s

अरुण तेस्रोको सुरुङभित्र दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

नवीन गुरुङ

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको मृत्यु भएको छ भने थप दुईजना घाइते भएका छन्।

मंगलबार राति करिब ३ बजे सुरुङभित्र ब्लास्टिङ गर्ने क्रममा माथिबाट ढुंगा खस्दा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका– ५ का २२ वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको हो। उनको उपचारका क्रममा खाँदबारी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

घाइते हुनेहरूमा भोजपुर नगरपालिका– ४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ र सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल–५ का ३८ वर्षीय मंगोल तामाङ रहेका छन्। मृतक सूर्यको टाउकोमा गम्भीर चोट लागेको थियो भने घाइते मंगोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ। त्यसैगरी भोजपुरका भीमको हातगोडा र कुममा चोट लागेको प्रहरीले जनाएको छ।

उनीहरूको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। अरुण तेस्रोमा हालसम्म तीन दर्जनभन्दा बढी मजदुरहरूको काम गर्ने क्रममा मृत्यु भइसकेको छ।

आयोजना स्थलमा नेपाली र भारतीय गरी करिब चार हजार मजदुर कार्यरत छन्। आयोजना स्थलमा २४सै घण्टा पालैपालो काम भइरहेको छ।

Published on: 1 February 2023 | Naya Patrika

Link

Back to list

;