s

अष्ट्रेलियामा वर्किङ भिसाका लागि नयाँ नियम

पढाईपछि वर्किङ भिसा पाउन कठिन हुने

नारायण खड्का

अष्ट्रेलियाले आइतबारदेखि नै लागु हुने गरी नयाँ भिसा प्रक्रिया जारी गरेको छ । यसपहिले विदेशी कामदारहरुलाई दिँदै आएको भिसा–४५७ लाई पूर्णत: हटाउँदै नयाँ प्रक्रिया शुरु गरिएको हो ।

यस भिसा प्रक्रिया अन्तरगत विदेशमा रहेका दक्ष कामदारहरुलाई अष्ट्रेलिया प्रवेश र काम गर्न सहजता प्रदान गर्ने विश्वास गरिएको छ । टेम्पोररी स्किल सर्टेट (टिएसएस) भिसा विभिन्न दुई तहमा वर्गिकरण गरेर जारी गरिएको हो ।
 
यसपहिले रहेको ४५७ भिसा पनि विदेशी कामदारहरुलाई नै लक्षित भएपनि अष्ट्रेलिया सरकारले केही महिना पहिल्यै यो भिसा प्रक्रिया हटाउने निर्णय गरेको थियो । मार्चको १८ तारिखदेखि लागु भएको यो भिसा छोटो र लामो समयका लागि वर्गिकरण गरिएको छ ।
 
जसअनुसार लामो भिसामा अष्ट्रेलिया आउने विदेशी कामदारहरुले स्थायी बासिन्दा (पिआर) को अनुमतीको आवदेन दिन पाउनेछन् भने छोटो भिसामा आउनेहरुलाई यो सुविधाबाट वञ्चित गरिएको छ ।
 
अध्यागमन मन्त्रालयका अनुसार यो भिसा दुई वर्ष र चार वर्षका लागि फरक बनाइएको छ । जसमा दुई वर्षका लागि आउनेहरुले काम सकेपछि फर्कनुपर्नेछ भने ४ वर्षका लागि आउनेहरुले आएको ३ वर्षपछि स्थायी अनुमतिका लागि आवेदन दिने अधिकार पानेछन् । अर्काेतिर यस भिसामा विदेशबाट कामदार बोलाउनुअघि अष्ट्रेलियामै रहेका कामदारहरुलाई प्राथमिकता दिएको हुनुपर्ने शर्त समेत राखिएको छ ।
 
अध्यागमनको क्षेत्रमा काम गरिरहेका विज्ञहरुका अनुसार यो भिसा प्रक्रियाले सबैभन्दा कठिनाई विद्यार्थीहरुलाई हुनेछ । यसपहिलेको ४५७ भिसामा अध्ययन सकेपछि प्रक्रियामा जान सहज हुने भएपनि नयाँ भिसामा भने विद्यार्थीहरुलाई भिसाको सर्तहरु पुरा गर्न कठिन बनाइएको छ ।
 
यस भिसामा विदेशबाट आउन चाहनेहरुले कम्तिमा सम्बन्धित क्षेत्रमा दुई बर्ष काम गरेको हुनुपर्ने र उनीहरुको अनुभव र अध्ययनको समेत सम्बन्धित निकायबाट जाँच हुनेछ ।
 
अष्ट्रेलियाले पछिल्लो समयमा आफ्नो अध्यागमन नीतिमा फेरबदल गरिरहेको छ । वर्तमान सरकारले विदेशी नागरिकलाई अष्ट्रेलियाको नागरिकता दिने नीतिमा समेत व्यापक परिवर्तन गर्ने कोशिश गरेको भएपनि अहिले उक्त अध्यादेशले संसदबाट अनुमति पाउन सकेको छैन ।
 
Published on: 19 March 2018 | Kantipur

Back to list

;