s

असुरक्षित गन्तव्य बन्दै साउदी अरब अर्थ, कर्पाेरेट, ब्यानर

काठमाडौँ, चैत १३ गते । पछिल्लो पटक साउदी अरब नेपाली श्रमिकका लागि असुरक्षित गन्तव्य बन्दै गएको छ । साउदी अरबमा रोजगारीका लागि गएका नेपाली श्रमिक विभिन्न समस्याका कारण असुरक्षित हुने क्रम बढेको हो ।

सन् २०२३ जनवरीदेखि मार्च २० सम्म ५४५ जना नेपाली श्रमिक विभिन्न कारणले स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार जनवरीमा २३१ जना, फेब्रुअरीमा ९८ जना र मार्चको २० सम्म २१६ जना नेपाली बहिर्गमन भिसा प्राप्त गरेर स्वदेश फर्किएका हुन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले पछिल्लो केही महिनायता साउदी अरबबाट विभिन्न कारण समस्या पर्ने र स्वदेश फर्कनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको जानकारी दिनुभयो । पछिल्लो पटक साउदीबाट स्वदेश फर्कनेमध्ये लगभग ५० प्रतिशत त मलेसियाको आकर्षक तलब र सेवासुविधा देखेर त्यतै जाने सोचसहित साउदीबाट काम छोडेर आउने गरेको उहाँको भनाइ छ ।

रोजगारीका लागि साउदी जाने युवासँग वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले चर्को शुल्क उठाउने र सम्झौताविपरीत काममा पठाएपछि त्यहाँ अलपत्र पर्ने श्रमिकको सङ्ख्या बढिरहेको छ ।

दूतावासले रोजगारीका लागि साउदी आएका युवाले काम र तलब नपाएको, तोकिएभन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दुःख पाएको गुनासा आएको जनाएको छ । दूतावासले आफ्नै कार्यालय वा महावाणिज्य दूतावासले श्रमिकको एक्जिट भिसा प्रोसेसिङ गरिदिने जनाउँदै ठगीमा नपर्न सचेतसमेत गराएको छ ।

दूतावासका अनुसार एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने स्वयं व्यक्तिले व्यवस्था गर्नुपर्छ । साउदी अरबस्थित नेपाली दूतावासले अकामा (परिचयपत्र)को म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि कम्पनीले अकामा बनाई नदिएको तथा कम्पनीले हुरुब (भगौडा) लगाइदिएको अवस्थामा बहिर्गमन भिसा जारी गरेर फर्कन सकिने जनाइएको छ । अकामाको म्याद भएकाको एक्जिट भिसा प्रोसेसिङ दूतावासबाट गर्न नमिल्ने दूतावासले सूचनामार्फत जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष सबभन्दा बढी साउदी अरबबाट उद्धारका लागि उजुरी आएको छ । दूतावासले एक्जिट भिसा अनुमति पाएका श्रमिकले अनुमति पाएको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नुपर्ने जनाएको छ ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा श्रमिक पठाउन एजेन्टको भूमिकालाई गैरकानुनी मानेको भए पनि पछिल्लो समय समूह नै बनाएर युवासँग करोडौँ असुलेको पाइएको छ । साउदी जाने युवामा ठगीका घटना बढ्न थालेपछि दूतावासले एजेन्टको पछि नलाग्न अनुरोध गर्दै राम्रा म्यानपावर कम्पनीमार्फत प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

नेपाल सरकारले साउदी अरब जाने नेपाली श्रमिकका विभिन्न पदका लागि पदअनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ । जसअनुसार अदक्ष श्रमिकका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल एक हजार र खाना सुविधाबापत तीन सय साउदी रियाल तोकिएको छ तर साउदीमा ठूलो सङ्ख्या नेपालीले तोकेकोभन्दा कम तलब र सुविधामा काम गर्न बाध्य रहेका छन् ।

Published on: 27 March 2023 | Gorkhapatra

Link

Back to list

;