s

असहाय र अतिविपन्नलाई महानगरको राहत प्याकेज

प्रकाश धौलाकोटी

दुई दिनभित्र राहत उपलब्ध हुने, चौपाया र पशुपक्षीलाई पनि आहार

अतिविपन्न र ज्यालादारी गरेर परिवार धान्ने परिवारका लागि काठमाडौं महानगरपालिकाले राहत प्याकेज ल्याएको छ । कोरोना संक्रमण फैलिनबाट रोक्न सरकारले एक सातादेखि लकडाउन गरेपछि अतिविपन्न, सडक र फुटपाथमा व्यवसाय गरेर दैनिकी चलाउने कामदार, मजदुर, पाटी, मन्दिर, मस्जिद र सार्वजनिक स्थानमा बसेकाहरूले दुई छाक खानसमेत पाएका छैनन् । यस्ता व्यक्तिलाई राहत दिने गरी महानगरले प्याकेज ल्याएको हो । 

महानगरका मेयर विद्यासुन्दर शाक्यले कसैले पनि भोकै बस्नु नपरोस् भन्ने ध्येयले राहत प्याकेज ल्याएको बताए । महानगर कार्यपालिकाको ४३औँ बैठकले सोमबार आफ्नो क्षेत्रमा बसोवास गर्ने असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिको पहिचान गरी दुई दिनभित्र राहत उपलब्ध गराउन मापदण्ड पारित गरेको छ । अभिभावक नभएका, आफ्नो आयस्रोत नभई अरूको सहयोग एवं सहारामा बस्ने जस्तै– अनाथ आश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित व्यक्ति, आम्दानीको कुनै स्थायी स्रोत नभएका र दैनिकी गुजार्न धौधौ हुने ज्यालादारीमा काम गर्नेहरूका लागि राहत प्याकेज तयार गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। 

महानगरपालिकाले त्यस्ता अतिविपन्न, असहाय, मजदुरलगायत व्यक्तिको पहिचान गरी सूची तयार गर्न पत्राचार गरिसकेको छ । ३२ वटै वडामा जनप्रतिनिधि, संघसंस्था र घरधनीका आधारमा त्यस्ता लक्षित वर्गको सूची तयार हुने महानगरपालिकाले जनाएको छ । ‘राहत भन्नेबित्तिकै धेरैको लाइन लागेको छ, यहाँ तीन रोपनी जग्गा भएका पनि भोकै भएँ भनेर राहत लिन खडा भएका छन्,’ प्रवक्ता डंगोलले नयाँ पत्रिकासँग भने, ‘यो प्याकेज सडकमा रहेका, पाटी, मस्जिद र सार्वजनिक स्थल तथा दैनिक ज्यालादारी गरेर खाने, जो लकडाउनका वेला भोकै परेका छन्, उनीहरूका लागि मात्रै हो ।’ भोकै परेकाहरू थोरै मात्र भएको अनुमान भए पनि लामै सूची तयार हुन लागेको उनले बताए । उनले भने, ‘राहत बुझ्न चाहने धेरै छन्, लक्षित वर्गसम्म कसरी पुग्ने ? भनेर एउटा मापदण्ड बनाएका छौँ, यही आधारमा दुई दिनभित्र राहत वितरण सुरु हुन्छ ।’ महानगरपालिकाले यसपटक एक साताका लागि मात्रै राहत वितरण गर्नेछ । बैठकले विदेशबाट फर्किएकाहरूको स्वास्थ्य अभिलेखीकरण तत्काल पूरा गर्ने, लकडाउन अवधिमा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, तरकारी बजार र पसलमा भीडभाड हुन नदिने र लकडाउन अवधिभर सर्वसाधारणलाई घरभित्रै बसेर कोरोना संक्रमणबाट जोगिन आग्रह गर्ने निर्णय गरेको छ । 

यस्तो छ राहत प्याकेज (एक साताका लागि) 

-परिवार संख्या एकजना : चामल चार केजी, दाल एक केजी, तेल आधा लिटर, नुन एक केजी, आलु/प्याज तीन केजी र चिउरा आधा केजी । 

-परिवार संख्या दुईदेखि चारजना : चामल १२ केजी, दाल दुई केजी, तेल आधा लिटर, नुन एक केजी, आलु/प्याज तीन केजी र चिउरा दुई केजी । 

-परिवार संख्या पाँचभन्दा बढीलाई : चामल १६ केजी, दाल तीन केजी, तेल एक लिटर, नुन एक केजी, आलु/प्याज चार केजी र चिउरा तीन केजी । 

चौपाया र पशुपक्षीलाई पनि आहार

महानगरपालिकाभित्रका सामुदायिक तथा व्यक्तिगत पशुपक्षीलाई समेत आहार उपलब्ध गराउने निर्णय गरेको छ । लकडाउनका कारण मानिसको आवागमन नहुँदा र होटेल, रेस्टुराँ सञ्चालन नहुँदा सामुदायिक कुकुर, बाँदर र छाडा चौपायाले खानेकुरा खान नपाएको गुनासो आउन थालेको छ । यही कारण महानगरले आहार खुवाउने निर्णय गरेको हो । प्रवक्ता डंगोलले भने, ‘पशुपछीको पनि बाँच्न पाउने अधिकार छ, सबै वडामार्फत सामुदायिक रूपमा रहेका पशुपछीलाई पनि आहारको व्यवस्थापन गरौँ भन्ने निर्णय भएको छ ।’ महानगरले आकस्मिक कोषबाट वडालाई विनियोजित बजेटबाट छाडा पशुचौपाया र पन्छीलाई समेत आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ ।

Published on: 01 April 2020 | Nayapatrika

Link

Back to list

;