s

अस्ट्रेलियाको मेलवर्नमा आपतकाल घोषणा, कम्तिमा ३० नेपाली संक्रमित

कोरोनाको दोस्रो वेभसँग जुधिरहेको अस्ट्रेलियाको मेलवर्न शहरमा आपतकालीन अवस्था घोषणा गर्दै कर्फ्यु आदेश जारी भएको छ। 

एकै दिन ६ सय भन्दा माथिको संख्यामा पोजेटिभ देखिएपछि स्थानीय सरकारले यस्तो निर्णय गरेको हो। 

आइतबार साँझदेखि प्रारम्भ भएको आपतकालीन अवस्थामा मेलबर्नको शहरी इलाकामा रातिको समयमा कर्फ्यू समेत लागू हुने भिक्टोरिया राज्यका सरकार प्रमुख प्रिमियर डेनियल एन्ड्रयुले बताए। 

बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म बिना काम कोही पनि बाहिर निस्कन पाइनेछैन । अत्यन्तै महत्वका विषय र कामको सवालमा मात्र अनुमति हेरेर स्थानीयलाई आवत–जावतको सुविधा दिइनेछ। 

 

किनमेल र आवश्यक सर-सामान खरिदका लागि पनि बासस्थानको पाँच किलोमिटर दुरीसम्म मात्र अनुमति दिइने सरकारले जनाएको छ। 

राज्य सरकारले राज्यभित्र सञ्चालनमा आउने सबैखाले मनोरञ्जनात्मक गतिविधिहरू हालका लागि निषेध गरेको छ। खुला स्थानमा दिनमा एक घन्टा मात्र व्यायाम गर्न पाइने छ। यी प्रतिबन्धहरू आगामी ६ हप्ताका लागि लागू हुने सरकारले जनाएको छ। 

भिक्टोरिया राज्यभित्र मात्र हालसम्म लगभग १२ हजार सङ्क्रमित भेटिएका छन् जसमध्ये १ सय २३ जनाले ज्यान गुमाइसकेको अवस्था छ। 

भिक्टोरियाको मेलवर्न शहर वरपर बसोबास गर्दै आएका कम्तीमा ३० नेपालीलाई पनि कोरोना संक्रमण देखिएको एनआरएन भिक्टोरियाका संयोजक प्रेम कडेंलले बताए। 

‘ठ्याक्कै संख्या एकीन गर्न नसके पनि एनआरएनको सम्पर्कमा आएका विध्यार्थी भाइ बहिनीहरु र स्थानीय गरी ३० जना भन्दा बढीमा संक्रमण भएको हामीले जानकारी पाएका छौँ’ उनले भने।

उनीहरुमध्ये दश जना होटलमा र अन्य घरकै क्वारेन्टाइनमा रहेका छन्। कडेंलले सबै संक्रमित नेपालीको स्वास्थ अवस्था राम्रो रहेको र उहाँहरुलाई आवश्यक सहयोगका लागि एनआरएन भिक्टोरिया लागिपरेको बताए। 

यसैबीच दोस्रो वेभसँग जुधिरहेको अस्ट्रेलियाको एनएसडब्लु राज्य सिड्नीमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि राज्य सरकारले नागरिकहरुलाई सुरक्षाका लागि मास्क लगाउन आग्रह गरेको छ।

हाल सिड्नी वरपरको क्षेत्रमा दिनहुं १५ देखि २० जनाको बीचमा कोरोना संक्रमण देखिएको छ।

Published on: 2 August 2020 | Setopati

Link

Back to list

;