s

अस्ट्रेलियामा संक्रमित सबै नेपाली कोरोनामुक्त

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित सबै नेपाली निको भएका छन्। क्यानबेरास्थित नेपाली दूतावासका अनुसार दुई साताअघि सिड्नीका ४ विद्यार्थी र मेलबर्नका ३ नामा संक्रमण देखिएको थियो। आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनीहरुको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ। 

‘यो अत्यन्तै खुसीको कुरा हो, कोरोना भाइरस देखिएका सबै नेपाली निको भएर आफ्नो दैनिकीमा फर्किसक्नुभएको छ,’ अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दहालले कान्तिपुरसँग भने। यसअघि तास्मानियामा एक नेपाली विद्यार्थीमा संक्रमण देखिएको थियो। उनी पनि निको भएर फर्किसकेका छन्।

करिब १ लाख २० हजार नेपाली बसोबास गर्ने अस्ट्रेलियामा अब कुनै पनि नेपाली संक्रमित नहुनु खुसीको खबर भएको दूतावासको भनाइ छ। राजदूत दहालले आफूले भाइरसको संक्रमण भएका नेपालीबारे सम्बन्धित अवैतनिक दूतावास र एनआरएन लगायतका संस्थासँग समन्वय गरेर दैनिक रुपमा जानकारी लिने गरेको बताए। 

‘अस्ट्रेलियाले भाइरस संक्रमण नियन्त्रणका लागि चालेका कदम प्रभावकारी भइरहेकाले समेत भविष्यमा संक्रमण हुने सम्भावना कम छ,' उनले भने, 'तर सबै नेपालीले सरकारले जारी गरेका नियम तथा सुझाव पालना गर्न आवश्यक छ।' 

यसैबीच दूतावासले अस्ट्रेलियामा रहेका नेपाली पत्रकार तथा अवैतनिक वाणिज्यदूतसँग समस्यामा रहेका विद्यार्थीलाई गर्ने सहयोगबारे छलफल गरेको छ।भिडियोमार्फत गरिएको छलफलमा विद्यार्थीको समस्यालाई दीर्घकालीन समाधानको उपाय निकाल्नुपर्ने निष्कर्ष निकालिएको छ। 

यहाँ करिब ५४ हजार नेपाली विद्यार्थी अध्ययनरत छन्। सबै समस्यामा नरहेको बताउँदै प्राथमिकताका आधारमा समस्यामा रहेकालाई सहयोग गर्नुपर्नेमा जोड दिइएको छ। पत्रकारको संस्था एन्जाका अध्यक्ष हेमन्त काफ्लेले दूतावासले सही सूचना समयमै उपलब्ध गराउनुपर्ने र विद्यार्थीहरुको शुल्क, घरभाडा लगायतका समस्यालाई कूटनीतिक रुपमा दीर्घकालीन रुपमा सम्बोधन गर्नुपर्ने सुझाव दिएका थिए। 

अस्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसका कारण ५४ जनाले ज्यान गुमाइसकेका छन् भने ६ हजार २ सयभन्दा बढी संक्रमित छन्। नयाँ संक्रमितको संख्या तुलनात्मक रुपमा कम हुँदै गए पनि संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ। शुक्रबार मात्र यहाँ ३ जनाको मृत्यु भएको छ।

Published on: 10 April 2020 | Kantipur

Link

Back to list

;