s

अष्ट्रेलियामा पढ्न आवेदन दिने नेपाली विद्यार्थी ४६ प्रतिशत बढे

चीन र भारतपछि नेपाल तेस्रो

अष्ट्रेलियाका विश्वविद्यालयहरुमा पढ्न आवेदन दिने नेपाली विद्यार्थीहरुको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ ।सन् २०१६ को दोस्रो उत्तरार्द्धको तुलनामा २०१७ मा यो संख्यामा ४६ प्रतिशतले बढोत्तरी भएको हो ।

गत वर्षको जुलाई र डिसेम्बरको बीचमा अष्ट्रेलियामा अध्ययनका लागि एक लाख ९० हजार विद्यार्थीले आवेदन गरेका थिए । यसमा सबैभन्दा धेरै संख्या चिनीया र भारतीय विद्यार्थीको छ भने नेपाल तेस्रो स्थानमा छ ।
 
जातीय आक्रमणबारे नकारात्मक मिडिया कभरेजका बाबजुद यी देशहरुबाट विद्यार्थीको आवेदन बढेको हो । अष्ट्रेलियन मिडियाका अनुसार २०१६ को जुलाई र डिसेम्बरबीचका ६ महिनामा भन्दा २०१७ को ६ महिनामा विदेशी
 
विद्यार्थीहरुको आवेदन १४.१ प्रतिशतले बढेको छ । जसमा भारतीय विद्यार्थीहरुको आवेदन ३२ प्रतिशतले र चिनीया विद्यार्थीहरुको १३ प्रतिशतले बढेको छ । तेस्रो स्थानमा रहेको नेपालबाट १२ हजार विद्यार्थीले आवेदन गरेका छन् । अघिल्लो वर्ष तेस्रो स्थानमा ब्राजिल थियो ।
 
आवेदन गर्नेमध्ये ९० प्रतिशतभन्दा बढिलाई विद्यार्थी भिसा दिइएको छ, जसमा ४१ हजार चिनिया छन् भने २० हजार भारतीय छन् । समग्रमा भिसा पाउने विद्यार्थीको संख्या ७ प्रतिशतले बढेको छ ।
 
अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियामा पढ्नका लागि महंगो शुल्क तिर्छन् र यो त्यहाँका विश्वविद्यालयहरुको आम्दानीको बलियो स्रोत बनेको छ । आलोचकहरुले अष्ट्रेलियन विश्वविद्यालयहरुमा चिनियाको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।
 
पछिल्लो १० वर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको ठूलो स्रोतका रुपमा नेपाल अगाडि आएको छ । सुरुमा माओवादी द्वन्द्वका कारण यहाँ विद्यार्थी आउन सुरु गरेका थिए भने ‘वर्ड अफ माउथ’ले गर्दा पनि यसले निरन्तरता पाएको छ ।
 
नेपाली सञ्चारमाध्यमहरुले सिड्नीको भिक्टोरिया युनिभर्सिटी र वेस्टर्न सिड्नी युनिभर्सिटीलाई नेपाली विद्यार्थीहरुका लागि प्रमुख गन्तव्यका रुपमा पहिचान गरेका छन् र अउबर्न नेपाली बोल्नेहरुका लागि सिड्नीको हब बनेको छ ।
 
Published on: 1 March 2018 | Onlinekhabar

Back to list

;