s

अर्की युवतीलाई पनि बलि दिन भारत लगिएको प्रहरी आशंका

शंकास्पद भिडियो भेटियो, युवतीको खोजी जारी

युवतीलाई बलि दिन भारत लैजान लागेको आशंकामा पक्राउ परेको गिरोहले यसअघि अर्की एक युवतीलाई पनि बेपत्ता पारेको छ । ती युवतीलाई पनि भारत लगिएको हुन सक्ने प्रहरीको आशंका छ । भारत लैजानुअघि चौधरी थरकी ती युवतीको उचाइ र शरीरको बनावट नापिरहेको भिडियो प्रहरीको फेला पारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोही भिडियो देखाएर काठमाडौंकी २२ वर्षीया मोडललाई पनि उक्त गिरोहले मोडलिङ गर्न सहमत गराएर विराटनगर हुँदै जोगबनी नाका पुर्‍याएको थियो । नयाँ पत्रिकालाई प्राप्त भिडियोमा एक अपरिचित महिलाले युवतीको उचाइ इन्ची टेपले नापिरहेको देखिन्छ । युवतीको दुवै हातको पन्जा पनि नापिएको देखिन्छ । छिर्केमिर्के कुर्ता, पहेँलो सुरुवाल र रातो स्विटरमा रहेकी युवतीको नाप लिइसकिएपछि सेतो प्लेटमा युवतीको सम्पूर्ण विवरण लेखी कसैलाई देखाइएको छ । प्रहरीका अनुसार भिडियोमा देखिएकी युवतीको खोजी भइरहेको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पहिलेकी युवतीको भिडियो देखाएर अर्कीलाई सोहीअनुसार शरीरको नाप लिइने जानकारी दिएको बताए । ‘उद्धार गरिएकी युवतीलाई उनीहरूले एक युवतीको भिडियो देखाए । भिडियोमा युवतीको उचाइ नापिएको देखिन्छ । सोहीअनुसार पीडित युवतीको नापजाँच गर्न उनीहरूले निर्देशन दिएको देखिन्छ । ती युवती को हुन्, उनको अवस्था कस्तो छ ? यस विषयमा अनुसन्धान भइरहेको छ,’ बोगटीले भने ।

बलि चढाउन भारत लैजान लागेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सोमबार विराटनगरस्थित जोगबनी नाकाबाट नवलपरासीका कृष्ण तामाङ, सप्तरीका उमेश साह, दाङकी दिलकुमारी बुढामगर, सप्तरीका उमेश माझी, मोरङका दिलीप पोद्दार, सुनसरीका रञ्जितकुमार चौधरीलाई पक्राउ गरेको थियो । धादिङकी प्रेमा तामाङ पनि सोही दिन काठमाडौंबाट पक्राउ परेकी थिइन् । प्रहरीका अनुसार उनीहरूले पीडित युवतीलाई र्‍याम्पमा हिँडाउने बहानामा काठमाडौंबाट विराटनगर हुँदै जोगबनी नाकाबाट भारत लैजान खोजेका थिए । यही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

परिसरका एसपी अशोक सिंहले झुक्याएर जोगबनी नाकाबाट भारत लैजाने क्रममा उनीहरूलाई पक्राउ गरिएको बताए । उनले भने, ‘यिनीहरूले सुरुमा काठमाडौंमै मोडलिङ गर्ने पीडित युवतीलाई काठमाडौंमै सुटिङ हुने बताए । त्यसपछि विराटनगरमा हुन्छ भने । विराटनगर पुगेपछि भारत लैजान खोजे । घटना शंकास्पद देखिएपछि हामीले उनीहरूलाई जोगबनी नाकाबाट पक्राउ गरेका हौँ ।’ पक्राउपछि प्रहरीले उनीहरूबाट कालो रङको धागो, गेरु रङको कपडा, कालो धागोले बाँधेको चाँदीको जन्तर, तान्त्रिक पूजा सामग्रीलगायत बरामद गरेको छ ।

युवती खोज्ने दलाललाई पाँच लाख पारिश्रमिक

गिरोहले युवती खोज्ने दलाललाई पाँच लाख रुपैयाँ पारिश्रमिक दिने प्रलोभन दिएको खुलेको छ । प्रहरीका अनुसार युवती खोज्ने जिम्मा धादिङ खनियावास–२ की २३ वर्षीया प्रेमा तामाङ र नवलपरासी कावासोती हुप्सेकोट–१ का २६ वर्षीय कृष्ण तामाङले पाएका थिए । कृष्ण र प्रेमा श्रीमान्–श्रीमती हुन् । सोही क्रममा प्रेमाले काठमाडौंमा मोडलिङ गरिरहेकी झापाकी २२ वर्षीया युवती फेला पारेकी थिइन् । युवतीको विवरण भने उनले श्रीमान्मार्फत गिरोहका सदस्यलाई जानकारी गराइन् । उनकै योजनामा युवतीलाई गिरोहका सदस्यले भेटेको र ५० हजार रुपैयाँ पारिश्रमिक दिने भनेका थिए ।

