s

अस्ट्रेलियामा नेपालीहरूले आत्महत्या गर्नुका कारण

हेमन्त काफ्ले 

अस्ट्रेलियामा रहेका दुई जना नेपालीले गएको महिनामा संसार छाडे। कोरोना महामारीको कहरबीच उनीहरूले आत्महत्या गरेका हुन्।

झापाकी एक महिला र भक्तपुरका एक पुरूषले आत्महत्या गरेको घटनाले अस्ट्रेलियामा रहेका नेपाली समुदायमा पीडा थपियो।

पछिल्लो समय अस्ट्रेलियामा पढ्न आएका नेपालीहरू विविध कारणले आत्महत्याको बाटोमा पुगेका छन्। पढ्न भनेर अस्ट्रेलिया प्रवेश गरेका नेपालीहरू काम र पैसा कमाउनेतिर लाग्न खोज्दा समस्या देखिएका छन्। 

केही महिनाअघि सिड्नी आइपुगेका काभ्रेका संजोग पराजुलीले दुई महिनासम्म काम नपाएको बताए।

‘विश्वविद्यालयको शुल्क महँगो छ। दुई महिनासम्म काम पाइएन। अहिले सानोतिनो काम पाएको छु अब पढाइ अगाडि बढ्लाजस्तो छ,’ उनले भने।

ठूलो धनराशी खर्च गरेर अध्ययनका लागि आएका नेपाली विद्यार्थी अस्ट्रेलिया आइसकेपछि सोचेअनुसार सफलता हासिल गर्न नसक्दा मानसिक तनाब बढ्ने र पैसा नहुँदा पनि समस्या देखिने गरेको चिकित्सक सीताराम जोशीले बताए।

‘यहाँको परिस्थिति नियाल्न नसक्दा र पढाइदेखि बसाइसम्म आउने समस्याले प्राय गरी विद्यार्थीमा मानसिक समस्या देखिएको छ। त्यसले चरम रूप लियो भने आत्महत्याजस्ता गलत निर्णयमा उनीहरू पुग्छन्,’ उनले भने।

सिड्नीका युवा अभियन्ता डिला खरेलका अनुसार मानसिक रूपमा समस्या रहेपछि आत्महत्याका घटना हुने तर्क गर्छिन्। 

‘अहिलेका युवामा धैर्य छैन। यसले पनि मानसिक रूपमा समस्या नित्याउँछ,’ उनले भनिन्, ‘साना समस्यामा आत्तिने र केही खुसीमा मात्तिने प्रवृत्ति छ। यसले मानिसलाई ‘इमोसनल’ बनाउँछ।’

उमेर परिपक्क नहुँदै खुला समाजमा आएकोले पनि नेपाली विद्यार्थी सम्हालिन नसकेको हुन सक्ने एनआरएनएका महासचिव ज्ञानेन्द्र रेग्मी तर्क गर्छन्।

‘नेपालमा अभिभावकको रेखदेखमा रहेका नानीबाबु यहाँ पढाइ र कमाइले लागुपदार्थ कुलतका शिकारमा फसेका पनि छन्। यसबाट विचलित भई आफूखुसी गलत निर्णय गर्छन्,’ उनले भने।

कोरोनाले गर्दा झन् आर्थिकलगायत समस्या थपिएको छ। रोजगारी गुमेका छन्। कलेजका महँगा शुल्क तिर्न विद्यार्थीलाई गाह्रो छ।

Published on: 11 July 2020 | Setopati

Link

Back to list

;