s

अस्ट्रेलियामा ज्यान गुमाउँदै नेपाली विद्यार्थी

नारायण खड्का 

अस्ट्रेलिया — करिब दुई महिनाअघि मात्र उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी आएका बस्नेत थरका नेपाली विद्यार्थी आफ्नै कोठामा मृत भेटिए । काठमाडौं गल्फुटार घर भएका बस्नेत केही दिनअघि मात्र आफ्नै कोठामा मृत भेटिएका थिए । त्यसैगरी सिड्नीमै बस्दै आएकी अर्की कपाली थर भएकी विद्यार्थीसमेत केही साताअघि आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

पछिल्लो तीन महिनाको अवधिमा मात्र करिब आधा दर्जन नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन् । हृदयाघात तथा दुर्घटनाले मात्र नभई अन्य कारणले पनि विद्यार्थीले ज्यान गुमाउने गरेका छन् । बेलुका आरामले सुतेका विद्यार्थी पनि कतिपय अवस्थामा मृत भेटिने गरेका छन् । विद्यार्थीले ज्यान गुमाएपछि उनीहरूको शव नेपाल पठाउन वा अस्ट्रेलियामै सद्गत गर्न एनआरएनएले सहयोग पुर्‍याउँदै आएको छ । यसका साथै अन्य संस्थाले समेत आर्थिकलगायत सहयोग गर्ने गरेका छन् । एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार ७ महिनाको अवधिमा ज्यान गुमाएका विद्यार्थीका लागि आर्थिकलगायत सहयोग पुर्‍याएको उनले जनाए । उपलब्ध तथ्यांकअनुसार मृत्यु हुने अधिकांश विद्यार्थी न्यु साउथ वेल्सका छन् । पछिल्ला ८ महिनामा न्यु साउथ वेल्सका ९ जना, भिक्टोरिया र नर्दन टेरिटोरीका २/२ जना र दक्षिण अस्ट्रेलियाका एक विद्यार्थीको मृत्यु भएको छ । कोषाध्यक्ष पोखरेलले उपलब्ध गराएको तथ्यांकअनुसार गतवर्षको १२ महिनामा जम्मा १४ जना विद्यार्थीको मात्र मृत्यु भएको थियो । उच्च शिक्षा अध्ययनका लागि लाखौं रुपैयाँ खर्च गरेर आउने र यहाँ आएपछि ज्यान गुमाउने क्रम बढेपछि नेपाली समुदाय चिन्तित छ । 

मृत्युपछि प्रहरीले पोस्टमार्टमलगायत कानुनी प्रावधान पूरा गर्न शव लैजाने गरेको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि शव फिर्ता लैजान नेपाली समुदायलाई भन्ने गरेको पोखरेलले जनाए । मृत्यु भएका विद्यार्थीको शव नेपाल पठाउन वा अस्ट्रेलियामै अन्तिम संस्कार गर्न एनआरएनएले सहयोग पुर्‍याउँदै आएको भए पनि आफूहरूले पोस्टमार्टम रिपोर्ट हेर्न नपाउने भएकाले यथार्थ कारण थाहा नहुने एक पदाधिकारीले बताए ।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्सका अध्यक्ष देव गुरुङ केही नेपाली विद्यार्थी विभिन्न कारणले कुलतमा फस्दै गएको र त्यसकै कारण मानसिक रोगका कारण पीडित भएकाले समेत समस्या बढ्दै गएको हुन सक्ने सुनाउँछन् । ‘हामीले विद्यार्थीलाई परेको विभिन्न समस्या र उनीहरूलाई आवश्यकताअनुसार सक्दो सहयोग पुर्‍याए पनि यो संख्या बढ्दै गएको छ ।’ गुरुङले कान्तिपुरसँग भने, ‘एकातिर महँगो शुल्क तिर्न धेरै काम गर्ने र अर्कोतिर काम र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्न नसकेर समस्या देखिएको हो ।’ उनले केही दिनअघि अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानलाई भेटेर विद्यार्थीका समस्याबारे जानकारी गराएको बताए । मन्त्री कोलम्यानले विद्यार्थीका विविध समस्या समाधान गर्न सहयोगको सकारात्मक आश्वासन दिएको उनले जनाए ।

अस्ट्रेलियामा रहेका नेपाली चिकित्सकको संगठन अस्ट्रेलियन मेडिकल एन्ड डेन्टल एसोसिएसनका अध्यक्ष डा. अनुपम पोखरेल आफूहरूले प्रत्यक्ष रूपमा कुनै विद्यार्थीको स्वास्थ्य अवस्थालाई नजिकबाट अध्ययन नगरेकाले त्यसबारेमा भन्न नसक्ने बताए । ‘यदि दूतावास र नेपाल सरकारले आवश्यकता महसुस गरे यसबारेमा विशेषज्ञसहितको समिति बनाएर अध्ययनपछि कारणबारे भन्न सकिन्छ,’ पोखरेलको भने । करिब २ वर्षको सीमा बन्दपछि हालै खुलेको अस्ट्रेलियामा आउने नेपाली विद्यार्थीको संख्यासमेत बढिरहेको छ । यस क्षेत्रलाई नजिकबाट चिनेका र वर्षौंदेखि अस्ट्रेलियामा स्थापित गुरुङ भने विद्यार्थीलाई सही सूचना, शिक्षा र जानकारीको अभाव रहेको बताउँछन् । उनले नेपाली विद्यार्थी यहाँ आउनुअघि नै अस्ट्रेलियाको भूगोल, कला संस्कृति, शैक्षिक प्रणाली, रहनसहन, रोजगारीका क्षेत्रलगायत विषयमा ‘अनिवार्य प्रि–डिपार्चर’ तालिमको आवश्यकता देख्छन् । यसका लागि काठमाडौंमा रहेको एनआरएनएको केन्द्रीय सचिवालयलाई नै प्रयोग गर्न सकिने उनको सुझाव छ । तर आफूले यसका लागि लामो समयदेखि पहल गरिरहेको भए पनि सुनुवाइ नभएको गुरुङले बताए । 

विद्यार्थीको समस्या बढ्दै गएपछि क्यानबेरास्थित दूतावासले नेपाल सरकारलाई ‘नो अब्जेक्सन’ लेटर दिनुअघि नै कमसेकम अस्ट्रेलियाबारे यथेष्ट जानकारी समेटिएको फाराम भर्नुपर्ने नियम अनिवार्य गर्न आग्रह गरेको अधिकारीले जानकारी दिएका छन् । तर पनि यसबारेमा नेपाल सरकारबाट कुनै निर्णय भइसकेको छैन । यसका साथै सबै राज्यमा रहेका वाणिज्यदूत सम्मिलित एक समिति बनाएर समाधानका लागि पहल गर्ने काम गरिरहेको दूतावासको भनाइ छ ।

Published on: 11 March 2022 | Kantipur

Link

Back to list

;