s

अष्ट्रेलियाको भिसामा किन हुँदैछ थप कडाई?

हेमन्त काफ्ले

कोरोनाकालपछि बाहिरी संसारका लागि खुलेको अस्ट्रेलियामा नेपाली विद्यार्थी उच्च अध्ययनका लागि ह्वात्तै अस्ट्रेलिया आएका थिए। तर त्यो क्रम अप्रिलको अन्तसम्म मात्र टिक्यो।

अप्रिलमा नेपाली विद्यार्थीको आवेदन र कागजातका विषयमा अध्ययन गर्न अस्ट्रेलियन हाइ कमिसन दिल्लीको टोली नेपाल आएपछि ‘ठप्प’ जस्तै भयो।

हुन पनि औंलामा गन्न सकिने केही बदमास एजेन्टले नक्कली कागजात पेश गरेको विषयलाई लिएर हंगामा भएपछि छानबिन टोली बनेको थियो। यसको परिणाम नेपाली विद्यार्थीको प्रवेशाज्ञामा निकै असर पर्‍यो।

यतिबेलासम्म दशौं हजार नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि आवेदन दिइसकेको हुन्थे। तर तीन वर्ष कर तिरेको आम्दानी प्रमाणित गर्नुपर्ने नयाँ नियमले नेपाली विद्यार्थीलाई समस्या पार्‍यो।

भिसा आवेदन दिएका विद्यार्थीले मुलुकको परिस्थितिजन्य अवस्थामा तीन वर्षको आम्दानी र कर देखाउनु आफैंमा कठिन थियो। यस्तो अवस्थामा केहीले आवेदननै फिर्ता लिए। धेरैको अस्वीकृत भयो।

अहिले करिब तीन महिना बितिसकेको छ। नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भेट कलेज मात्र होइन उच्च शिक्षा पनि कठोर बनेको अवस्था छ।

जुलाईदेखि सुरू भएको सेक्सन ५६ अर्थात अतिरिक्त कागजात माग्न सक्ने प्रावधानले पनि यतिबेला अस्ट्रेलिया फलामको चिउरा बन्न थालेको छ।

अस्ट्रेलिया एउटा गतिलो शैक्षिक गन्तब्य हो र रहिरहने पनि छ तर पछिल्ला केही महिनामा देखिएको प्रवेशाज्ञा सम्वन्धी कठोरताले केही हदसम्म व्यवसायी, परामर्शदाता र नेपाली विद्यार्थीलाई यसले पिरोलेको नेपाली मुलका शैक्षिक व्यवसायी तथा एनआरएनका अभियन्ता मन केसीले बताए।

चाहे त्यो कृषिमा होस् या सरसफाइ तथा अतिथि सत्कार व्यवसायमा नै किन नहोस्। अस्ट्रेलियामा कामदारको अभाव जताततै देखिएको छ।

‘विद्यार्थीले पाएको अधिकार सदुपयोग गर्दै धेरै उद्योग धन्धा चलिरहेको छ। यस्तो अवस्थामा इमान्दार र परिश्रमी गनिएको अनि पढाइमा पनि अब्बल नेपाली विद्यार्थीलाई प्रवेशाज्ञामा कडाइ गर्दा यसले दुबै देशलाई घाटा पुगेको महशुस गरेको छु’, केसीले भने।

उनले अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कडाई भएसँगै उनीहरू अन्य युरोपेली देश र अमेरिकातिर आकर्षित हुन थालेको उनले बताए।

‘अष्ट्रेलिया गाह्रो भएसँगै ठूलो संख्यामा विद्यार्थीहरू क्यानडा, अमेरिका, बेलायत र युरोपेली मुलुकतिर अध्ययनका लागि आकर्षित हुँदैछन्,’ उनले भने, ‘यसले अस्ट्रेलियालाई घाटा पुगेको छ। अर्को तिर यहाँका शैक्षिक उद्योग, व्यवसायी र परामर्शदातालाई पनि प्रभाव पारेको छ।

बढ्दो कीर्ते कागजातबारे उनले एउटा-दुईटाले गरेको गल्ती अन्य राम्रा विद्यार्थीलाई थोपर्न नहुने तर्क गर्छन्।

‘हुन त कमि कमजोरी सबै बर्ग क्षेत्रमा हुन्छन्, एउटाले गलत गर्‍यो भनेर सबैलाई दोष थुपार्ने प्रवृत्ति राम्रो होइन। यसका लागि सबै मिलेर राम्रो गर्ने प्रयास गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि सम्वन्धित निकायले उत्कृष्ट विद्यार्थीलाई समेत असर पार्ने काम गर्नुहुँदैन। सही र गलत छुट्याएर निर्णय प्रकृयामा अगाडि बढाउनुपर्ने अहिलेको मुख्य आवश्यकता हो।’

शिक्षा क्षेत्र अहिले ठूलो आर्थिक बजारका रूपमा रहेकाले यसको सीमा नरहेको अस्ट्रेलियाका शैक्षिक परामर्शदाताको संगठन एकाका पूर्व अध्यक्ष तथा ओसेनिया एजुकेशनका निर्देशक भुपाल सिटौला तर्क गर्छन्।

‘हिजो नेपाली विद्यार्थीको पहिलो रोजाइ थियो अस्ट्रेलिया। अहिले कठिन बन्दै गएर आउन पाएनन् भने अर्को देशमा पढ्न जान्छन्। तर यो विस्तारै सामान्य प्रकृयामा पुरानै लयमा अगाडि बढ्नेनैछ’, उनले भने।

नेपालको एउटा शैक्षिक परामर्शदाताको समूहले भेट कलेजको अध्ययनले नेपाली विद्यार्थीको शैक्षिकस्तर उकास्न नसक्ने भन्दै यसको विरोध गरेकाले यसप्रति केही नकारात्मक असर परेको थियो। तर एकाएक भेटसँगै उच्च शिक्षामा भिसा कडा पारिएपछि समस्या बढ्न थालेको शैक्षिक परामर्शदाता गौरव केसीले बताए।

‘विद्यार्थीहरूको एक नम्बरको रोजाइ थियो-अस्ट्रेलिया, तर अहिले धेरैको भिसा रिजेक्टपछि विद्यार्थीनै के गर्ने सर? अरू देश ट्राइ गर्ने कि भन्न थालिसकेका छन्,’ उनले भने, ‘हाम्रो काम प्रकृया अगाडि बढाइदिने हो, कुन देश जाने भन्ने विषय विद्यार्थी र अभिभावककै निर्णयमा भर पर्छ।’

यस्तै अवस्था केही महिना अरू लम्बिने हो भने अस्ट्रेलियामा खुलेका र नेपाली मुलका विद्यार्थीले भरिएका धेरैखाले कलेजलाई असर पार्नेछ। साथै शैक्षिक परामर्शदाता तथा योसँग जोडिएका पेशामा पनि यसले असर गर्ने निश्चित छ।

Published on: 20 October 2022 | Setopati

Link

Back to list

;