s

अस्ट्रेलियाका नेपाली विद्यार्थी- ‘न रोजगारी छ, न हारगुहार गर्न पाइएको छ’

नारायण खड्का 

अस्ट्रेलिया — चितवनबाट अध्ययनका लागि एक महिनाअघि सिड्नी आएका मनीष श्रेष्ठले अहिले घरबाट बाहिर निस्किन पाएका छैनन् । साथीभाइको सहयोगले जेनतेन खाना खाइरहेका उनी आउने दिनमा के गर्ने भन्ने चिन्तामा छन् । 

अध्ययनकै लागि डेढ महिनाअघि आएकी रश्मिला आचार्य सेल्फ आइसोलेसन बसेकी छन् । गैरआवासीय संघ (एनआरएनए) ले उपलब्ध गराएको सहयोगले खाना जोहो गरेको भए पनि उनी अब के गर्ने अन्योलमा छिन् ।

सरकारी तथ्यांकअनुसार अस्ट्रेलियामा करिब ५४ हजार नेपाली अध्ययनरत छन् । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि अस्ट्रेलियाले स्वास्थ्य क्षेत्र, सुपरमार्केट बाहेकका प्राय: सबै व्यवसाय बन्द र रेस्टुरेन्टलाई ‘टेक अवे’ मा सीमित गरेपछि हजारौं विद्यार्थीले रोजगारी गुमाइसकेका छन् । सरकारले आफ्नो परिवार बाहेकका दुई जनाभन्दा बढी भेला हुन नपाउने भनेपछि न उनीहरूले जागिर खोज्न पाएका छन् न आफ्ना साथीभाइलाई हारगुहार गर्न नै । केही वर्षदेखि यहीँ रहेका विद्यार्थीलाई तत्कालका लागि केही सहज भए पनि भर्खरै आएका विद्यार्थी अहिले आर्थिक र मानसिक दुवै समस्यामा छन् । यता छिरिसकेपछि काम गरेर शुल्क तिर्ने र आफ्नो जीवन चलाउने सोचेर आएका मध्यमवर्गीय नेपाली विद्यार्थीको समस्या अझ चुलिने देखिएको छ । 

अस्ट्रेलियाको केन्द्रीय र राज्य सरकारले नागरिक तथा स्थायी बासिन्दाका लागि विभिन्न आर्थिक सुविधासहितका योजना ल्याएको छ । तर विद्यार्थीकेन्द्रित उल्लेख्य योजना सार्वजनिक नगरेकाले उनीहरूको अध्ययन शुल्क, घरभाडा कसरी तिर्ने समस्या टड्कारो बनेको छ । अनिश्चितकालसम्म लगाइएको यो कडा नियमका बावजुद खानपिन कसरी जुटाउने भन्ने चिन्ताले विद्यार्थी पिरोलिएका छन् । केही राज्यका विश्वविद्यालय तथा शैक्षिक निकायले राहतका योजना ल्याएका भए पनि त्यसको पहुँच पाउन गाह्रो भएको विद्यार्थीहरू बताउँछन् । 

‘विद्यार्थी पहिलो वर्षको सबै खर्च आफैं बेहोर्न सक्छु भनेर मात्र आउन पाउने भएकाले उनीहरूभन्दा हाम्रा नागरिक र स्थायी बासिन्दा प्राथमिकतामा छन्,’ प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, ‘विद्यार्थीलाई आफू अत्यन्तै समस्यामा छु भन्ने लाग्छ भने उनीहरू आफ्नो देश फिर्ता जान सक्छन् ।’

मरिसनले अध्ययनका लागि आएको एक वर्षभन्दा बढी भइसकेका विदेशी विद्यार्थीलाई भने कसरी सहयोग गर्न सकिन्छ भनेर सरकारले सोचिरहेको बताएका थिए । 

यहाँस्थित दूतावास, अवैतनिक वाणिज्य दूतावास, एनआरएनए लगायतका संस्थाले विद्यार्थीको समस्या हल गर्न पहल गरिरहेको बताए पनि विद्यार्थीले त्यसको खासै आभास पाएका छैनन् । एनआरएनएले सेल्फ आइसोलेसनमा बस्नुपरेका र अत्यन्तै समस्यामा परेका विद्यार्थीलाई आवेदनका आधारमा दुई साताका लागि चामल, दाल, तरकारी, नुन लगायतका अत्यावश्यक सामाग्री पुर्‍याउने प्रयास गरिरहेको छ । तर विद्यार्थीलाई कहिलेसम्म यसरी दाल, चामल उपलब्ध गराउन सकिन्छ भन्नेमा एनआरएनए आफैं अन्योलमा छ । 

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले विद्यार्थीलाई अत्यावश्यक सहयोग पुर्‍याउन कुनै ‘प्राविधिक’ समस्या परे दूतावासले कूटनीतिक तहबाटै पहल गर्नुपर्ने बताए । ‘विद्यार्थीको अध्ययन शुल्क, उनीहरू बस्ने घरभाडा लगायतका विविध आर्थिक पक्षसँग जोडिएका विषयमा कूटनीतिक र उच्चस्तरीय पहल चाहिन्छ,’ उनले भने । 

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले विद्यार्थीको समस्या गहन बन्दै गएकोबारे आफूहरू जानकार बताए । दूतावासले यहाँस्थित विदेश विभाग, शिक्षा र गृह मन्त्रालय लगायतका निकायमा ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए । ‘हामीले सरकारी तवरबाट आर्थिक लगायतका सुविधा दिने अवस्था नभए पनि आफुले गर्न सक्ने पहल गरिरहेका छौं,’ उनले भने, ‘नेपाली अध्ययनरत शैक्षिक संस्थासँग समेत विद्यार्थीको शुल्क कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल गर्छौं ।’ 

अहिलेसम्म एनआरएनएमा सात सय ३० विद्यार्थीले राहतका लागि निवेदन दिएका छन् । नेपाल सरकारले विदेशमा भएका आफन्तलाई सहयोग रकम पठाउन सकिने बताए पनि अहिलको अवस्थामा अभिभावकलाई नै पैसा पठाउन समस्या छ ।

Published on: 3 April 2020 | Kantipur

 

Link

Back to list

;