s

अस्ट्रेलिया लाने भन्दै ठगी गर्ने ६ जना पक्राउ

इन्डोनेसिया हुँदै अस्ट्रेलिया पठाउने भन्दै ठगी गर्ने धन्दामा संलग्न रहेको आशङ्कामा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। इन्डोनेशियाको बाटो हुँदै नेपालीहरूलाई अस्ट्रेलिया पठाउने भन्दै ठगी गर्नेहरु मानव तस्कर गिरोहका हुन सक्ने आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ठगी आरोपमा पक्राउमध्ये तीन नेपाली र अर्का एक जकार्तामा बसोबास गर्ने भारतीय मुलका नागरिक हुन्। इन्डोनेशियाको राजधानी जकार्तामा नै बस्दै आएका शिव शर्मा र अस्मिरा चौलागाईंले मिलेमतोमा अस्ट्रेलिया पठाइदिने भन्दै नेपाली युवा युवतीलाई प्रलोभनमा पारी लाखौ ठगी गर्ने गरेको प्रहरीको दावी छ।

नेपालमा रहेका डोलेन्द्र कार्कीले त्यस्ता विदेश जान इच्छुकहरूलाई प्रलोभनमा पारेर शिव शर्मासँग सम्पर्क गराउने गरेको प्रहरीको छानबिनले देखाएको छ। प्रहरीका अनुसार उनीहरुले जर्नी टु अस्ट्रेलिया नामको फेसबुक खोलेर त्यसको उपयोग गरी अस्ट्रेलिया पठाउने प्रलोभन देखाउने गरेका थिए।

पक्राउ पर्ने शर्मा र चौलागाईले आफूहरू श्रीमान श्रीमती भएको र आफू अस्ट्रेलियामै बसोबास गर्ने गरेको भन्दै समस्या परे सहयोग गर्ने बताउने गरेको नेपाल प्रहरीले जनाएको छ।

पक्राउ पर्ने भारतीय नागरिक पुरषोत्तमलाललाई इन्डोनेसिया लाने मनसायले नेपालमा आएको समयमा प्रहरीले पक्राउ गरेको हो। इन्डोनेसियामा नेपाली नागरिकलाई अन एराइभल भिषा प्राप्त हुने हुनाले यो गिरोहले नेपालीलाई सिधै इन्डोनेशिया पुरयाएर ठगी गर्न खोजेको प्रहरीको दावी छ।

नेपालीहरूको भिषा सकिएपछि इन्डोनेसियाको अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको जानकारीको आधारमा नेपाली दूतावास र इन्डोनेसियामा बसोबास गर्ने नेपालीहरूको सहयोगमा उनीहरूलाई नेपाल ल्याइएको थियो। यो गिरोहका सदस्यहरूले अस्ट्रेलिया पठाउने आश्वासनमा एक नेपालीबाट १५ लाख देखि २० लाख सम्म लिने गरेको प्रहरीले जनाएको छ ।

Published: 3 September 2019 | Setopati

Back to list

;