s

अर्धदक्ष कामदारका लागि सुरक्षित गन्तव्य बन्दैछ जापान

काठमाडौं : जापानमा श्रमशक्तिको अभाव छ। वृद्ध नागरिकको बढ्दो जनसंख्या र न्यून जन्मदर जापानको मुख्य समस्या हुन्। सन् २०२३ को जुलाइमा जापानका सबै ४७ प्रिफेक्चर (राज्य) मा जनसंख्या घटेको तथ्य बाहिर आएको छ।

१५ करोड जनसंख्या रहेको जापानमा २० प्रतिशत परिवारमा वृद्धवृद्धा मात्रै छन्। ३० प्रतिशत परिवारमा एकजना मात्र बच्चा छ। ३० प्रतिशत एक्लै बस्छन्। ८.५ प्रतिशत परिवारमा बाबुआमा र छोराछोरी बस्छन् अर्थात् यो संयुक्त परिवार हो। श्रमशक्ति घट्दा बुढ्यौली लागेकालाई हेरचाह गर्नेहरू पनि घटेका छन्। जसकारण जापानमा केयरगिभरको माग बढेको छ।

सोही परिवेशमा जापानबाट नेपाल आएको एक टोलीसँग अन्नपूर्ण पोस्ट्ले कुराकानी गरेको छ। जापानमा जनशक्तिको अभाव र बढ्दो वृद्ध जनसंख्याबारे आयोजित छलफलमा नेपालीका लागि अवसरका विषय पनि समावेश थियो। उनीहरूले नेपाली अद्र्धदक्ष जनशक्तिका लागि जापानमा राम्रो अवसर रहेको जानकारी दिँदै नेपालीहरूले पनि आर्थिक लाभ लिन सक्ने सम्भावनाबारे जानकारी गराए। नेपालमा मिहिनेती तथा इमान्दार मानवस्रोत उपलब्ध रहेको विषयमा जानकार रहेको बताउँदै उनीहरूले जापानमा नेपाली जनशक्तिको माग बढेको पनि जिकिर गरे।

श्रमशक्ति अभावलाई सम्बोधन गर्न जापान सरकारले अर्धदक्ष कामदार (एसएसडब्लू) नामको योजना ल्याएको छ। योजनाअनुसार वार्षिक करिब ६० हजार विदेशी श्रमशक्तिलाई जापान प्रवेशको अवसर दिइनेछ। एसएसडब्लूमार्फत जापान जानेले ५ वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन पाउनेछन्।

चार वर्षअघि ल्याइएको योजनाअनुसार एसएसडब्लूमा हालसम्म भियतनामबाट सर्वाधिक साढे ९५ हजार, इन्डोनेसियाबाट २४ हजार, फिलिपिन्सबाट १७ हजार, चीनबाट ११ हजार, म्यानमारबाट साढे ७ हजार तथा कम्बोडिया, थाइल्यान्ड, नेपाल र अन्य मुलुकबाट क्रमशः ३४ सय, ३३ सय, ३२ सय र २५ सय कामदार जापान पुगेका छन्।

एसएसडब्लू योजनाअन्तर्गत जापानमा भिसाका लागि आवेदन दिन जापानी भाषा (एन ४ स्तर) परीक्षा उत्तीर्ण गर्नुपर्छ। नेपालका कुनै पनि मान्यता प्राप्त संस्थामा तीन महिनाको भाषा कक्षा पूरा गरेपछि परीक्षा दिन सकिन्छ। जेएफटी वा जेएलपीटी एन ४ को चाँज दिएपछि जापान जान योग्य भइन्छ।

योजनाअनुसार १४ भिन्न कार्यक्षेत्रमा आवेदन दिन पाइन्छ जसमध्ये केयरगिभर एक हो। आवेदन प्रक्रिया निःशुल्क हुन्छ। रोजगारदाता कम्पनीले हवाई टिकट पनि निःशुल्क उपलब्ध गराउनेछ। एकपटक छनोट भएपछि कामदारले प्रतिदिन ८ घण्टा काम गर्न पाउनेछन्। कामदारलाई जापानी कानुनअनुसार बिमा सुविधा तथा न्यूनतम पारिश्रमिक उपलब्ध हुनेछ।

*श्रमशक्ति घट्दा बुढ्यौली लागेकालाई हेरचाह गर्नेहरू पनि घटेपछि जापानमा केयरगिभरको माग बढेको छ।
*श्रमशक्ति अभावलाई सम्बोधन गर्न जापान सरकारले अर्धदक्ष कामदार (एसएसडब्लू) नामको योजना ल्याएको छ।
*एसएसडब्लू अन्तर्गत जापानमा भिसाका लागि आवेदन दिन जापानी भाषा (एन ४ स्तर) परीक्षा उत्ताीर्ण गर्नुपर्छ।
*एसएसडब्लूमार्फत जापान जानेले ५ वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन पाउँछन्।

