s

अर्थतन्त्रको बाह्य क्षेत्र अझै निराशाजनक

पौने ६ खर्ब रेमिट्यान्स भित्रिँदा वस्तु आयातमै साढे ९ खर्ब बाहिरियो, शोधनान्तर घाटा अझ चुलियो

कृष्ण रिजाल

सरकारले बाह्य क्षेत्र सुधारका लागि विदेशी लगानी आकर्षण गर्ने, विदेशबाट ऋण ल्याउने तथा आयातमा कडाइ गर्ने नीति लिएको छ । तर, सरकारको नीतिविपरीत बाह्य क्षेत्रका अधिकांश सूचक नकारात्मक देखिएका हुन् । रेमिट्यान्स आय बढे पनि प्रत्यक्ष विदेशी लगानी र पुँजीगत अनुदान आप्रवाहमा आएको गिरावट तथा व्यापार घाटाको वृद्धिले देशको समग्र शोधनान्तर घाटालाई अझ बढाएको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा देशको कुल शोधनान्तर घाटा बढेर ५८ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको ८ महिनामा शोधनान्तर स्थिति २४ अर्ब ७३ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई १ खर्ब ९१ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ५४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । बाह्य क्षेत्रका अधिकांश सूचक नकारात्मक हुँदा समग्र शोधनान्तर घाटामा गएको हो । 
 
अर्थतन्त्रको बाह्य क्षेत्र कमजोर हुँदा विदेशी विनिमय सञ्चिति पनि घटेको छ । फागुन मसान्तमा १० खर्ब ६१ अर्ब ७१ करोड रुपैयाँ विदेशी विनिमय कायम भएको छ । गत असारमा कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रहेको थियो । चालू आवको ८ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.१ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
 
बढ्न सकेन विदेशी लगानी आप्रवाह
 
सरकारले विदेशी लगानी आकर्षणका लागि कानुनी तथा संरचनागत सुधार गरेपछि विदेशी लगानी आप्रवाहमा उल्लेखनीय सुधार हुन सकेको छैन । समीक्षा अवधिमा विदेशी लगानी आप्रवाह तथा पुँजीगत अनुदान अघिल्लो वर्षको तुलनामा अझ घटेको छ । समीक्षा अवधिमा पुँजीगत अनुदान ११ अर्ब ५६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत अनुदान ११ अर्ब ९४ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब २४ करोड रहेको थियो ।
 
व्यापार घाटा पौने ९ खर्ब 
 
नेपालले फागुन मसान्तसम्ममा कुल ६१ अर्ब २२ करोड रुपैयाँबराबरको निर्यात गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी भएको केन्द्रीय बैंकको तथ्यांक छ । यस अवधिमा कुल वस्तु आयात २३.८ प्रतिशतले बढेर ९ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । निर्यातको तुलनामा उच्च आयात हुँदा व्यापार घाटा झन् अकासिएको छ । समीक्षा अवधिमा नेपालले वस्तु व्यापारमा ८ खर्ब ८७ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा २४.५ प्रतिशतले बढी हो । 
 
सेवा पनि नोक्सानमै 
 
नेपालले सेवामा पनि घाटा व्यहोरेको छ । समीक्षा अवधिमा खुद सेवा आय १२ अर्ब ३० करोडले घाटामा रहेको केन्द्रीय बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २ अर्ब ४५ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई ४७ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ४३ अर्ब ४६ करोड रहेको थियो । त्यस्तै, पर्यटन व्यवसाय २१ प्रतिशतले बढेर ६१ अर्ब ४९ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च ३२ अर्ब १७ करोड रहेको छ । 
 
रेमिट्यान्स भने २३.४ प्रतिशत बढ्यो
 
अर्थतन्त्रका अधिकांश क्षेत्र ऋणात्मक भए पनि विप्रेषण आय भने उत्साहप्रद रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा नेपालमा ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । 
 
Published on: 17 April 2019 | Naya Patrika

Back to list

;