s

अस्ट्रेलियाका नेपाली विद्यार्थीको गुनासो : कलेजले फी मागेर हैरान बनायो

अमृत सुवेदी

 

१ वैशाख, पोखरा । न काम छ न कलेज । पलपल नेपाल र गाउँघरको याद आउँछ तर कोठामै बस्नुको विकल्प छैन । न नेपाल फर्किन सक्ने अवस्था छ न अब अस्ट्रेलियामै भविष्य के हुने हो भन्ने सुनिश्चित छ । अध्ययनका लागि अस्ट्रेलिया पुगेका थुप्रै विद्यार्थीका लागि अहिले अर्को तनाब थपिएको छ । 

अस्ट्रेलिया सरकारले लकडाउन गरेर घरमै बसेका विद्यार्थीसँग कलेजले शुल्क माग्दै इमेल पठाउन थालेपछि धेरै विद्यार्थीमा अहिले तनाब बढेको हो । अध्ययनका लागि पुगे पनि अस्ट्रेलिया पुगेका अधिकांश विद्यार्थीले काम गर्दै कलेजको फी तिर्छन् । 

यतिबेला लकडाउनका कारण काम गर्ने अवस्था छैन तर कलेजले फी माग्दै इमेल गर्न थालेपछि तनावमा परेको विद्यार्थीको हकहितका आवाज उठाउँदै आएका सन्तोष आचार्यले बताए । 

‘हस्पिटल, नर्सिङको क्षेत्रका विद्यार्थीको काम चलिरहेको छ । रेस्टुरेन्ट, होटल तथा अन्य व्यवसायका क्षेत्रमा काम गर्नेहरु यतिबेला कोठामै छन्,’ आचार्यले अनलाइनखबरसँग भने, ‘कामविहीन भएर घरमै बसेका नेपाली विद्यार्थीसँग कलेजले फी माग्दै इमेल गर्न थालेपछि उनीहरु चिन्तित छन् ।’ 

अस्ट्रेलिया जाने धेरैजसो विद्यार्थी नेपालीले नै सञ्चालन गरिरहेको कलेजमा अध्ययन गर्छन् । अहिले ती नेपालीले सञ्चालन गरिरहेको कलेजले फी तिर्न ताकेता गर्दै इमेल गरिरहेका छन् । अस्ट्रेलियामा ब्यापार गरिरहेका, एनआरएन तथा सामाजिक संघसंस्था सञ्चालन गर्ने व्यक्तिहरुले चलाइरहेको कलेजले यतिबेला फी तिर्न ताकेता गर्दै इमेल गरिरहेको विद्यार्थीहरुले अनलाइनखबरसँग गुनासो गरे । 

अस्ट्रेलिया सरकारले अध्ययनका लागि गएको एक वर्ष कटेका विद्यार्थीले सुपर इनिभेसन ट्याक्सबाट पैसा निकालेर चलाउन सक्ने भनेको छ । कामको प्रकृति र पारिश्रमिक हेरेर फूल टाइम काम गर्नेको पनि एक वर्षमा बढीमा ४/५ हजार डलरभन्दा नहुने विद्यार्थीको भनाइ छ । 

‘अझै कति लकडाउन हुने हो भन्ने पत्तो छैन । सुपर इनिभेसनको पैसाले ग्रोसरी र रेन्ट तिर्दा नै सकिन्छ । यस्तो अवस्थामा कलेजले फी मागेपछि धेरै विद्यार्थी समस्या परेका छन्,’ काठमाडौं चन्द्रागिरिकी भूमि 

का लामाले भनिन्, ‘यहाँ त्यस्ता धेरै विद्यार्थीहरु छन्, जसले अहिले नै सेमेस्टर फी तिर्नुपर्ने छ । कम्तिमा शुल्कका विषयमा सोचिदिए हुन्थ्यो । तर, कलेजहरुले शुल्क मागिरहेका छन् । थुप्रै साथीहरु अहिले त्रसित छन् ।’ 

