s

अस्ट्रेलिया र कोरिया पठाइदिने भन्दै दमकका पूर्वमेयरका छोराको ठगी धन्दा

झापा दमक– २ का प्रेमकुमार गुरागाईं वैदेशिक रोजगारीका क्रममा सात वर्ष दुबई बसे । नौजनाको संयुक्त परिवारको पालनपोषण गर्ने प्रेम मात्र भएपछि दुबईको कमाइले धान्नै धौ–धौ पर्‍यो । उनले ‘ठूलो देश’को सपना देखे । त्यही क्रममा गत वर्ष साउनमा एमाले केन्द्रीय सदस्य तथा दमकका पूर्वमेयर रोमनाथ ओलीका छोरा अनिल ओलीसँग भेट भयो । अनिलले अस्ट्रेलियामा आफन्त भएको र १५ लाख दिए पठाइदिने आश्वासन दिए ।

ओलीले तत्काल पाँच लाख दिनुपर्ने र बाँकी पैसा अस्ट्रेलिया पुगेपछि दिनुपर्ने सर्त राखे । राम्रो देश जान पाइने भएपछि गुरागाईंसहित पाँचजनाले पाँच लाख दिए । ‘साथी कृष्ण अधिकारीबाट अनिललाई चिनेँ । कृष्ण पनि जाने भनेपछि म पनि तयार भएँ । दुई लाख भएमा नागरिकता त बनाइदिन्छु, १५ लाख भएपछि तपाईंहरूलाई पठाइहाल्छु नि भन्यो,’ गुरागाईंले नयाँ पत्रिकासँग भने, ‘केपी ओलीको नाति पर्ने र पूर्वमेयर रोम ओलीको छोरा भएपछि हामीले पनि सहजै विश्वास गरेर सुरुमा पाँच लाख दियौँ ।’

अस्ट्रेलिया जान पाँचजना र कोरिया जान ११ जनाले पैसा दिएका थिए । अस्टे«लिया जानेबाट दुईजनालाई १५ लाख र तीनजनालाई पाँच लाख तथा कोरिया पठाउने भनेकाबाट ९–१० लाख लिएको गुरागाईंले बताए । यद्यपि, लाखौँ पैसा उठाएर उनले कसैलाई पनि रोजगारीमा अस्ट्रेलिया र कोरिया पठाएनन् । बरू उल्टै नक्कली टिकट देखाएर ठगी गरेको गुरागाईंको आरोप छ । गुरागाईं, कृष्ण अधिकारी, दमननाथ ढुंगानासहित पाँचलाई अस्ट्रेलिया उडाउने भन्दै ओलीले एक हप्ताभन्दा धेरै भारतको लखनउमा लगेर राखेका थिए ।

‘हामीलाई तीन दिनपछि फ्लाइट छ भनेर लखनउ लगेर राखे,’ ओलीबाट ठगिएका दमक– ८ का दमननाथ ढुंगानाले भने, ‘पाँच लाख दिइसकेका थियौँ । त्यहाँ झन्डै एक लाख भारु खर्च भयो । टिकट पनि दियो, तर बुझ्दै जाँदा नक्कली रहेछ । आज–भोलि भन्दै एक हप्तासम्म नउडाएपछि हामी नेपाल फर्कियौँ ।’

दमक फर्किएपछि भने अनिलले आफूहरूलाई भेट्न केपी ओलीले निर्वाचनका लागि भाडामा लिएको दमक– ९ को घरमा बोलाएको दमननाथ बताउँछन् । ‘केपी ओलीको घरमा भेट भयो । त्यहाँ उनले प्रेम गुरागाईं र कृष्ण अधिकारीलाई पठाएपछि हामीलाई पनि पठाउने वाचा गरे,’ ढुंगानाले भने ।

प्रेम गुरागाईं र कृष्ण अधिकारी भने अस्ट्रेलिया पुग्ने आशामा लखनउमै बसे । उनीहरूलाई ‘नो अब्जेक्सन लेटर’ (एनओसी) बनाउनुपर्ने अनिलले सुझाए । त्यहीअनुसार ‘एनओसी’ पनि बनाए । यसअघि पटक–पटक नक्कली टिकट देखाएर झुक्याएका ओलीले यसपटक भने गुरागाईं र अधिकारीका लागि सक्कली टिकट दिए । तर, अब बाँकी रहेको थप दश लाख पनि पूरा गर्नुपर्ने माग राखे ।

