s

अष्ट्रेलियास्थित नेपाली दूतावासले भन्योः यात्रा गर्नु सुरक्षित छैन जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस्

मुकुन्द गैरे

काठमाडौं, बैशाख १७ गते । अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले अष्ट्रेलियामा रहेका नेपालीलाई धैर्य धारणा गरी आफू बसेको स्थानमा सुरक्षित रुपमा बस्न आग्रह गरेको छ ।

दूतावासले बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै यात्रा गर्नु सुरक्षित नहुने बताएको हो ।

आगामी मे महिनाको पहिलो साता नेपालमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक एवम् स्थायी बासिन्दाहरूलाई लिएर नेपाल एअरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी आउन लागेको दूतावासले जानकारी दिएको छ ।

उक्त जहाजमा यहाँ रहेका र नेपाल जानैपर्ने अवस्था भएका नेपालीहरूलाई फर्काउनुपर्ने माग अनलाइन पत्रपत्रिका, सामाजिक सञ्जाल, टेलिफोन तथा इमेलबाट प्राप्त भइरहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

नेपाली नागरिकहरूबाट प्राप्त यस्ता अनुरोधहरूलाई राजदूतावासले अत्यन्त गम्भीरताका साथ ग्रहण गरेको जानकारी दिर्दै प्राप्त अनुरोधलाई नेपाल सरकारसम्म र्पुयाउने काम गरिरहेको दूतावासले बताएको छ ।

स्वदेश फर्किने नेपाली नागरिकलाई व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवम् स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिकहरूको परिवार एवम् समुदायको स्वास्थ्य जोखिम रहेको छ ।

हालको अवस्थामा यात्रा गर्नु त्यति सुरक्षित नहुने जस्ता विषयलाई मनन गर्दै केही समयको लागि धैर्य धारण गरी हाल बसिरहेको स्थानमा बस्नु सुरक्षित हुने दूतावासको ठहर छ ।

अष्ट्रेलिया, नेपाल लगायत सारा विश्व नै हाल अकल्पनीय महामारीको रूपमा फैलिएको कोरोना भाइरससँग जुधिरहेको छ ।

जनजीवन नराम्ररी प्रभावित हुनुका साथै धेरै विषयमा सम्झौता गर्नुपरेको दूतावासले भनाई छ ।

नेपाल सरकारले पनि आफ्ना नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राखी कोभिड(१९) नियन्त्रणका लागि अन्तराष्ट्रिय यात्रु आगमनमा रोकलगायतका विभिन्न उपायहरू अपनाइरहेको छ ।

नेपाल सरकार संसारभर छरिएर रहेका आफ्ना नागरिकहरूको सुरक्षा र बसोबासप्रति पनि अत्यन्तै संवेदनशील रहेको दूतावासको भनाई छ ।

साथै, यस परिस्थितिका कारण कसैलाई खान, बस्नलगायतका अन्य केही समस्या भएमा तत्काल यस राजदूतावासमा र भिसासम्बन्धी जिज्ञासा वा समस्या भएमा अष्ट्रेलियन इमिग्रेसनमा सम्पर्क राख्न सकिने दूतावासले जानकारी दिएको छ ।

Published on: 29 April 2020 | Gorkhapatra

Link

Back to list

;