भूमिका अध्ययनका लागि अस्ट्रेलिया पुगेको २ वर्ष नाघ्यो । उनी र उनका साथीहरुले काम छोडेर बसेको पाँचौ हप्ता पुग्योे । ‘केही वर्षअघि नै अस्ट्रेलिया अध्ययनमा लागि आउने मजस्तै साथीलाई तत्काललाई समस्या छैन । तर, लकडाउन लम्बिँदै गयो र कलेजले बिना काम बसेका विद्यार्थीसँग पनि फी लिन थाल्यो भने चाहिँ गाह्रो छ,’ भूमिकाले भनिन् । 

लकडाउनले कामविहीन भएर बसेका कारण तत्काल फी तिर्न नसक्ने ब्यहोरासहित कलेजलाई इमेल गर्दा कलेजले फेल नगराउने तर फी तिर्नुपर्ने बताइरहेको त्यहाँका विद्यार्थीको गुनासो छ । 

‘कलेजले फीको लागि इमेल गर्छ । तत्काल कलेज फी बुझाउन नसक्ने बताउँदा सबै थाहा छ, पास गराइदिन्छौं तर शुल्क चाहियो भनेर मेल आएपछि धेरै विद्यार्थी समस्यामा छौं,’ नाम बताउन नचाहने एक विद्यार्थीले अनलाइनखबरसँग भने । 

अस्ट्रेलियामा अहिले ५० हजारको हाराहारीमा विद्यार्थी अध्ययन गर्ने बताइएको छ । तीमध्ये जुन, जुलाइमा कोर्ष चेन्च गर्नेपर्ने अवस्थाका करिब २५ हजारभन्दा धेरै विद्यार्थी रहेको सन्तोष आचार्यले जानकारी दिए । ‘पढिरहेका धेरै विद्यार्थीले अहिले फी तिर्न सक्दैनन् । फी तिर्न नसक्दा अर्को समेस्टरमा जानका लागि कलेजले अनुमति दिँदैन । यसले पढाइमै समस्या पार्ने देखियो,’ आचार्यले भने, ‘कतिपय भिसा चेन्ज गर्नुपर्ने अवस्थामा छन् । त्यस्तो अवस्थामा विद्यार्थी नै इलिगल हुने अवस्था आउन सक्छ ।’ 

कलेजको फी तिर्न नसक्ने र अस्ट्रेलियाको सरकारले घर जाऊ भने पनि फर्कन नसक्ने अवस्था रहेको इटहरीका विशाल खड्काले बताए । ‘साहुले काममा नआइज भन्यो । यस्तै अवस्था रहे घरको रेन्ट बुझाउन र खाद्यान्न जुटाउन नसक्ने अवस्था आयो,’ खड्काले भने, ‘काम छैन, नेपालमा घरमा कुरा भिडियो कल ग¥यो, बस्यो । भविष्य के हुने हो भन्ने अहिले नै भन्न सक्ने अवस्था रहेन ।’ 

अस्ट्रेलिया गएको एक वर्ष पनि नपुगेको विद्यार्थीले चाहिँ नेपालबाटै पढ्न जाँदा एक वर्षका लागि कलेज फी, खाने, बस्ने सम्झौतासहित पुग्छन् । उनीहरुलाई कलेजसँगको सम्झौताअनुसार बस्न अस्ट्रेलिया सरकारले आग्रह गरेको छ । तर, अस्ट्रेलिया पुगेको महिना दिनमै लकडाउन भएपछि साथीको दाइको शरण लिएर बस्नुपरेको चितवनका शैलेन्द्रले गुनासो गरे । 

नेपाली संघसंस्थाहरुले चामल दाल बाँडिरहेको खानकस्नकै समस्या भने नहुने सन्तोषले बताए । ‘नेपाली संघ/संस्थाले अप्ठेरोमा परेका विद्यार्थीलाई राहतदेखि समस्या समाधानका निम्ति पहल गरिरहेका छन्,’ उनले भने । भिजिट भिसामा अस्ट्रेलिया पुगेर फर्किन नपाएका, कामबाट छुटिसकेर नेपाल नेपाल फर्किन नपाएकाहरु पनि समस्यामा रहेको उनले बताए ।

Published on: 13 April 2020 | Onlinekhabar

Link

Back to list

;