s

‘अष्ट्रेलिया लक डाउन’ले विद्यार्थी बेरोजगार

कोरोना भाइरसका कारण अष्ट्रेलिया लक डाउन भएपछि यसको प्रत्यक्ष प्रभाव बाहिरका विद्यार्थीमा पर्ने भएको छ।

करिब ६० हजार नेपाली विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन्। सरकारले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरुलाई बन्द गर्ने निर्णय गरेपछि देशभरका पब, क्लब, खेलकूद, धार्मिक केन्द्र, सिनेमाघर, मनोरन्जनस्थल र रेस्टुरेन्टहरु बन्द छन्। त्यहाँ काम गर्ने नेपालीसहित हजारौं विद्यार्थी बेरोजगार भएका छन्।

अहिले समग्र मुलुक लक डाउन हुँदा बेरोजगारीको समस्याले नेपाली विद्यार्थीलाई पनि नराम्ररी गाजेको छ। महँगो घरभाडा, खाद्यान्न अभाव र रोगको त्रासले विद्यार्थीमा आर्थिकदेखि मानसिक समस्या देखिन थालेका छन्।

‘हामीकहा थुप्रै खाले गुनासा र समस्याहरु आउन थालेका छन, हामी त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर लागेका छौँ’ अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भने।

यहाँका नेपालीको समस्याका सम्वन्धमा एनआरएन, स्थानीय संघ संस्था र महावाणिज्यदूतसँग समन्वय गरेर अगाडि बढ्ने काम भइरहेको दाहालले बताए।

एनआरएनले नेपाली राजदूतावासको संरक्षकत्वमा कोरोना प्रभावितको समस्या समाधानका लागि आइतबार एउटा कमिटी गठन गर्ने निर्णय समेत गरेको छ। एनआरएन अष्ट्रेलियाले कोरोना प्रभावित विद्यार्थीलाई एक महिनाका लागि खाद्यान्न सामाग्री समेत सहयोग गर्ने घोषणा समेत गरिसकेको छ।

अष्ट्रेलियन सरकारले आफ्ना नागरिक र स्थायी बासिन्दालाई मध्यनजर गरेर विभिन्न आर्थिक सहयोगको प्याकेज घोषणा गरेको छ। तर यसले यहाँ पढ्न आउने विद्यार्थीलाई समेट्दैन।

ज्यालादारी ,व्यवसायी, सेवानिवृत्त भएका र काम नपाएका अनि भत्ता पाउनेहरुले राहत कोषबाट थप आर्थिक सहयोग पाउने छन्।

यस सहायता अन्तर्गत अभिभावक भत्ता, बेरोजगार भत्ता, युवा बेरोजगार भत्ता, कृषक भत्ता र अन्य विशेष भत्ता पाउनेहरुका लागि प्रत्येक दुई हप्तामा थप ५५० डलर प्रदान गरिने भएको छ।

यस्तै काम गुमाएको पुष्टि हुने दैनिक ज्यालादारी र एकल व्यवसायीलाई पनि सहायक भत्ता दिइने भएको छ। हाल बेरोजगार भत्ता पाउनेहरुले प्रत्येक दुई हप्तामा ११ सय डलरसम्म पाउन सक्ने छन्।

यसरी स्थानीय नागरिक र पिआरले प्राप्त गर्ने यस्ता सुविधाहरु अन्तर्राष्ट्र्रिय विद्यार्थीको हकमा लागू नहुनुले उनीहरुमा नैराश्यता छाएको छ। कर तिर्ने विषयमा सबै समान भएपछि आपतकालीन सुविधा प्राप्त हुनुपर्नेमा विद्यार्थीको जोड छ।

विद्यार्थीको समस्या र समाधानका लागि आवश्यक पहल गर्न महावाणिज्यदूतको आपतकालीन बैठक समेत बोलाइएको राजदूत दाहालले बताए। ‘अहिले हाम्रो पहिलो प्राथमिकता भनेको नेपालबाट उच्च अध्ययन गर्न आएका विद्यार्थी र उनीहरुको समस्या नै हो, दूतावास चौबीसै घन्टा चनाखो भएर बसेको छ’ दाहालले भने।

Published on: 23 March 2020 | Setopati

Link

Back to list

;