s

अस्ट्रेलियामा सयौं नेपाली अध्ययनरत कलेजको दर्ता खारेज, नर्सिङका विद्यार्थी बढी समस्यामा

नारायण खड्का

सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) को दर्ता अस्ट्रेलिया सरकारले खारेज गरेको छ । कलेजको दर्ता खारेजीसँगै अध्ययनरत सयौं नेपाली विद्यार्थीहरु प्रभावित भएका छन् । सिड्नी र ब्रिसबनमा रहेको उक्त कलेजले विद्यार्थी ल्याउने समयमा अनैतिक व्यावसायिक तरिका अपनाएको भन्दै अस्ट्रेलियाको प्राविधिक शिक्षालाई नियमन गर्ने निकाय अस्ट्रेलियन स्किल क्यावालिटी अथोरिटी (आस्क्वा) ले दर्ता खारेज गरिदिएको हो ।

उक्त कलेजमा नेपाली विद्यार्थीहरु नर्सिङ, एकाउन्टिङ्ग, आइटी लगायतका विषय अध्ययनरत छन् । कलेजको दर्ता खारेजीसँगै नर्सिङ विषयका विद्यार्थीहरु बढी समस्यामा परेका छन् ।

एआइबिटीमा डिप्लोमा अफ नर्सिङ अध्ययन गर्न विभिन्न समयमा आएका सयौं नेपाली विद्यार्थीहरुले यहाँको नर्सिङ विषयको नियमन निकाय अष्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेटर एजेन्सी (आप्रा) र अष्ट्रेलियन नर्सिङ एण्ड मिडवाफरी एक्रिडेसन काउन्सिल (एनम्याक) मा उक्त कलेज दर्ता नभएको थाहा पाएपछि समस्या बाहिर आएको हो । नर्सिङ अध्ययन सकेका विद्यार्थीहरुको सर्टिफिकेटलाई दर्ता गर्ने र नर्सको रुपमा काम गर्न पाउने अधिकार दिने नियमन निकायहरुमा नै दर्ता नभएको खुलेपछि विद्यार्थीहरु सहयोग माग्दै अस्ट्रेलियास्थित नेपाली दूतावास, अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठन सिसा लगायतका स्थानमा पुगेका थिए ।

दूतावासले यहाँको शिक्षा विभागमा औपचारिक पत्र लेखेर विद्यार्थीहरुको समस्या समाधान गरिदिन आग्रह गरेको थियो । सिसाले समेत विद्यार्थीहरुको पक्षमा अस्ट्रेलियाको शिक्षा विभागहरुमा न्यायका लागि पहल गरेको थियो । अस्ट्रेलियाका लागि नेपाली निमित्त राजदूत दु्रपदा सापकोटाले विद्यार्थीहरुको समस्यामा परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल सरकारलाई जानकारी गराइसकेको बताइन् । उनले यहाँस्थित शिक्षा विभाग लगायतका उच्च निकायहरुसँग विद्यार्थीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको समेत जनान् । उनले आफू पीडित विद्यार्थीहरुको समेत सम्पर्कमा रहेको र उनीहरुलाई सहयोग पुर्‍याउन लागिरहेको दाबी गरिन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठन सिसाका अध्यक्ष विजय सापकोटाले अहिले विद्यार्थीहरुको समस्या सुनवाईको प्रक्रिया सुरु भइसकेको बताए । उनले विद्यार्थीहरुको समस्याप्रति आफूहरु गम्भीर रहेको बताउँदै विद्यार्थीहरुलाई पूर्ण न्याय दिन लागिपरेको बताए । उनले विद्यार्थी तथा अभिभावकहरुलाई नआत्तिन सल्लाह दिँदै विद्यार्थीहरुको पक्षमा समस्या समाधान हुने दाबी गरे ।

यसैगरी एनआरएन अस्ट्रेलियाले विद्यार्थीहरुको शुल्क फिर्ता गरी न्याय दिनुपर्ने मागसहित दूतावासको ध्यानाकर्षण गराएको छ । समस्यामा परेका विद्यार्थीहरुले शैक्षिक परामर्शदाताले आफूहरुलाई यहाँ आउनुअघि पर्याप्त जानकारी नदिएको गुनासो गरेका छन् । कान्तिपुरसँग कुराकानी गर्दै उनीहरुले आफ्नो हजारौं डलर खर्च भइसकेकाले दोधारमा परेको बताएका छन् । यसै क्षेत्रका जानकारहरु विद्यार्थीहरुको भविष्यमा असर नपार्ने दाबी गर्छन् । कलेज बन्द भएपनि ट्युसन प्रोटेक्सन स्किम (टिपिएस) अन्तर्गत विद्यार्थीको शुल्क फिर्ता हुनसक्ने जानकारहरु बताउँछन् ।

अस्ट्रेलियाको शैक्षिक नियमन निकायहरुले यसअघि पनि नियमानुसार सञ्चालन नगर्ने शैक्षिक संस्थाहरुलाई कारबाही गर्दै आएका छन् । दर्ता खारेज गरिदिएको नियमन निकाय आस्क्वाले उक्त कलेजलाई मार्चको अन्तिमसम्मको समय दिएको छ । सो समयभित्र एडमिनिष्ट्रेटिभ अपिल्स ट्राइबुनलमा (एएटी) मा कलेजले अपिल गर्न पाउने व्यवस्था छ ।

Published on: 20 February 2019 । Kantipur

Back to list

;