s

अस्ट्रेलियामा कोरोना संक्रमित सबै नेपाली स्वस्थ, विद्यार्थीलाई मनोवैज्ञानिक काउन्सिलिङ गर्दै दूतावास

पर्शुराम काफ्ले

 

कोरोना भाइरस संक्रमणको विश्वव्यापी विस्तारपछि अप्ठ्यारोमा परेकामध्ये करिब एक हजार आठ सय नेपाली विद्यार्थीले आपतकालीन दर्ता फारम भरेका छन् । त्यहाँस्थित नेपाली राजदूतावासको आह्वानमा उनीहरूले आपतकालीन दर्ता फाराम भरेका हुन् । 

दूतावासका अनुसार अस्ट्रेलियामा गत जनवरीयता मात्रै करिब पाँच हजार नेपाली विद्यार्थी पुगेका थिए । अधिकांश विद्यार्थी ‘पार्टटाइम’ काम गर्ने र पढाइखर्च टार्ने गरी गएकामा कोरोना भाइरसको संक्रमण विस्तारका कारण लकडाउन सुरु भएपछि उनीहरू समस्यामा परेका छन् । 

उनीहरूको समस्या समाधानका लागि नेपाली राजदूतावासले आपतकालीन दर्ता फारम भर्न आह्वान गरेको थियो । त्यसक्रममा एक हजार आठ सय नेपाली विद्यार्थीले आपतकालीन दर्ता फारम भरेको र उनीहरूको समस्या सम्बोधन गरिएको दाबी नेपाली राजदूतावासले गरेको छ । 

‘राजदूतावासको तर्फबाट सबै नेपालीलाई व्यक्तिगत रूपमा इमेलको जवाफ पठाइएको छ, त्यसक्रममा विद्यार्थीका हरेक प्रश्नलाई हामीले सम्बोधन गरेका छौँ,’ अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले भने, ‘उनीहरूलाई परेको समस्या समाधानका लागि हामीले एनआरएनलगायतका संस्था र नेपाली समुदायसँग समन्वय गरेका छौँ, संकटमा परेकाहरूलाई घरमै खाद्यान्नको बन्दोबस्त भएको छ ।’ 

राजदूत दाहालका अनुसार अस्ट्रेलियामा कोरोनाबाट आठजना संक्रमित भएका थिए । अहिले आठैजना उपचारपछि घर फर्केको जानकारी उनले दिए । उनले भने, ‘अस्ट्रेलियामा अब नेपालीहरू संक्रमित छैनन् । यसअघि संक्रमित आठजना नेपाली पूर्ण रूपमा स्वस्थ छन् ।’ 

कोरोना भाइरसको संक्रमण विस्तारले सिर्जित अवस्थाका कारण विशेषगरी त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा छन् । उनीहरूमध्ये समस्यामा परेका एक हजार आठ सयजनाले फारम भरे पनि खानपिनकै समस्या भोग्नेको संख्या त्यति धेरै छैन । बरु २० वर्षभन्दा कम उमेरका केही विद्यार्थीमा ‘होम सिक’को समस्या देखिएको छ । राजदूत दाहालका भनाइमा आफ्ना साथीहरूसँग पनि भेट्न नपाएका कारण यस्तो समस्या देखिएको हुन सक्छ ।

त्यस्ता विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा राजदूतावासले काउन्सिलिङ गरिरहेको जानकारी दाहालले दिए । उनले थपे, ‘हाम्रो काम नै अहिले अस्ट्रेलियामा विद्यार्थी र नेपालमा रहेका उनीहरूका अभिभावकहरूसँग कुराकानी गर्ने भएको छ । दिनरात यसमै केन्द्रित भएका छौँ ।’ 

दूतावासको समन्वयमा अहिले पुराना विद्यार्थीले नयाँ विद्यार्थीलाई काउन्सिलिङका लागि भिडियो सन्देश तयार गरिरहेका छन् । विद्यार्थीको शैक्षिक शुल्क, कोठाभाडालगायतका विषयम स्थानीय सरकार र शैक्षिक संस्थाका पदाधिकारीसँग निरन्तर छलफल भइरहेको र उनीहरूले सहयोगको आश्वासन दिएको राजदूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार कतिपय संस्थाले तत्काललाई शुल्क मिनाहा गरेका छन्, कतिपयले आधा घटाएका छन्, कतिपयले पछि तिर्दा पनि हुने व्यवस्था गरेका छन् ।

अस्ट्रेलिया सरकारले एक वर्षभन्दा कम समयदेखि त्यहाँ रहेका विद्यार्थीलाई बस्न अप्ठ्यारो भए स्वदेश फर्कन आग्रह गरेको थियो । युरोप, अमेरिका, बेलायतलगायतका देशले आफ्ना विद्यार्थी फिर्ता लगेका छन् भने ‘वर्किङ होलिडे’मा अस्ट्रेलिया रहेकाहरू पनि फर्केका छन् । करिब ५० प्रतिशत विदेशी नागरिक अस्ट्रेलियाबाट आफ्ना देश फर्किसकेका छन् ।

बाँकी रहेका विदेशी नागरिकलाई पनि सरकारले राहत दिने विषयमा छलफल भइरहेको जानकारी पाएको बताउँदै राजदूत दाहालले भने, ‘हामीले सरकारसँग निरन्तर समन्वय गरिरहेका छौँ ।’

Published on: 16 April 2020 | Nayapatrika

Link

Back to list

;