s

अस्ट्रेलियाको मन्त्रीस्तरीय समितिमा नेपाली

नारायण खड्का

अस्ट्रेलियाको केन्द्र सरकारको मन्त्रीस्तरीय सुझाव समितिमा यहाँका एक नेपालीले प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित नेपाली टाइम्स मासिक पत्रिकाका प्रकाशक तथा स्थानीय व्यवसायी महेन्द्र लम्साललाई नेपाली प्रतिनिधिका रूपमा छनोट गरिएको अस्ट्रेलियाली सरकारका एक मन्त्रीले जानकारी दिए ।

अस्ट्रेलियाली सरकारले यहाँका स्थानीय समुदायसँग उनीहरूका समस्या, त्यसका समाधानका उपायलगायत सुझाव लिन 'मिनिस्टेरियल कन्सल्टेटिभ कमिटी' गठन गरेको छ । कमिटीमा अस्ट्रेलियाका प्रधानमन्त्री, आप्रवास तथा नागरिकता मन्त्री, बहुसांस्कृतिक मन्त्रीलगायत अन्य उच्च तहका व्यक्तित्वहरू सहभागी हुनेछन् । छनोटमा परेका अन्य देशका प्रतिनिधिहरूसमेत कमिटीमा रहनेछन् । जसको पहिलो बैठक यही सेप्टेम्बरको १० मा बस्दैछ ।

पहिलो पटक गठन गरिएको यो कमिटीले स्थानीय समुदायहरूका समस्या सुन्ने र त्यसको समाधानको पहल गर्ने बताइएको छ । कमिटीका सदस्यहरूले दिएको सुझावलाई प्रधानमन्त्रीसम्म पुर्‍याएर त्यसको उचित सम्बोधन गरिने सरकारले जनाएको छ । दुई वर्षका लागि गठन गरिएको सो समितिमा लम्सालले अस्ट्रेलियामा रहेका अनुमानित ५० हजार नेपालीको प्रतिनिधित्व गरेका हुन् ।

एनआरएनको सातौं सम्मेलनमा सहभागी हुन आएका आप्रवास तथा नागरिकता मन्त्री क्रिस बाउनले यससम्बन्धी जानकारी दिएका हुन् । उनले भने, 'तपाईंहरूले पनि अब आफ्नो प्रतिनिधि सरकारमा पाउनुभएको छ, केही भन्नु छ भने लम्सालजीलाई भने हुन्छ ।' बहुसांस्कृतिक मुलुक अस्ट्रेलियामा सबै संस्कार र संस्कृतिका व्यक्तिहरूलाई समेत सहभागिताको महसुस दिन कमिटी बनाइएको उनले बताए ।

कमिटीमा परेपछि लम्सालले आफूले ठूलो जिम्मेवारी पाएको बताए । 'यो मेरो मात्र नभएर सबै अस्ट्रेलियामा रहेका नेपालीहरूको छनोट हो, उनले ईकान्तिपुरसँग भने,  'मैले आफ्नोतर्फबाट हाम्रो समुदायलाई गर्न सक्ने पहल सबै गर्नेछु ।'

Published on: September 2012 | Kantipur

Back to list

;