s

असफलताले रोकेन लाहुरे बन्ने रहर

शिव शर्मा

भारतीय सेनामा भर्तीका लागि एक किशोरले तीनपटक छाती नापिसकेका छन् । १८ वषर्ीय जीवन थापा मगर पाल्पा गल्धा, ४ गेजादेखि भारतीय सेनामा खुलेको भर्तीका लागि देखाउन चौथोपटक पोखरा आइपुगेका छन् । उनले रहर अझै नमरेको बताए । बीबीएसमा अध्ययनरत उनलाई पढेअनुसार आफ्नो देशमा जागिर नपाइने र भर्ती भएपछि भविष्य सुनिश्चित हुने भएकाले तीनपटक असफल हुँदासमेत रहर नमरेको बताए । उनले पटकपटक गरी लिखित परीक्षामा फालिएको बताए ।

'उमेरले साथ दिएसम्म भर्तीका लागि देखाउन छाड्ने छैन,' पोखरामा भेटिएका उनले फूर्तिलो पारामा भने, 'चौथोपटकको प्रयासमा हुन्छु कि भन्ने आशा पलाएको छ ।' तीनदेखि पोखराको रत्नचोकस्थित प्रहरी मैदानमा खुलेको भर्ती शिविरमा उनीजस्तै पटक-पटक फालिएर पनि भर्ती हुने रहर नमरेका युवाहरू देखाउन आएका छन् । गण्डकी, धौलागिरि, नारायणी र लुम्बिनी अञ्चलका विभिन्न जिल्लाबाट आएका सयौं युवाहरूको भर्तीका लागि छाती नाप्ने लर्को छ ।

हरेक वर्ष खुलाउने भर्तीका लागि युवाहरूको आकर्षणमा कुनै कमी आएको छैन । गुल्मी ठूलो लम्पेकका २० वषर्ीय धनबहादुर थापाले भर्तीका लागि देखाइएको यो चौथोपटक हो । साढे १७ वर्षदेखि २१ वर्ष उमेर नकटेका युवाले भर्तीका लागि देखाउन प्रावधानअनुरूप अब उनको एक वर्ष मात्र बाँकी छ । दौडमा पटक-पटक फालिएका उनले उमेरले साथ दिएसम्म भर्ती नहुँदासम्म देखाउन नछाड्ने बताए ।

बेरोजगार बसेका उनी कहीँ कतै खोज्दा पनि जागिर नपाउने र भर्ती पनि नभए विदेशको मुख ताक्ने योजनामा छन् । 'अझै उमेरले एक वर्ष भर्तीका लागि देखाउन पाइनेछ,' भर्तीको लाइनमा बसेका उनले भने, तोकिएको उमेर अवधिसम्म सकेसम्म भर्ती हुने प्रयासमा छु ।'भर्तीका लागि आएका उनीजस्तै अधिकांश युवाले स्वदेशमा पढेअनुसारको रोजगारी नपाउनु,  पाइहाले पनि योग्यताअनुसारको सुविधा नहुनुजस्ता समस्याले भर्तीका लागि देखाउन आएको प्रतिक्रिया दिए ।

Published on: 14 September 2013 | Kantipur

Back to list

;