s

अस्ट्रेलियामा कार दुर्घटना: एक नेपालीको मृत्यु , चार गम्भीर घाइेत

हेमन्त काफ्ले  

अस्ट्रेलियामा उच्च अध्यनका लागि आएका नेपाली विद्यार्थी सवार कार दुर्घटनामा परेपछि एकजनाको मृत्यु र ४ घाइते भएको घटनामा एक नेपालीको अवस्था अझै गम्भिर रहेको छ। सिड्नीबाट अल्बरीतर्फ जाँदै गरेका पाँच नेपाली सवारी कार दुर्घटना हुँदा एक नेपालीको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार घाइते भएका थिए। जसमध्ये गाडी चलाउने बलराम पराजुली गम्भीररूपले घाइते बनेका थिए।

न्यू साउथवेल्स प्रहरीका अनुसार मृत्यु हुनेमा आर्यन आचार्य रहेका छन् । आचार्य पाँच जना सवार कारको अघिल्लो सिटमा बसेका थिए। गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको र दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । बिहीबार विहान करिब साढे सात बजे  घटना घटेको केहि समयमा नै उद्धार गरिएपनि गम्भीर दुर्घटनाका कारण ज्यान आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ चालक बलरामको उपचार अल्बरी अस्पतालमा हुन नसकेपछि क्यानबेरा पठाइएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको नेपाली राजदुतावसले जनाएको छ । 

उनको अवस्था चिन्ताजनक रहेको छ। गम्भीर घाइते पराजुलीलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । यस्तै सो कारमा सवार अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदीको उपचार भइरहेको छ । उनीहरु भने खतरामुक्त रहेका छन । घटना ह्युम हाईवे मुलेन्ड्रामा भएको हो । पछिल्लो सिटमा बसेका तीनैजनालाई कारको पछिल्लो सिटमा च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । क्यानबेरा हस्पिटलको सघन कक्षमा उपचार भइरहेको बलराम पराजुलीलाई हेर्न नेपाली राजदुतावासका कार्यबाहक राजदुत द्रुपदा सापकोटा हस्पिटल पुगेकी थिइन ।

त्यस्तै अल्बरीमा उपचार गराइरहेका घाइतेहरुको अवस्था फोनबाट बुझेकी थिइन्।  उनले घाइतेहरूसँग टेलीफोनमा कुराकानी गरेको र उनीहरुको अवस्था चिन्तामुक्त रहेको कार्यबाहक राजदुत द्रुपदा सापकोटाले बताइन। पछिल्लो समय नेपाली विद्यार्थीहरु सडक दुर्घटना, पानीमा डुबेर लगायतका घटनामा पर्ने क्रम बढेको छ । यतिखेर सरकारी तथ्यांक अनुरुप करिब ४४ हजार नेपाली बिध्यार्थी अस्ट्रेलियामा उच्च अध्यनमा रहेका छन ।

Published on: 30 March 2019 | Setopati

Back to list

;