s

यसरी भयो कालंगा सुरुङमा दुर्घटना

निसास्सिएर चारको मृत्यु

वसन्तप्रताप सिंह

निर्माणाधीन कालंगागाड जलविद्युत् आयोजनाको सुरुङमा फँसेका चारै कामदार मृत फेला परेका छन् । उनीहरू आइतबार दिउँसो ३ बजेतिर ट्र्याक्टर चढेर सुरुङभित्र पसेका थिए । सुरुङभित्र फसेकाहरूको शव २४ घण्टापछि सोमबार दिउँसो ३ बजे बाहिर निकालिएको हो । सुरुङमा फँसेर ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका ३ का कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछाम तुर्माखाँद गाउँपालिका ६ का महेन्द्र साउद र बझाङ बुंगल नगरपालिका १ का शेरसिंह धामी छन् । उनीहरू सबैको मृत्यु अक्सिजनको कमीले निसास्सिएर भएको अनुमान गरिएको छ । उनीहरू सबै ट्र्याक्टरको वरिपरि फेला परेका थिए । लगत्तै घटनास्थलमा पुगेका प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय बासिन्दाले उद्धारको प्रयास गरे पनि सफल नभएपछि सोमबार काठमाडौंबाट उद्धार टोली मगाइएको थियो । दिउँसो हेलिकप्टरमार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताए ।

यसरी भयो दुर्घटना

चाडबाडमा काम नहुने भएकाले ३५ दिनदेखि सुरुङ बन्द थियो । माथिल्लो कालंगागाडको दाडिमगाड भन्ने ठाउँमा रहेको यो सुरुङ १ हजार ६ सय मिटर लामो छ । बिदापछि दिउँसो ८ जना मजदुर ट्र्याक्टरमा सुरुङभित्र बत्ती र अक्सिजन पुर्‍याउने ग्यास पाइपको अवस्थाबारे बुझ्न भनेर छिरेका थिए । करिब ५ सय मिटरभित्र पुगेपछि दुई जना ट्र्याक्टरबाट ओर्लिएर हिँड्दै ग्यासको पाइप चेक गर्न थाले भने ट्र्याक्टर चालक दिलबहादुर थापामगर र अन्य चार जना ट्र्याक्टरमा अगाडि बढे । एक किलोमिटरभित्र पुगेपछि ट्र्याक्टरमा रहेका चारै जना ओर्लिएर लाइट र पाइपहरूको अवस्था जाँच गर्न थाले । उनीहरूलाई छाडेर ट्र्याक्टर चालक मगर पछाडि रहेका अन्य दुई जनालाई लिन फर्किन खोज्दै थिए । एकाएक उनलाई सास फेर्न गाह्रो भयो । ‘अगाडि हेर्दा त चारै जना ढलिसकेका थिए,’ मगरले भने त्यसपिछ म अरू दुई जनालाई लिएर कसरी बाहिर निस्किएँ थाहै भएन ।’ उनीहरू तीनै जना बाहिर निस्किएपछि पनि बेहोस भएको र साँझ होस आएपछि घटनाबारे अरूलाई भनेको मगरले बताए । चालक मगरलगायतको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

कालंगा जलविद्युत् आयोजनाका सञ्चालक खगेश्वर बोहराले मृत्यु हुने चारै जना सुरुङ निर्माणको काम गर्ने प्राविधिक रहेको र उनीहरूले होसियारी नअपनाएका कारण मृत्यु भएको बताए । ‘धेरै दिनदेखि काम बन्द थियो । टनेल हेर्न जाँदा प्रवेशद्वारमा रहेको अक्सिजन फ्यान चलाएछन् । बीचमा रहेको फ्यान नचलाई ट्र्याक्टरमा अगाडि गएछन्,’ उनले भने, ‘प्रवेशद्वारमा भएको फ्यानले निश्चित दूरीसम्म अक्सिजन फाल्छ । बीचको फ्यान नचलाएका कारण १ किलोमिटर अगाडि अक्सिजन पुगेन । होसियारी अपनाएको भए दुर्घटना हुने थिएन ।’ तर घटनास्थलमा रहेका डीएसपी गणेश बमले भने लामो समयसम्म बन्द रहेको र ब्रेकथ्रु नभएको टनेलमा अक्सिजनको सट्टा अन्य ग्यास बढी जम्मा भएका कारण दुर्घटना भएको बताए । उनले उद्धारकर्ताहरूलाई उद्धृत गर्दै भने, ‘उद्धारका क्रममा घटना भएको ठाउँमा सामान्य अवस्थामा भन्दा बढी नै अक्सिजन खपत भएको थियो । पहिलेदेखि काम नभएका कारण अक्सिजन नभएरै कामदारको ज्यान गएको हो ।’

Published on: 5 November 2019 | Kantipur

Link

Back to list

;