‘अब सबै कुरा सकियो । टिकट पनि आयो, बाँकी रहेको पैसा दिनु भन्ने कुरा गरे । हामीले पनि टिकट आएकै छ भनेर पैसा दिने भयौँ । तर, नेपालमा रहेका आफन्तले अस्टे«लिया जान लिएको पैसा भनेर कागज गर्नुपर्छ भन्ने सर्त राख्यौँ । अनिल तयार पनि भए,’ प्रेम भन्छन्, ‘त्यहीअनुसार अस्ट्रेलिया पठाउने र पठाउन नसके पैसा फिर्ता गर्ने सर्तको कागज १५ कात्तिकमा गर्‍यौँ । तर, उड्ने तीन दिनअघि टिकट रद्द गरिएछ ।’

आफूहरू ठगिएको निश्चित भएपछि प्रेम र कृष्ण पनि नेपाल फर्किए । अनिलसँग पटक–पटक छलफल भयो । छलफलका क्रममा कोरिया र अस्ट्रेलिया जाने भनेर ठगिएका १६ जना सहभागी भएको प्रेम बताउँछन् । यद्यपि, पैसा फिर्ता दिनुको सट्टा अनिल उल्टै हराएको दमननाथ बताउँछन् । ‘चुनावपछि गरौँला भनेका अनिल तीन महिनासम्म हराए । हामीले इलाका प्रहरी कार्यालय दमकमा ठगीको जाहेरी लिएर गयौँ । गएको दिन दर्ता ढिला भयो । भोलिपल्ट आउनू भनेर प्रहरीले पठायो । भोलिपल्ट त मान्छे निस्किए । यहाँ प्रहरीले सूचना चुहाएको हाम्रो आशंका छ,’ उनले भने, ‘अनिलले मलाई पनि अर्कोले ठगेको हो, त्यसलाई मागेर पैसा दिन्छु भनेपछि हामीले मुद्दा हालेनौँ ।’ पाँच लाख दिएका दमननाथसहित तीनजनासँग भने बैंकमा पैसा डिपोजिट गरेको कागज मात्र भएकाले ठगी मुद्दा हाल्न खोजेको ढुंगानाले बताए ।

यद्यपि, प्रेम र कृष्णसँग भने कागजी प्रमाण थियो । अनिलका बुबा तथा पूर्वमेयर रोमनाथ ओलीले छोराको व्यवहार आफू नजान्ने भनेपछि वैदेशिक रोजगार विभागमा गएर आफूहरूले मुद्दा दर्ता गरेको प्रेमले बताए । ‘गत २७ चैतमा कृष्ण र मैले वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गर्‍यौँ । त्यहाँबाट पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालयमा दियौँ । जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरीले म इमेल गरेर दमक पठाइदिन्छु भने, तर पठाइदिएनन् । दमकका प्रहरीले पक्राउ पुर्जी नआएसम्म केही गर्न नसकिने बताए । पछि एसपीको नम्बर पाएपछि मैले गुनासो गरेँ । तत्काल दमक प्रहरीमा इमेल आयो,’ प्रेम भन्छन्, ‘तर, एक महिना भइसक्यो । प्रहरीले पक्राउ गर्दैन । उल्टै तपाईंहरूले भेट्नुभयो भने भन्नुहोला भन्छ । पहुँचका कारण प्रहरीले पक्राउ नगरेको हो कि भन्ने शंका हामीलाई छ ।’

सामान्य परिवारका प्रेमले अनिललाई दिएको १५ लाख नै ऋणमा लिएका थिए । अहिले साहुले ताकेता गरे पनि उनले चर्को ब्याजको ऋण तिर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार अनिल ओलीलाई वैदेशिक रोजगार विभाग र जिल्ला अदालत झापाबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । यद्यपि, उनी फरार रहेकाले पक्राउ गर्न नसकिएको रिजालले बताए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अनिल आफैँले हालेको एउटा मुद्दामा उनलाई नै प्रतिवादी ठहर गर्दै जिल्ला अदालत झापाले मुद्दा चलाएको छ ।

Published on: 12 May 2023 | Naya Patrika

Link

Back to list

;