s

अष्ट्रेलियामा फेसबुकभरी हुन्डी प्रचार होडबाजी

हेमन्त काफ्ले

अस्ट्रेलियामा हुण्डीको नाममा फेसबुकबाट प्रचार गर्न होडबाजीनै चलेको छ।

‘मौका गुमाउनुहोला है!!’ या ‘आजको सर्वाधिक राशी हाम्रो ठाँउमा’ अथवा ‘हामी बिना शुल्क पठाउँछौ’ यात ‘तपाईँको दाम हाम्रो सही ठेगानामा पुर्‍याउने काम’ जस्ता लोकप्रिय नारा यतिखेर अस्ट्रेलियामा फेसबुक खुल्ने बित्तिकै हेर्न पाइन्छ।
 
मुलुकमा हुण्डिमाथि प्रतिबन्ध लागे पनि अस्ट्रेलियामा हुण्डी खुलेआम चलिरहेको छ। साच्चिकै हुण्डीका ठूला कारोबारीभन्दा स-सना पटकेले ग्राहक आकर्षित गर्न फेसबुकमा यस्ता विज्ञापनका होडबाजी राख्ने गरेका छन्।
 
जसले दसौं वर्षदेखि हुण्डी व्यसाय चलाएर बसेका छन् उनीहरूका लागि यस्ता सामाग्री आवश्यक हुँदैन। किनभने, उनीहरूसँग भएका प्रसस्तै जनसम्पर्क र अन्तर्राष्ट्रिय नेटवर्कले प्रचारको जरूरी हुँदैन।
 
उनीहरू हुण्डीको आफ्नो आवरण छोप्न अन्य कुनै सभ्य ब्यापार अगाडि सार्ने गर्छन्। तर, स-सना हुण्डीका नयाँ व्यवसायी ग्राहक आकर्षित गर्न यस्ता लोकप्रिय ‘अफर’ प्रचारमा लागेका छन्। अन्तर्राष्ट्रिय मनी ट्रान्सफर कानुनी भएकाले यहाँ हुण्डी निर्वाध रूपमा दर्ता गरेरै चलेका छन्।
 
अस्ट्रेलियन सरकारले गर्ने सरर्सती अनुगमनले यसलाई कानुनी मान्यता दिए पनि यिनीहरूले नेपाल पठाउने भनेर लिएको रकम हङकङ र ग्वान्जाओ पठाउने कार्य मनी लन्डरिङको दायरामा पर्नसक्छ।
 
हरेक महिना फरक कम्पनी, फरक एकाउन्ट र फरक नाममा खोलिने यस्ता धन्दामा ग्राहकको परिचयपत्र समेत उपयोग गरिएको देखिन्छ। जुन कुरा कहि कतै सानो गल्तीमा पनि ठूलो सजायको भागिदार बन्न सक्छ।
 
नेपालमा हुण्डी निर्वाध चलिरहेको छ। राज्यले प्रतिबन्ध लगाए पनि प्रहरी, प्रशासन र केही कालाबजारीको मिलेमतोमा नेपालमा खुलेआम हुण्डी चलिरहेको छ।
 
अस्ट्रेलियाबाट मात्र हरेक दिन लगभग पन्ध्र करोड रूपैया हुण्डीमार्फत नेपाल पुग्ने गर्छ। यस्तै नेपालबाट पनि अस्ट्रेलिया आउने पैसामा ह्वात्तै वृद्धि भएको छ।
 
पीआर र नागरिकता लिइसकेका नेपालीले यहाँ घरजम गर्न नेपालको आफ्नो पुर्खौली सम्पत्ति बेचबिखन गरेर रकम ल्याउने गरेको देखिएको छ। त्यती मात्र होइन हुण्डीवालालाई यसले दोहोरो फाइदा दिलाएको छ।
 
यहाँ डलर लिने हङकङ पठाउने कमसिन खाने अनि नेपालमा पैसा लिने कमिसन खाने उतै बाढ्ने। यसमा राज्य बेखबर जस्तै छ।
 
