s

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन

स्याङ्जाको गल्याङ नगरपालिका–६ पिँडीखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन्। रोजगारीका लागि भारत, सिंगापुर, मलेसिया, कंगो, कुवेतलगायत देशमा १८ वर्ष बिताएर फर्किएपछि उनले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन्।

बाउबाजेले परम्परागत रूपमा गर्दै आएको बाख्रापालनलाई व्यावसायिक रूपमा गर्ने सोचसहित गुरुङले अढाइ वर्षपहिले पाँच लाख रूपैयाँ लगानी गरेर कृष्टिना गुरुङ बोयर बाख्रा तथा कृषि पशुपक्षी फार्ममा १२ वटा बाख्रा ल्याएर व्यवसाय सुरु गरेका थिए।

गुरुङले २०७८ सालमा म्याग्दीबाट एक लाख ५० हजार रूपैयाँमा बोयर बाख्राको पाठो र चापकोटबाट एक लाख २० हजार रूपैयाँमा बोयर माउ ल्याएर बाख्रापालन थालेको बताए। ‘बाख्रापान गर्दै जाँदा सात लाख रूपैयाँ लगानी गरेर आधुनिक खोर बनाएँ’, उनले भने, ‘फार्ममा अहिले ५६ बाख्रा छन्।’

गुरुङको फार्म चरन क्षेत्र, घाँसे बारी, खोरसहित १५ रोपनी क्षेत्रफलमा फैलिएको छ।

‘निकै समय विदेश बस्दा पनि खासै उपलब्धि हुन सकेन, अलिअलि कमाएको पैसाले बाख्रापालन गरेर परिवारसँग बस्छु भन्ने सोच थियो, युट्युब हेर्दै जाँदा नेपालमा बोयर बाख्राको राम्रो सम्भावना रहेको देखेँ’, उनले भने, ‘हाम्रोजस्तो ठाउँमा सिधै बाहिरबाट ल्याएको शुद्ध बोयर राम्रो नहुने भएकाले खरी जातका बाख्रामा बोयर क्रस गरेर बाख्रा पाल्दै आएको छु।’

गुरुङले खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म १८ लाख रूपैयाँ लगानी पुगेको बताए।

उनले खरी जातका बाख्रामा बोयर क्रस गर्दै शुद्ध बोयर बनाउने लक्ष्यका साथ बाख्रापालन सुरु गरेको बताए। ‘हाल मेरो फार्ममा ७५ प्रतिशत, ६२ प्रतिशत र ५० प्रतिशतका बोयर बाख्रा रहेका छन्’, उनले भने, ‘आगामी तीन वर्षमा शतप्रतिशत बोयर बाख्रा बनाउने उद्देश्य छ।’

गुरुङले कोरोनाकालमा लकडाउनले गर्दा बाख्रापालन व्यवसायलाई सोचेअनुसार गति दिन नसकेको गुनासो गरे। ‘स्वदेश फर्केर बाख्रापालन गर्छु भन्ने सोचले रकम जम्मा पारेको थिएँ’, उनले भने, ‘स्वदेश फर्किएपछि लकडाउन भयो, सोचेजस्तो लगानी गर्न सकिएन, लगानीको अभावमा व्यवसाय विस्तारमा अलि ढिला भयो।’

अहिले व्यवसाय राम्रो हुँदै गएको उनले बताए। ‘उत्पादन गर्न सके बजार पनि राम्रो छ’, गुरुङले भने, ‘प्रतिकिलो नौ सय ५० रूपैयाँमा वालिङ बजारमै मासु बिक्री गर्दै आएको छु, उत्पादन कम भएकाले बाहिरको माग धान्न सकिरहेको छैन।’

खोर अग्लो भएका कारण जाडो मौसममा समस्या देखिने गरेको सुनाउँदै उनले हालसम्म विभिन्न रोगका कारण ४४ बाख्रा मरेको बताए। गुरुङले पशुपक्षीमा स्वास्थ्य समस्या आए गल्याङ नगरपालिकाको पशु स्वास्थ्य समूहले तत्काल सेवा दिँदा आफूलाई सहज भएको बताए।

जिल्ला पशु विज्ञबाट खोर सुधार कार्यक्रम अन्तर्गत एक लाख ५० हजार रूपैयाँ र नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३३ हजार रूपैयाँ अनुदान दिएको उनले सुनाए।

Published on: 18 March 2024 | Nagarik

Link

Back to list

;