पीडित युवती भन्छिन्–६ फिट नपुगेपछि कुर्कुच्चामा एक इन्चको काठ राखे । मेरो घर झापा हो । म केही वर्षदेखि काठमाडौंमा मोडलिङमा क्रियाशील छु । बानेश्वरमा कार्यालय छ । मोडलिङ राम्रैसँग चलेको छ । पुसको सुरुमै मेरो भेट धादिङकी प्रेमा तामाङसँग भयो । सुटिङकै क्रममा उनीसँग भेट भएको हो । उनले मोडलिङ गर्न प्रस्ताव राखिन् । १० जनाको समूहमा र्‍याम्पमा हिँड्ने, कार्यक्रम काठमाडौंमै हुने बताएपछि कुरा गर्न मैले उनलाई अफिसमै बोलाएँ । उनकै सिफारिसमा मेरो अफिसमा तीन अपरिचित युवा आए । उनीहरूले पनि १० जनाको समूहमा र्‍याम्पमा हिँड्ने, कार्यक्रम काठमाडौंमै हुने बताए । यसका लागि उनीहरूले ५० हजार रुपैयाँ पारिश्रमिक दिने प्रस्ताव गरे ।

काठमाडौंमा चलेको मोडललाई दिने रकम भनेको दिनको १२ देखि १५ हजार रुपैयाँ हो । ५० हजार दिने भनेपछि म पनि लोभिएँ । मैले डिस्क्रिप्सन मागेँ । उनीहरूले पछि दिऔँला भने । उनीहरूले मेरो उचाइ सोधे । मैले ५ फिट ११ इन्च उचाइ भएको बताएँ । उनीहरूले ६ फिट अग्लो मोडल आवश्यक परेको भने । तर, यति उचाइलाई पनि म्यानेज गर्न सकिने भने ।

त्यसपछि उनीहरूले संकोच मान्दै तपाईं महिनावारी हुनुभएको छ कि छैन भनेर सोधे । सुटिङका लागि महिनावारी भएको हुनु हुँदैन भने । म छक्क परेँ । मैले महिनवारी अहिले नभएको बताएँ । उनीहरू गए । पछि, फोनमा कुराकानी चलिरह्यो । उनीहरूले मासु र मदिरा खाने गरे/नगरेको सोधे । मैले नखाने बताएँ । शरीरमा कुनै अप्रेसन गरे/नगरेको सोधे । मैले केही पनि नगरेको बताएँ । उनीहरूले मागेको विवरणप्रति म अचम्मित थिएँ । तर, सुटिङ काठमाडौंमै हुने भएकाले म ढुक्क थिएँ ।

केही दिनपछि फेरी उनीहरूको फोन आयो । सुटिङ विराटनगर सरेको बताए । अब भने मलाई शंका लाग्यो । घटनाबारे दाइलाई भने । सल्लाहअनुसार प्रहरीकहाँ पुग्यौँ । विवरण बतायौँ । तर, उनीहरूसँग कुराकानी निरन्तर चलिरहेको थियो । विराटनगरमा ४५ मिनेटको मात्रै सुटिङ भनेपछि म जान तयार भएँ । गत सोमबार बिहान १०:३० बजे विराटनगर पुगेँ । तर, करिब एक घन्टाको प्रतीक्षापछि उनीहरूले मलाई भ्यानमा राखेर ४५ मिनेट कुदाए । भ्यान एउटा कृष्ण मन्दिरनजिकैको चिया पसलमा रोकियो । उनीहरू चिया खान लागे । मलाई त्यहाँ डेढ घन्टा कुराए । अनि नजिकैको धर्मशालामा राति बस्न कोठा बुक गरेको बताए । म कोठामा पुगेर फ्रेस भएर बस्दै थिएँ । फेरि मेरो नाप लिनुपर्छ भन्न थाले । मेरो नाप लिने काम सुरु भयो । जति नापे पनि ६ फिट पुगेन । उनीहरू जसरी पनि ६ फिट अग्ली केटी नै चाहिन्छ भन्दै थिए । उचाइ बढाउन उनीहरूले मेरो कुर्कुच्चामा कागज हाल्न थाले । तर, पनि उचाइ पुगेन । केही सीप नलागेपछि काठको टुक्रा कुर्कुच्चामा राखे । अनि नाप लिए । तैपनि ६ फिट पुगेन । यही क्रममा एक युवा आएर केही कपडा किन्न बोर्डरपारि जानुपर्छ भन्न लागे । अब भने मलाई डर लाग्यो । मसँग अरू विकल्प पनि थिएन । उनीहरूले भनेअनुसार म गाडीमा बसेँ । गाडी जोगबनीतर्फ हुइँकियो । बोर्डर क्रस गर्नै लाग्दा प्रहरीको अपरेसन भयो ।

 Published on: 27 December 2019 | Naya Patrika

Link

Back to list

;