s

अस्ट्रेलियामा विद्यार्थी समस्याको चुरो कुरो

हेमन्त काफ्ले

विदेश जाने रहर, हतारको निर्णय, गलत सूचना प्रवाह, नैतिक जिम्मेवारीको कमी र अस्ट्रेलियन शैक्षिक नीतिले उच्च शिक्षा अध्ययनका लागि आएका हजारौं नेपाली विद्यार्थी अन्यौलमा परेको निष्कर्ष सम्बन्धित निकायले निकालेको छ।

‘नेपाली विद्यार्थीका समस्या र पहिचान’ विषयक एक दिने गोष्ठीमा सहभागी विभिन्न तह र क्षेत्रका विज्ञको छलफलले यस्तो निष्कर्ष निकालेको हो।
एनआरएन अस्ट्रेलियाको पहलमा नेपाली राजदूतावासले आयोजना गरेको गोष्ठीमा शैक्षिक क्षेत्रसँग जोडिएका प्रोभाइडर, शैक्षिक परामर्शदाता, विद्यार्थी, नेता र सामाजिक अगुवासँगै महाबाणिज्यदूत र कार्यबाहक राजदूतले कार्यपत्र पेश गरेपछि यसका समस्या र समाधानका उपायबारे बिशेष छलफल भएको थियो।
 
सम्वन्धित निकायको पहलले आगामी दिनमा डिप्लोमा अफ नर्सिङ पढ्न आउने  नेपाली विद्यार्थीले दुःख नपाउने भएका छन्। एआइबीटी कलेजलाई खारेज गरेपछि निम्तिएको विवादमा अस्ट्रेलियन सरकारलेसमेत आफ्नो नीतिमा परिवर्तन गरेको छ। यो सँगै अबका दिनमा नर्सिङ कोर्षको (एन्म्याक) मान्यता नपाएका कलेजले डिप्लोमा अफ नर्सिङ पढाउन नपाउने भएका छन्। जुन पछिल्लो विद्यार्थीको अधिकारको लडाइको पहिलो सफलता समेत हो।
 
छलफलमा समाधानको विषयमा भएको बहसपछि एजेन्टहरू नैतिक रुपमा जिम्मेबार बन्नुपर्ने, विद्यार्थीका लागि नो अबजेक्सन लेटर अगावै यहाँको विषयगत जानकारी सम्वन्धी टेष्ट लिइनुपर्ने, ह्यान्डबुक र सोसल मिडियामार्फत यहाँको बस्तुस्थिति बारेमा जानकारी गराउने अनि नेपालका शैक्षिक परामर्शदाताको योग्यता र क्षमताको विषयमा राज्यले छानबिन गर्नुपर्ने जस्ता समाधानको बाटो पहिचान गरिएको थियो।
 
मुख्यतया विद्यार्थीसँग अभिभावकलाई पनि छोरा वा छोरी विदेश जादैगर्दा कहाँ जाने, के पढ्ने, पैसा कति लाग्छ र यताको वातावरण र बस्तुस्थितिका बारेमा यथेस्ट जानकारी दिनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेकोमा परामर्शदाताको छाता संगठनले एकाले जोड दिएको थियो ।
नेपाली राजदूतावासको कार्यालयमा भएको छलफलपछि यसमा विशेषज्ञता हासिल गरेका विज्ञहरूको कार्यपत्रबाट निस्किएको निचोड र समाधानको उपायमा नेपाल सरकार, शिक्षा मन्त्रालयलाई सुझावका रुपमा पठाइने कार्यबाहक राजदूत द्रौपदा सापकोटाले बताइन्।
 
छोटो समयमै प्रभावकारी भूमिकामा देखिएकी कार्यबाहक राजदूत द्रौपदा सापकोटाले पछिल्लो घट्नाक्रममासमेत निकै चासो दिएकी थिइन्। उनले यसका लागि सम्बन्धित पक्षहरुसँग पत्राचार गर्नुका साथै पीडित विद्यार्थीसँग प्रत्यक्ष भेटघाटसमेत गरेकी थिइन्।कार्यवाहक राजदूत सापकोटाले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै लगभग पचास हजारको संख्यामा रहेका नेपाली विद्यार्थीका विषय राजदूतावासको मुख्य सरोकारको विषय रहेका बताइन्। उनले छोटो समयमा उब्जेका समस्याको पाटो र पहिचानका विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी थिइन्।
 
