s

अस्ट्रेलियामा न्यूनतम ज्याला वृद्धि

प्रतिघण्टा १९ डलर, साताको ५९ हजार रुपैयाँ 

नारायण खडका

अस्ट्रेलियाको सरकारले सामान्य कामदारको न्यूनतम ज्याला बढाएको छ । अस्ट्रेलियामा काम गर्ने जोकोहीले अब कम्तीमा प्रतिघण्टा १८ दशमलव ९३ अस्ट्रेलियन डलर (करिब १६ सय रुपैयाँ) तलब पाउनेछन् । अस्ट्रेलियाको फेयरवर्क कमिसनले शुक्रबार ज्याला वृद्धिको घोषणा गरेको हो ।

साना व्यवसायीले फेयरवर्क कमिसनलाई तलब साताको करिब १२ डलर हाराहारी बढाउन आग्रह गरेका थिए भने कर्मचारी संगठनले तलब साताको करिब ५० डलर बढाउन माग गर्दै आएका थिए । तर कमिसनले भने अस्ट्रेलियाको अर्थतन्त्र सहज र राम्रो रहेको भन्दै दैनिक ज्याला तुलनात्मक रूपमा धेरै बढाएको जनाएको छ ।
 
शुक्रबार घोषणा गरिएको नयाँ ज्यालाअनुसार अस्ट्रेलियामा काम गर्ने व्यक्तिलाई साताको कम्तीमा ७ सय १९ डलर २० सेन्ट (करिब ५९ हजार रुपैयाँ) दिनैपर्ने हुन्छ । यो वृद्धि हाल रहेको ज्यालाको तुलनामा साताको २५ डलर बढी हो । आगामी जुलाई १ तारिखदेखि लागू गरिने नयाँ न्यूनतम ज्याला गत वर्षको भन्दा ३ दशमलव ५ प्रतिशतले बढी छ । गत वर्ष यहाँको न्यूनतम ज्याला प्रतिघण्टा १८ दशमलव २९ सेन्ट र साताको ६ सय ९४ डलर ९० सेन्ट (करिब ५७ हजार रुपैयाँ) थियो ।
 
अस्ट्रेलियाको दैनिक ज्याला वृद्धि भए पनि नेपालबाट आउने विद्यार्थीलाई कामको समस्या भने अहिले पनि उत्तिकै देखिएको छ । अस्ट्रेलियाको तलब वृद्धिले नेपाली विद्यार्थीमा पनि खुसी थपिदिएको छ । ‘तलब वृद्धि राम्रो कुरा हो तर काम पाउनै समस्या छ,’ ३ महिनाअघि विद्यार्थीका रूपमा मेलबर्न आएका रितेश श्रेष्ठले भने । अस्ट्रेलियालाई प्रतिघण्टाको दरले ज्याला बढी दिने उत्कृष्ट मुलुकमध्ये एक मानिन्छ ।
 
Published on: 2 June 2018 | Kantipur

Back to list

;