अस्ट्रेलियाको हुण्डीमा पनि एक दर्जन नेपाली मुलका ब्यवसायी स्थापित छन्। यिनीहरूले करिब एक दशकदेखि हुण्डीको कारोबार गर्दै आएका छन्।निर्वाध रूपमा हुण्डी कारोबार गर्नेलाई नेपालको कानुनी दायरामा बाँध्न सकिने खाले ब्यवस्थापनको खाँचो देखिएको छ।
 
रेमिन्ट्यान्सले चलेको मुलुकमा करिब साठी प्रतिशत मात्र रकम राज्यको कानुनी निकायबाट स्वदेश भित्रिने गर्छ। बाँकी चालिस प्रतिशत हुण्डीबाट भित्रिने गरेको छ।
 
राज्यले संसारका बिभिन्न देशबाट सहजै रकम भित्र्याउन सक्ने ब्यवस्था नगर्दा र राज्यबाट पैसा बाहिर लग्न नपाउने ब्यवस्थाले पनि हुण्डीवालालाई पैसो कमाउन सहज बनेको छ।
 
 बैंकमा हुण्डी
 
यसअघि नगदमा बढी कारोबार हुने हुण्डी यतिखेर काठमाडौं र देशका विभिन्न भागमा भएका बैंकमार्फत चलिरहेको छ। अहिले हुण्डीमा नगद लिने ब्यवस्था छैन। तपाईँले पठाएको पैसा कसको खातामा जाने हो त्यसको नाम र खाता अनि बैंक भएपछि मात्र पैसा नेपाल पुग्ने गर्छ।
 
यसरी बैंक मार्फत चलिरहेको हुण्डीलाई राज्यले अनुगमन नगर्दा यस्तो व्यवसाय खुलेआम चलिरहेको छ।बैंकबाट दिनमा सयौं खातामा पैसा पठाउने ब्यक्तिको सूची खोजे हुण्डिवाला एकै दिनमा पक्राउ पर्न सक्छन् तर, नेपालका विभिन्न ठाउँमा भएङ्को सेटिङले उनीहरूलाई फाइदा पुगेको छ।
 
हुण्डीमा पनि फरक फरक निकायले काम गर्छन्। अस्ट्रेलियामा पैसा उठाउने एउटा, त्यसलाई हङकङ पठाउने अर्को, नेपालमा पैसा दिने अर्को र खातावाल फरक-फरक।
 
‘यो पेशा नै त्यस्तो हो कुनै पनि बेला जे पनि हुन सक्छ, एक हुण्डीवाल नाम  नबताउने शर्तमा सेतोपाटीसँग भन्छन,‘हामी रीश्कमा काम गरिरहेका छौं कि, कमायौं कि सबै गुमायौं।’
 
सानाका लागि डर भए पनि ठूलाका लागि भने यो कमाउने भर भएको छ। ‘यसमा सहज छ ,यताको हङकङ पठायौं, नेपालमा लियो, उताको उतै बाड्यो, दोहोरो कमिसन,’ अर्का व्यवसायीले भने।
 
अहिले अस्ट्रेलिया र अमेरिकामा छोरा/छोरी नपठाउने सायदै भेटिन्छन्। यस्तोमा नेपालमा कमाएको ‘कालो धन’ लाई सुरक्षित पार्ने एउटा माध्यम हुन्डी बनेको अष्ट्रेलियाका एक कानुन व्यवसायीले बताए।
 
‘प्रहरीका सुडान घोटाला काण्डदेखि भन्सारका संसार मानिने डनहरूले पनि यतै लगानी गर्न थालेका छन्,’ ती व्यवसायीले भने, ‘हुण्डीमार्फत पैसा पठाउने र छोरी छोरीका नाममा घर र ब्यवसाय किनेर आफ्नो भविष्य सुरक्षित पार्ने काममा पनि हुण्डीले साथ दिएको छ।’
 
नेपालबाट हुण्डीमार्फत पठाएको पैसा बैंकमार्फत नेपाल फर्काएर छोरा छोरीले कमाएको भन्दै सेतो बनाउने खेल पनि चलेको भुक्तभोगीले बताएका छन्।
 
Published on: 27 March 2018 | Setopati

Back to list

;