कार्यक्रममा उपस्थित न्यूसाउथवेल्सका महावाणिज्यदूत दीपक खड्काले संख्यात्मक रूपमा ह्वात्तै बढ्दै जाँदा समस्या पनि केही बढेको भन्दै समस्याको मुख्य जड भनेको गलत सूचना प्रवाहनै भएकोले सबैले यस विषयमा गम्भीर भएर आ-आफ्नो स्थानबाट काम गरे यस्ता समस्यामा कमी आउने बताए।
 
भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योन्जनले शैक्षिक अन्यौलता आउनुमा एक पक्ष मात्र नभइ सबै पक्षको उत्तिकै जिम्मेवारि रहेकाले सबैले आ-आफ्नो स्थानबाट इमानदारिता देखाउने हो भने यो समस्याको समाधान हुने बताए । योन्जनले ब्याचलर अफ नर्सिङ पढिसकेका बिद्यार्थीको हकमा उनीहरूको क्रेडिट ट्रान्सफरका विषयमा गम्भीर भएर सबै लाग्नुपर्ने बताए। यो एन्म्याकको निर्णयमा भरपर्ने हुनाले हामी सबैले उनीहरूले पढिसकेको विषयमा न्याय दिलाउन लाग्न सक्यौ भने उनीहरूले न्याय पाउने बताए।
 
कार्यक्रममा साउथ अस्ट्रेलियाका महाबाणिज्यदूत दिपक धमला, वेष्टर्न अस्ट्रेलियाका महाबाणिज्यदूत फ्रेडरिक निल ओ ब्राउनलेसमेत विद्यार्थीमा शैक्षिक लगायतका अन्य समस्याका विषयमा महाबाणिज्यदूतावासको कार्यालयले काम गरिरहेको स्मरण गराए। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटाले पछिल्लो समय नेपाली विद्यार्थीमा देखिएको समस्या निकै गम्भीर भएको बताए। उनले एक वर्षमा करिब तीन सय कलेज खारेजीमा परेको बेला एआइबीटीमा अध्यनरत करिब एक हजार विद्यार्थीको फरकखाले समस्या रहेको सुनाए।
 
उनले यसका लागि शैक्षिक परामर्शदाताहरु सजग भएका विद्यार्थीको भविष्य जोखिम हुने संस्थामा जानबाट रोक्न सकिने बताए। उनले नेपालबाट पढ्न आउने विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा र यथास्थितिका विषयमा सानो टेस्ट लिएर मात्र नो अबजेक्सन लेटर दिइने हो भने यो समस्या केहि हदसम्म समाधान हुने जिकिर गरे। ‘केही नै थाहा नभएका विद्यार्थी हामी कहाँ आउँछन् र दुखेसो सुनाउँछन्, यो भनेको जानकारी नभएरै दुःख पाएको भन्ने स्पष्ट बुझिन्छ’, विजयले भने, ‘विदेश पढ्न जानेजस्तो जीवनको महत्वपूर्ण कुरो हतारमा गरेर फुर्सतमा पछुताउने जस्तो देखिएको छ।’
 
कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले नेपालबाट कलिला विद्यार्थी भाइबहिनी पठाउँदै गर्दा केही प्राविधिक शिक्षा र सही सूचना दिएर पठाएमा रोजगारीलगायतका विषयमा देखिएका समस्या समाधान हुने बताए। ‘आफ्नो छोराछोरीलाई पठाउँदै गर्दा के पढाउँदै छु र के कस्ता समस्या आइपर्छन् अनि खर्चका बारेमा सोच्ने अभिभावकको पहिलो दायित्व हो। पठाएपछि कमाएर पढ्छ र पठाँउछ भन्ने सोचले पनि धेरैखाले समस्या आइपरेको छ,’ अधिकारीले भने।
 
