s

अशान्त इजरायलका १६ स्थानमा रहेका २५३ विद्यार्थी स्वदेश ल्याइयो

प्यालेस्टाइनी हमास समूहले गाजा क्षेत्रमा आक्रमण गरेपछि अशान्त इजरायलबाट बिहीबार दुई सय ५३ विद्यार्थीको उद्धार भएको छ । विभिन्न १६ स्थानबाट राजधानी तेलअभिभमा जम्मा पारिएका उनीहरूलाई नेपाल वायुसेवा निगमको आरए २३० उडानबाट स्वदेश फर्काइएको हो, जसमा दुईजना हमासको आक्रमणबाट घाइते भएका पनि छन् ।

‘करिब तीन सय नेपालीले स्वदेश फर्किने चाहना राखेर नेपाली दूतावासलाई विवरण टिपाउनुभएको छ । दुई सय ५३ आउनुभयो, बाँकीलाई व्यापारिक उडानबाट स्वदेश फर्काउने प्रयास हुन्छ । तर, अर्को उद्धार विमान पठाउने विषयमा निर्णय भइसकेको छैन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् । बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार परराष्ट्रमन्त्री एनपी साउद उद्धारको नेतृत्व गरेर इजरायल गएका थिए । उनको साथमा परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरण पनि गएका थिए ।

‘विमानमा हामीलाई परराष्ट्रमन्त्रीज्यूले स्वागत गर्नुभयो,’ उद्धार भएर आएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी गणेश साउदले टेलिफोनमा भने । त्यसो त वायुसेवा निगमका अधिकारीले चार्टर विमानमा भिआइपी उडानको अनुमति र इन्सुरेन्सको निर्णय नभएका कारण जान नमिल्ने भनेपछि परराष्ट्रमन्त्री साउद बुधबार राति इजरायल नजाने निर्णयमा पुगेका थिए । तर, परराष्ट्र अधिकारीहरूको प्रयासमा विमानको चालक दलको टिमका रूपमा मात्रै जान मिल्ने वातावरण तयार गरिएको नेपाल एयरलाइन्स स्रोतले बतायो । त्यसपछि मात्रै बिहीबार बिहान ३ः०० बजे मन्त्री साउदलाई लिएर विमान दुबई हुँदै इजरायल गएको थियो ।

परराष्ट्र प्रवक्ता लम्सालले पहिलो चरणको उद्धार सफल भएको र अब नेपाली विद्यार्थीको शव ल्याउन पहल केन्द्रित हुने बताइन् । ‘पहिलो चरणको उद्धार सफल भएको छ । उपचाररत दुईजनाको स्वास्थ्यमा सुधार हुँदै छ भने हराएका विपिन जोशीको पनि खोजीकार्यका लागि इजरायल सरकारसँग समन्वय भइरहेको छ,’ प्रवक्ता लम्सालले भनिन्, ‘अबको चरणमा ज्यान गुमाएका विद्यार्थीको शव ल्याउन पहलकदमी केन्द्रित हुनेछ ।’

शनिबार हमासको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नका लागि इजरायल गएका १० विद्यार्थीले ज्यान गुमाएका थिए । तर, उनीहरूको अहिलेसम्म पोस्टमार्टम हुन सकेको छैन । ‘इजरायल युद्धमा भएका कारण त्यहाँ रहेका कुनै पनि विदेशीको शव पोस्टमार्टम गर्ने र सम्बन्धित देशलाई बुझाउने प्रक्रिया सुरु भएको छैन । अहिले हामीले मात्रै हतार गरेर शव ल्याउन सकिँदैन,’ परराष्ट्रका एक अधिकारीले भने । इजरायल सरकारले नेपाललाई हस्तान्तरण गरेपछि शव नेपाल ल्याउने प्रक्रिया थालिने परराष्ट्रले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपालीमध्ये आफूखुसी स्वदेश फर्किन चाहनेहरूको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ । त्यसअनुसार कुनै पनि नियमित उडानबाट स्वदेश आउन चाहनेहरूको खर्च पनि सरकारले व्यहोर्नेछ । अब विशेष विमान पठाउनेभन्दा पनि नियमित उडानबाट नेपालीलाई स्वदेश फर्काउने सरकारी तयारी छ ।

परराष्ट्र प्रवक्ता लम्सालले छोटो समयमा नेपालीको उद्धार गर्न नेपाल सफल भएको बताइन् । ‘स्वदेश फर्किन चाहने बाँकी नेपालीलाई जहाज नै पठाउने विषयमा नेपाल सरकारले निर्णय लिनुपर्छ । नेपालीहरूको उद्धार सरकारको प्राथमिकतामा छ,’ लम्सालले भनिन् ।

इजरायलमा ३६ देशका १३०० नागरिकको मृत्यु, अन्य देशले पनि धमाधम स्वदेश फर्काउँदै
हमासको आक्रमणमा इजरायलमा ३६ देशका एक हजार तीन सयजनाको मृत्यु भएको छ भने ३३ घाइते भएका छन् । इजरायली राष्ट्रपति आइज्याक हरजोगले बिहीबार मिडियाहरूलाई क्षतिको विवरण जानकारी गराएका हुन् ।

आक्रमणको छैटौँ दिन इजरायलतर्फ हमासले गाजाबाट छिटपुट रकेट प्रहार गरे पनि कुनै क्षति नभएको इजरायली सेनाले जनाएको छ । गाजा क्षेत्रमा इजरायलको आक्रमण भने जारी छ । पाँच दिनमा इजरायलबाट गाजामा पाँच हजार बम हानिएको सेनाको दाबी छ ।

गाजापट्टीमा एक हजार तीन सय ५० जनाको ज्यान गएको र ६ हजार ४९ घाइते भएको प्यालेस्टाइनी निकायले बताएको छ । थप क्षति रोकिए पनि इजरायलबाट नेपालजस्तै विभिन्न मुलुकले आफ्ना नागरिक धमाधम फिर्ता लान थालेका छन् । जर्मनीले बिहीबार पठाएको विमानमा तीन सय ७२ नागरिक फर्किए । त्यस्तै, थाइल्यान्डले आफ्ना ४१ नागरिक फिर्ता लगेको छ ।

Published on: 13 October 2023 | Naya Patrika

Link

Back to list

;