s

अस्ट्रेलियाको मेलवर्नमा एक सय ६० नेपालीमा कोरोना संक्रमण

अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलवर्न शहरमा करिब एक सय ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले जनाएको छ।

‘अगष्ट २ तारिखसम्म एक सय ४८ जना नेपालीमा संक्रमण भएको हामीलाई जानकारी आएको थियो, त्यसपछिका दिनमा हालसम्म १२ जनामा यसको सक्रमण फैलिएको हामीले पाएका छौँ,’ एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरियाका संयोजक प्रेम कडेंलले भने।

हाल छुट्टै टास्क फोर्स बनाएर सहयोगको लागि हात बढाइरहेको उनले बताए। जसमा खाद्यान्नदेखि लिएर औषधि उपचारसम्मका विषयवस्तु रहेको कडेंलले बताए । ‘गुगल फर्म बनाएर बिरामीलाई कस्तो सहयोगको आवश्यकता छ, त्यसको जानकरी माग्ने काम भएको छ’, उनले भने ‘अझसम्म एक सय पचास जनाले सहयोगको लागि एनआरएनमा सम्पर्क गरिसक्नुभएको छ।’

कोरोनाको दोस्रो वेभवाट प्रभावित अस्ट्रेलियाको भिक्टोरिया राज्यमा करिब पन्ध्र हजार नेपाली बसोबास गर्दै आएका छन्। जसमा ६ हजार भन्दा बढी नेपाली विध्यार्थी रहेको अनुमान गरिन्छ। राज्यमा संक्रमित संख्या दिनहुँ पाँच सय भन्दा बढी हुन थालेपछि स्थानीय सरकारले आपतकाल घोषणासँगै कर्फ्यू आदेश जारी गरेको छ।

गत आइतबारदेखि प्रारम्भ भएको आपतकाल अवस्थामा मेलबर्नको शहरी इलाकामा रातिको समयमा कर्फ्यू समेत लागू गरिएको छ।

बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म बिना काम कोही पनि बाहिर निस्कन पाइनेछैन।

अत्यन्तै महत्वका बिषय र कामको सवालमा मात्र अनुमति हेरेर मानिसलाई आवत जावतको सुविधा दिइनेछ। किनमेल र आवश्यक सर सामानका लागि पनि एक व्यक्तिलाई बासस्थानको पाँच किलोमिटरको दुरीमा एक पटक मात्र अनुमति दिइने सरकारले जनाएको छ।

राज्यभित्र सञ्चालनमा आउने सबैखाले मनोरञ्जनात्मक गतिविधिहरू हालका लागि निषेध गरिएको छ। खुला स्थानमा व्यायाम दिनमा एक घन्टामात्र गर्न पाइने छ, यी प्रतिबन्धहरू आगामी ६ हप्ताका लागि लागू हुनेछन्। 

भिक्टोरिया राज्य भित्र मात्र हालसम्म लगभग १५ हजार कोरोना सङ्क्रमित भेटिएका छन्, जसमध्ये १ सय ३१ जनाले ज्यान गुमाइसकेको अवस्था छ।

भिक्टोरियाको मेलवर्न शहर वरपर बसोबास गर्दै आएका कम्तिमा एक सय ६० नेपालीलाई पनि कोरोना संक्रमण देखिएपछि नेपाली समाजमा पनि यसको त्रासदी बढेको छ। ‘सबैभन्दा बढी नर्सिङ होम, ब्यापारिक केन्द्र र भीडभाड क्षेत्रमा काम गर्ने नेपालीहरुमा यसको प्रभाव देखिएको छ,’ एनआरएन भिक्टोरियाका संयोजक प्रेम कडेंलले सुनाए।

कोरोना संक्रमित नेपालीमध्ये कयैन होटलमा र अन्य घरमा क्वारेन्टिनमा छन्।

Published on: 7 August 2020 | Setopati

Link

Back to list

;