s

अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्थाबारे सर्वेक्षणः भन्छन्- स्वदेश फर्कन पाउँ

हेमन्त काफ्ले 

अष्ट्रेलियामा उच्च अध्ययनका लागि रहेका करिब ६२ हजार नेपाली विध्यार्थीको अवस्थाबारे नेपाली राजदूतावासले सर्वेक्षण थालेको छ। 

समस्यामा परेका विद्यार्थीमाझ कोरोना र लकडाउनका कारण भोग्नु परेका पीडा र संकटका विषयमा गरिएको सो सर्वेक्षणमा ६२ हजार विद्यार्थीमध्ये १८ सयले मात्र सहभागिता जनाएका छन्।

आफ्नै खर्चमा अध्ययन गर्न आएका विद्यार्थीमा कोरोनाको त्रास होस् या कामको उठिबास, आफैमा पीडा सहनुपर्ने बाध्यता छँदैछ।

तर यस पटक नेपाली राजदूतावासले भने विद्यार्थीलाई आब्हान गरेर समस्याको पोको खोलिदिन आग्रह गर्नु एउटा महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्नु पनि हो। समस्याको समाधान गर्न सक्षम नभए पनि समन्वयकारी भूमिकामा दूतावासले यस पटक आफ्नो इज्जत जोगाएकै मान्नुपर्छ।सर्वेक्षणमा सहभागी १ हजार ८ सय विद्यार्थीमध्ये आफ्ना समस्याका पोका खोल्ने क्रममा धेरैले कोरोनाका कारण रोजगारी गुमाउँदा आर्थिक समस्यामा पिल्सनुपरेको बताएका छन्।

हुन पनि अष्ट्रेलियामा कोरोनाको प्रभावका कारण करिब तीस लाख मानिसले प्रत्यक्ष रुपमा रोजगारी गुमाएका छन् जसमा अन्तर्राष्ट्र्रिय विध्यार्थीको संख्या पनि करिब दुई लाख भन्दा बढी छ।

ग्राटन इन्स्टिच्युटको ‘शटडाउन एस्टिमेटिङ दि कोभिड १९ इम्प्लोयमेन्ट शक ’ नामक प्रतिवेदनले हस्पिटालिटी उद्योग सबैभन्दा बढी प्रभावित भएको र करिब ६० प्रतिशत रोजगारीका अवसर गुमेको जनाएको छ।

यस्तै सोही प्रतिवेदनअनुसार कला र मनोरञ्जन उद्योगले पनि ५० प्रतिशत भन्दा बढी कामदारलाई रोजगारीमा राख्न नसक्ने जनाएको छ। 

सर्वेक्षणमा सहभागी नेपाली विद्यार्थीमध्ये करिब एक सयले केही महिनाका लागि स्वदेश फर्कने व्यवस्था मिलाइदिन राजदूतावासलाई आग्रह गरेका थिए।

धेरैको समस्या भने काम, कोठाकै बढी देखिएको छ। धेरैले काम गुमाएकाले कलेजको फीमा सहुलियत र सेमेस्टर सार्न आग्रह गरेका थिए।

आकस्मिक रुपमा हातमुख जोर्न र अप्ठेरो आइपरेकालाई टेलिफोन मार्फत एनआरएन र अन्य संघ संस्थामार्फत सहयोग उपलब्ध गराइएको नेपाली राजदुतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाले बताइन्।

‘केही फरक र अलग खाले समस्याहरुको मिश्रण भएकोले हामी यसलाई प्राथमिकताका आधारमा निक्र्योल गरेर समाधानको उपाय खोज्ने काममा लागेका छौँ’ सापकोटाले भनिन्।

हुन पनि विद्यार्थीका आ– आफ्नै समस्या छन्, कोहीलाई कामको मार त कोही आर्थिक अभावमा पिल्सिएका छन्।

बिध्यार्थीका समस्याका विषयमा राजदूत महेशराज दाहालले उच्च अध्ययनमा अष्ट्रेलिया आएका नेपाली विद्यार्थीको समस्याको पहिचान र समाधानको उपायका लागि यो सर्वेक्षण गरिएको बताए।

‘समस्यामा परेका एक हजार आठ सय विद्यार्थीले आफ्ना समस्या राख्नु भएको छ, कस्ता समस्या छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने काममा हामी लागेका छौँ’ दाहालले भने।

नेपालीमा कोरोनाको प्रभाव खासै नदेखिएपनि जतिलाई देखियो त्यसमा दूतावासले सक्रिय भएर आवश्यक सहयोग गरेको उनको भनाइ छ। 

‘आइसोलेसनमा रहेका नेपाली हुन् वा समस्यामा परेका, हामीले जतिबेला पनि दूतावासको नम्बरमा फोन घुमाउनुहोस्, हामी चौबीसै घन्टा तयार छौँ भनेका छौँ’ दाहालले भने।

कोरोनाले विश्वलाई आक्रान्त पारेको बेला अष्ट्रेलिया यसको कहरबाट अहिलेसम्म मानवीय र आर्थिक क्षतिमा धेरै हदसम्म जोगिएको अवस्था छ। 

यस्तो परिस्थितिमा नेपाली विद्यार्थीले धैर्यधारण गर्ने, आफ्ना अभिभावकसँग नियमित सम्पर्कमा रहने, खर्चको उचित व्यवस्थापन गर्ने, संक्रमणबाट बच्न सुरक्षित भएर हिँड्नु जरुरी देखिन्छ।

Published on: 3 May 2020 | Setopati

Link

Back to list

;