कार्यक्रममा अस्ट्रेलियन कन्सल्ट्यान्ट एलाइन्स (एका) का अध्यक्ष पीआर अधिकारीले अस्ट्रेलियाको शैक्षिक परामर्शको सवालमा यतिखेर जानेर वा नजानेर यहाँका सबै ब्यक्ति परामर्शदाता भएको बताए। उनले शैक्षिक परामर्शदातामध्येबाट पनि केही गल्ती भएको हुनसक्ने भन्दै यो पेशालाई बेइमान बनाएर र बदनामी गर्ने नियत पनि देखिएको बताए। हुँदै नभएका समाचार अनि तथ्य र सत्य भन्दा बाहिर गएर दर्ता नै नभएका कलेज र अलपत्र पार्ने दलालजस्ता शब्द प्रयोग गरिनुले पनि केही तत्व नियतवस यो पेशा पछाडि लागेको हुनसक्ने उनले बताए।
 
नैतिकता अहिलेको महत्वपूर्ण विषय भएकोले यस पेशामा संलग्न ब्यक्ति र संस्थाले परामर्श दिँदै गर्दा सबैले सही सूचना र उचित सल्लाह प्रवाह गरेर पेशाको मर्यादा अनि प्रतिष्ठा बचाउने  समय आएको अधिकारीले बताए। अष्ट्रेलियन शैक्षिक नीति र परिवर्तन अनि यसका सवालमा बोल्दै सागर लोहनीले हरेक वर्ष अनि समय समयमा परिवर्तन भइरहने अष्ट्रेलियन शैक्षिक नीति र यसको प्रभावका बारेमा परामर्शदाताहरुले राम्ररी बुझ्नुपर्ने समय आएको बताए।
 
उनले हिजोका कमजोरीहरू आज सच्चाएझै आज देखिएका अन्यौलतामा समेत सरकारले गर्ने नियमन र परिवर्तित सोचका बारेमा अध्ययन गर्ने बेला आएको ताए। सागरले एआइबीटीको समस्या छताछुल्ल भएर देखिएको तर अझै हजारौं विलार्थीका अन्यौलका समस्या बाहिर आउन नसकेकाले यसको समाधान खोज्नुपर्ने बताए।
 
कार्यक्रममा एनआरएनका अध्यक्ष टोनु गोथानेले विद्यार्थीको हक हितमा एनआरएनले काम गर्दै आएको र मर्दापर्दा सधै साथ दिइरहेको स्मरण गरे।गोथानेले विद्यार्थीको बिमाका बारेमा नयाँ खाले योजना समेत अघि सारेको सुनाए। यस्तै एनआरएनका उपाध्यक्ष केशव कँडेलले विद्यार्थीको सवालमा एनआरएन जहिले अग्रपंक्तिमा रहेको र निकट भबिष्यमा यसै सन्दर्भलाई लिएर हयान्डबुक प्रकाशनसमेत गर्न लागेको जानकारी दिए।
 
यस्तै अन्तर्क्रिया कार्यक्रममा डाक्टर घनश्याम चापागाईले विद्यार्थीका मानसिक समस्याका बारेमा, एनआरएन प्रवक्ता डिला खरेलले विद्यार्थी कल्याण परियोजना, सचिव देब गुरूङले कार्ययोजनाका विषयमा, डाक्टर कृष्ण हमालले पर्यटन प्रर्वधनका विषयमा आ-आफ्ना प्रस्तुति दिएका थिए।
 
कार्यक्रमको सहजीकरण गर्दै डा भरत पौडेलले महत्वपुर्ण बिषयमा राजदुतावासले छलफल प्रारम्भ गरेकोमा धन्यबाद प्रकट गरे। कार्यक्रममा विद्यार्थीको दैनिकी समस्याका बारेमा भिजन फर मोटिभेसनका महेश प्रसाइ, तिर्थ कार्की र विजय पललेसमेत आ-आफ्ना धारणा राखेका थिए।
 
Published on: 25 March 2019। Setopati

Back to list

;