s

असुरक्षित वैदेशिक रोजगार

सीता शर्मा

चालू आर्थिक २०७४/७५ को नौ महिनामा झण्डै सात सय युवाले विदेशमा ज्यान गुमाएका छन् । विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भन्दै सरकार र अर्थविद्हरूले दाबी गर्ने गरेकोमा विप्रेषण आर्जन गर्न परदेशिएका युवाको मृत्युको विवरण आएको हो । 

पर्याप्त तालिम र सीप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुगेका हुन् । तथ्याङ्कअनुसार औसतमा दैनिक तीनवटा शवका बाकस विदेशबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । चालू आर्थिक नौ महिनामा ६७३ नेपाली श्रमिकको विदेशमै मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा पेस भएको क्षतिपूर्तिको दाबी विवरणअनुसार चालू आर्थिक वर्षको चैतसम्म ६७३ श्रमिक कामदारको मृत्यु भएको छ । 
 
वैदेशिक रोजगारीमा जानेहरूको मृत्यु विभिन्न कारणले हुने गरेको छ । अधिकांशको मृत्युको कारण कार्यस्थलको दुर्घटना हो भने केहीको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले र कतिपयले आत्महत्या गरेरसमेत मृत्युवरण गर्ने गरेका छन् ।
 
धेरै मृत्यु मलेसियामा
 
नेपाली श्रमिकका लागि सबैभन्दा बढी असुरक्षित देश मलेसिया देखिएको छ । रोजगारीमा सबैभन्दा धेरै नेपाली रहेको मलेसियामै धेरै नेपालीको मृत्यु भएको बोर्डको तथ्याङ्कले पुष्टि गरेको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०६५÷६६ देखि चालू आर्थिक वर्षको चैतसम्म छ हजार ५६५ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । यस अवधिमा मलेसियामा मात्रै दुई हजार ३९९ जना नेपालीले रोजगारीका क्रममा ज्यान गुमाएका छन् भने अवधिमा साउदी अरबमा एक हजार ७६८ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ । 
 
यस्तै यस अवधिमा कतारमा एक हजार ३२४ जनाले रोजगारीका क्रममा ज्यान गुमाएका छन् भने संयुक्त अरब इमिरेट्स (युएई) मा ४२७ जनाको ज्यान गएको छ । बोर्डका अनुसार लेबनान ४३५, कुवेत २३६, दक्षिण कोरिया १०४ र अन्य बहराइन, ओमानलगायतका देश छन् । मलेसियामा रोजगारीका क्रममा मृत्यु भएकामध्ये अधिकांशको पहिचान नै हुन सकेको छैन । दोस्रो तेस्रोमा हृदयघात र आत्महत्या कारण ठूलो सङ्ख्याले ज्यान गुमाएको देखिन्छ भने साउदी अरबमा सडक दुर्घटना र कार्यस्थलमा हुने मृत्यु हुनेको सङ्ख्या ठूलो देखिन्छ । यस्तै कतारमा मृत्यु हुनेको प्रमुख कारण हृदयघात देखिएको छ ।
 
सङ्ख्या अझै बढ्न सक्छ
 
घरपरिवारका लागि दुई छाक खान समस्या नहोस् भनेर विदेश पुग्ने नेपालीमध्ये वर्षमै एक हजार हाराहारीमा बाकसमा फर्कनु सामान्य कुरा होइन । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भन्नुभयो, सबै मृतकको विवरण हामीसम्म आइपुग्दैन । अवैधानिक रूपमा विदेश जाने र त्यहाँ रहँदा भिसाको म्याद सकिएर अवैधानिक बन्ने श्रमिकको मृत्युको तथ्याङ्क बोर्डसँग हुँदैन, उहाँले थप्नुभयो । 
 
वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारमा मृत्यु हुनुको प्रमुख कारण अदक्ष कामदार विदेश पठाउनु भएको बताउनुभयो । जबसम्म दक्ष जनशक्ति उत्पादन गरेर विदेश पठाउँदैनौँ तबसम्म यो परिस्थिति रहिरहन्छ उहाँले थप्नुभयो । त्यसो त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने हरेक नागरिकका लागि सीप तथा तालिम अनिवार्य गर्ने तयारी गरेको छ । यसका लागि नयाँ कार्यविधि स्वीकृति गरी तालिम दिने संस्था र पाठ्यक्रमका लागि बोर्डलाई निर्देशन गरिसकेको मन्त्रालयले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक काफ्लेले नयाँ कार्यविधिअनुसार पाठयक्रम बनाउनका लागि प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँग छलफल भइरहेको जानकारी गराउनुभयो ।
 
कामदारको हितबारे छलफल
 
यसैबीच कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारका नेपाली कामदारको हितको विषयमा कतारको परराष्ट्र मन्त्रालयको ‘एसियन अफेयर्स’का निर्देशक एच.ई. खालिद इब्राहिम अब्दुल रहमान अल अमारसँग छलफल गर्नुभएको छ । दूतावासले सोमबार विज्ञप्तिमार्फत कतारमा रोजगारीका लागि आएका केही युवा कम्पनी नै बन्द भएर अलपत्र भएको त्यसको समाधानका लागि पनि पहल गर्न निर्देशक अमारसँग आग्रह गरेको जनाइएको छ । 
 
विज्ञप्तिका अनुसार राजदूत कोइरालासँग भएको भेटमा कतारमा रहेका नेपाली कामदारको समस्या समाधानका विषयमा छलफल भएको छ । भेटमा कामदारका समस्या समाधान गर्ने, दुई देशबीच उच्चस्तरीय भ्रमण गर्नेलगायतका विषयमा छलफल भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
 
Published on: 15 May 2018 | Gorkhapatra

Back to list

;