यार्थीका सवालमा राज्यले सहुलियत दिनुपर्ने आवाज विभिन्न संघसंस्था र दूतावासबाट आग्रह आएपछि प्रधानमन्त्रीले जवाफ दिएका हुन्। 

उनले भिजिटर, अस्थायी भिषामा रहेकाहरूको जिम्मेवारी अष्ट्रेलियन सरकारले लिन नसक्ने प्रष्टाएका छन्। विद्यार्थीको काम गर्ने समयसीमा हटाइएको र २० हजार विद्यार्थी नर्सको भर्ना तथा अन्य व्यवसायमा उनीहरूलाई काम गर्ने मौका प्रदान गरिने उनले बताए। 

ब्रिसवेनमा पढाउने भरतराज पौडेलले पनि प्रधानमन्त्रीको कुरालाई नकरात्मक रूपमा हेर्न नहुने बताए। अर्का नेपाली सुवास श्रेष्ठले विद्यार्थीका सहयोगका लागि नेपालीले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए।

Published on: 3 April 2020 | Setopati

Link

Back to list

;