s

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई कडाइ

आवेदन फिर्ता लिन कलेजहरुको आग्रह
 
नारायण खड्का    
           
अस्ट्रेलियाली सरकारबाट भिसामा कडाइ भएपछि विश्वविद्यालयहरूले नेपाली विद्यार्थीहरूको भर्ना प्रक्रिया खारेज गर्न थालेका छन् । केही विश्वविद्यालयहरूले एजेन्टहरूलाई इमेल लेखी नेपाली विद्यार्थी भर्ना रोकिएको जानकारी गराइसकेका छन् । कान्तिपुरलाई प्राप्त एक विश्वविद्यालयले लेखेको इमेलमा यही अपि्रल ७ तारिखसम्म विद्यार्थी भिसाका लागि पेस आवेदन फिर्ता लिन आग्रह गरिएको छ । यसो गर्दा कलेजलाई तिरेको सबै र आवेदन शुल्क फिर्ता गरिने उल्लेख छ ।
 
आवेदनका क्रममा नेपालमा बन्ने अधिकांश आर्थिक कागजात नक्कली भन्दै अस्ट्रेलियाले भिसा कडाइ गर्न थालेको जानकारहरूले बताए । यसले आवेदन गरिसकेकालाई प्रभावित तुल्याउने नै भयो । अब नेपालीहरू अध्ययनका लागि यहाँ आउने अनुपात पनि निकै घट्ने अनुमान गरिएको छ ।  नेपाली विद्यार्थीहरूलाई उत्प्रेरित गर्न अस्टे्रलिया सरकारले मार्च २०१२ मा 'स्टि्रमलाइन भिसा प्रोसेसिङ' सुरु गरेको थियो । यो पद्धतिमा आबद्ध शैक्षिक संस्थाले भर्ना गरेका विद्यार्थीलाई अस्टे्रलियाली अध्यागमनले सहजै भिसा दिँदै आएको हो । तर यसबाटै समस्या सुरु भएको जानकारहरूले बताए ।
 
अस्ट्रेलियाली अध्यागमन कानुनमा विद्यावारिधि गरेका डा. शमशेर थापा नेपाली विद्यार्थीहरूले यहाँ आएर शैक्षिक संस्था परिवर्तन गर्ने क्रममा तीव्रता आएपछि यो समस्या उब्जिएको बताउँछन् । 'सुरुमा महँगो कलेजमा पढ्न आउने, यहाँ बसिसकेपछि सस्तो कलेज छानेर जाने प्रवृत्तिले समस्या थपिएको हो,' उनले भने । अत्यन्त जरुरी अवस्थामा बाहेक गर्न नमिल्ने कलेज परिवर्तन नेपालीहरूले बरोबर गर्छन् ।'  
 
अस्टे्रलियामा बसेर 'एजुकेसन कन्सल्टेन्सी' गर्दै आएका संजीव शर्मा पछिल्लो परिस्थितिले अध्ययनकै उद्देश्यले आउने विद्यार्थीहरूलाई समेत मर्कामा पारेको बताउँछन् । यसको समाधानका निम्ति नेपाल सरकारले कूटनीतिक पहलसमेत गर्नुपर्ने उनको राय छ । नेपालका बैंकबाट लिइएको कागजपत्र गलत भए अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने उनी बताउँछन् । २०१३ जुलाईदेखि डिसेम्बरसम्ममा ३ हजार २ सय नेपाली विद्यार्थीले अस्ट्रेलियाको भिसा पाएको शैक्षिक परामर्श व्यवसायीहरू बताउँछन् । जुन अघिल्लो वर्षको सोही ६ महिनाको तुलनामा तेब्बर हो ।
 
Published on: 5 April 2014 | The Himalayan Times

Back to list

;