s

अष्टमी गुरुङ आत्महत्या प्रकरण : दूतावासले शुरु गर्यो दाेषीमाथि कारबाहीको पहल

लक्ष्मण खनाल
 
वैदेशिक रोजगारीको शिलशिलामा युएईमा आत्महत्या गरेको भनिएकी गोर्खा आरुघाटकी अष्टमी गुरुङको विषयमा नयाँ विवरण सार्वजनिक भएपछि नेपाली दूतावास युएईले दोषीमाथि कारबाहीका लागि पहल थालेको छ । बलात्कारको शिकार भएपछि गुरुङले आत्महत्या गरेको भन्ने भिडियो सार्वजनिक भएपछि नेपाली दूतावासले कारबाहीका लागि पहल सुरु गरेको हो ।
 
दूतावासका द्वितीयसचिव कृष्ण अर्यालले भिडियो सार्वजनिक भएलगत्तै स्थानीय प्रशासनको सहयोगमा कानुनी प्रक्रियाअगाडि बढाउन पहल सुरु भएको बताए । ‘अष्टमीको भिडियोअनुसार उक्त कम्पनीमा कार्यरत आरोपी सुपरभाइजारहरूलाई युएईबाट बाहिर जान नसक्ने अवस्था बनाउन स्थानीय प्रशासनको सहयोगमा कम्पनीमा खबर गरिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अब छिट्टै सम्पूर्ण प्रमाण जुटाएर छानबिन र कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’
 
नोभेम्बर ४ का दिन आत्महत्या गरेकी गुरुङको शव १४ दिनपछि नेपाल लगेर अन्तिम संस्कार गरिसकिएको छ । तर, उनले प्रयोग गर्ने मोवाइमा उनका भाइले भिडियो भेटेपछि उक्त भिडियो नेपालबाट प्रसारण हुने एक टेलिभिजनले आफ्नो कार्यक्रममा प्रसारण गरेको थियो ।
 
यस्तो थियो भिडियोमा बयान
 
गुरुङ भाषामा अष्टमीले आफूलाई कम्पनीमा कार्यरत सुपरभाइजरले बलात्कार गरेको कुरा बताएकी छिन् । आफू बलात्कृत भएको, सबैकुरा गुमेको भन्दै बुवा आमासँग माफी मागेको भिडियोमा देख्न सकिन्छ । उनी विगत २० महिना पहिले काठमाडौंमा रहेको प्यारामाउन्ट म्यानपावर प्रालिबाट अबुधावीमा रहेको अरेबियन गल्फ क्लिनिङ कम्पनीमा वैदेशिक रोजगारीका लागि आएकी थिइन ।
 
कारबाहीका लागि चौतर्फी माग
 
भिडियो सार्वजनिक भएपछि युएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाले गुरुङको परिवारले न्याय पाउनुपर्ने भन्दै आवाज उठाउन सुरु गरेका छन् ।
 
एनआरएन युएईको टोलीले पनि दूतावास पुगी दोषीलाई कारबाहीको पहल गर्न निवेदन दिएको थियो । त्यस्तै, नेपाली जनप्रगतिशील मञ्च युएईको अबुधावी क्षेत्रले दूतावास पुगेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न ज्ञापनपत्र बुझाएको छ ।
 
Published on: 29 November 2017 | Naya Patrika

Back to list

;