s

अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या ३३ प्रतिशतले बढ्यो

नारायण खड्का

अस्ट्रेलिया — अध्ययनका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या ३३ दशमलव ५ प्रतिशतले बढेको छ । अस्ट्रेलिया सरकारको शिक्षा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यहाँ अध्ययनरत विदेशी विद्यार्थीको संख्यामा नेपाल अहिलेपनि तेस्रो नम्बरमा रहेको छ ।

 

विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार सन २०१९ को डिसेम्बरसम्म विभिन्न विषयमा अध्ययनका लागि भर्ना लिने नेपाली विद्यार्थीहरुको संख्या ६९ हजार ३ सय ६५ रहेको छ। जुन सन् २०१८ को तुलनामा करिब १८ हजारले बढी हो।

नेपालीहरु यहाँ अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको समग्र अनुपातमा नेपालीको संख्या ७ दशमलव २ प्रतिशत रहेको छ। तथ्यांक अनुसार उच्च शिक्षा अन्तर्गतको विभिन्न विषय अध्ययनका लागि ३४ हजार ६ सय ३२ ले अनुमति लिएका छन् भने व्यवासायिक शिक्षा अध्ययनतर्फ २९ हजार २ सय ११ ले अनुमति लिएका छन्। अस्ट्रेलियाले नेपालबाट आउने विद्यार्थीलाई पछिल्लो समयमा कडाइ गरिरहेको भएपनि अध्ययनका लागि आउने संख्या भने बढेको देखिएको हो।

यहाँ रहेको अध्यागमन तथा विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेका विज्ञहरु भने सरकारले उपलब्ध गराएको तथ्यांक अनुसारका सबै विद्यार्थीहरु भने अध्ययनरत नरहेको दाबी गर्छन्। विगत एक दशकदेखि विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेका सञ्जीव पाण्डे भन्छन्, ‘एउटा विद्यार्थीले एकभन्दा बढी अध्ययन अनुमति पत्र (सीओई) लिने भएकाले यो संख्या धेरै देखिएको हो।’

अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई लक्षित गरेर करिब १ वर्षअघि केही नियमहरु परिवर्तन गरेको छ। जसमा व्यवसायिक शिक्षा अध्ययन गर्न आउने वा यहाँ रहेर अध्ययन गर्न चाहने विद्यार्थीले सबै आर्थिक विवरण पेश गर्नुपर्ने बनाइएको छ भने उच्चशिक्षा अध्ययनका लागि सरकारले अनौपचारिक वर्गीकरणमा समेत सबैभन्दा कम अर्थात् तेस्रो नम्बरमा राखेको छ।

यसका साथै केही समयअघि यहाँको स्थानीय पत्रिकामा दुई शिक्षाविद्ले नेपाली विद्यार्थीलाई आर्थिक रुपमा यहाँको शिक्षा धान्न समस्या हुने जनाउँदै यसलाई पुर्नविचार गर्नुपर्ने आशयको विचार ब्यक्त गरेका थिए। यसको बाबजुद पनि सरकारी तथ्यांकमा नेपाली विद्यार्थी संख्या करिब एक तिहाइले बढेको छ।

सरकारी तथ्यांकमा सन् २०१६ देखि नेपाली विद्यार्थीको संख्यामा तिव्रताका साथ वृद्धि आएको देखिएको छ। सन् २०१६ मा जम्मा २२ हजार ६ सय ७१ विद्यार्थीहरुले अध्ययनका लागि अनुमति लिएकोमा यो संख्या २०१८ सम्म आइपुग्दा ५१ हजार ९ सय ४३ देखिएको छ। अहिले अस्ट्रेलियामा ७ लाख ५८ हजार विदेशी विद्यार्थी अध्ययनरत छन्।

Published on: 4 March 2020 | Kantipur

Link

Back to list

;