एसएसडब्लुअन्तर्गत जापानमा प्रति महिना २ लाख रुपैयाँसम्म कमाउन सकिन्छ। ६० वर्षभन्दा कम उमेरका नेपालीले यो योजनाअन्तगर्तत आवेदन दिन पाउँछन्। रोजगारदाताले न्यूनतम पाँच वर्षको सम्झौता प्रस्ताव गर्नेछन्। भिसा नवीकरण प्रत्येक वर्ष गर्नुपर्छ। ५ वर्ष बितेपछि स्थायी बसोबासका लागि प्रक्रिया सुरु गर्न मिल्नेछ। तर, नेपाल सरकारले प्रक्रियामा सहजीकरण गर्न सकेको छैन। निर्देशिका नबन्दा भाषा परीक्षा सञ्चालन हुन सकेको छैन। फलस्वरूप, नेपालीभन्दा कम रुचाइएका देशका नागरिकहरू केयरगिभरका रूपमा काम गरिरहेका छन्।

हालसम्म जापान जानेहरू विद्यार्थीका रूपमा मात्र गइरहेका छन्। तर, त्यहाँ गैरकानुनी रूपमा काम गरिरहेका छन्। यसले नेपालीलाई धेरै समस्या निम्त्याउने गरेको छ। एसएसडब्लूको योजनाअनुसार मलेसिया, खाडी तथा मध्यपूर्व गइरहेका अर्धदक्ष नेपालीका लागि रोजगारीको नयाँ ढोका खुले पनि लाभ लिन सकिरहेको छैन। छलफलका क्रममा अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सनत न्यौपानेले नेपालीका लागि जापान उत्तम रोजगारीको गन्तव्य रहेको बताए। नेपालीहरूको जापानी विज्ञ टोलीका माझ इमानदारिता, लगनशीलताको चर्चा गरे। जापानी प्रतिनिधिमण्डलका सदस्यहरूले राखेका धारणा यहाँ प्रस्तुत छ।

जापानमा केयरगिभरको माग उच्च छ

सिनिची होता,सल्लाहकार, ब्लू–स्काई जापान कर्पोरेसन लि.

एसियाली संस्कृतिअनुसार आफ्नो परिवारका सदस्यको हेरचाहमा धेरै ध्यान दिइन्छ। आफूभन्दा ठूलाको सम्मान गर्नु एसियालीको धर्म र कर्म नै हो। तर, दुर्भाग्यवस जापानमा भने परिवारको हेरचाह गर्नेको संख्या घटिरहेको छ। ५० वर्ष अघिसम्म बुबाआमा काममा जाने र हजुरबुबा हजुरआमा नाति नातिनीको ख्याल राख्नुहुन्थ्यो।

दुर्भाग्यवश, संयुक्त परिवारको जापानी परम्परा अब समाप्त भएको छ। सक्रिय काम गर्ने जनसंख्या कम हुँदै गइरहेको छ। जापानमा वृद्धाश्रमको संख्या बढेको छ। वृद्धवृद्धाका लागि विशेष बिमा नीति छ। तर, उहाँहरूलाई छोराछोरीले हेरचाह गर्ने समय छैन। सामाजिक सुरक्षा जापानको ठूलो चिन्ताको विषय हो। यसर्थ जापानमा वृद्धवृद्धाको स्याहार गर्ने (केयरगिभर) जनशक्तिको उच्च माग छ।

आर्थिक स्थिति उकास्न प्रतिबद्ध छौं
गो उएहारा,प्रमुख कार्यकारी अधिकृत, ब्लू–स्काई जापान कर्पोरेसन लि.

हाम्रो कम्पनीमार्फत् २०० जना नेपालीलाई रोजगारीको अवसर प्रदान गरेका छौं। हामी नेपाललाई कार्यक्षेत्र बनाएका कम्पनी हौं। नेपाली कामदारलाई जापान लगेर उहाँहरूलाई प्लेसमेन्ट गराउँछौं। र, हामी थप नेपालीहरूलाई सुलभ ढंगले रोजगारीको अवसर प्रदान गर्न आतुर छौं। केयरगिभरको रूपमा काम गर्न संसारभरबाट मानिसहरू जापान आएका छन्। उहाँहरू केयर होम्समा काम गर्नुहुन्छ।

संसारभरका मान्छेमध्ये पनि हामी नेपालीमा केन्द्रित छौं। बिचौलियाको उपस्थितिबिना नेपालीहरूलाई कसरी सुरक्षित रूपमा जापान लैजान सकिन्छ भन्नेमा हामी केन्द्रित छौं। हाम्रो प्रतिबद्धता उहाँहरूको आर्थिक स्थिति सुदृढ गर्ने र जापानमा उहाँहरूको बसाइ सुरक्षित एवं सुनिश्चित गर्ने हो।

भाषा बोल्ने सीपबाट प्रभावित भएँ

अकिको वाकाता, प्रमुख (कर्पोरेट हेडक्वार्टर रिक्रुटर), कोनोइकेकाइ मेकिल कर्पोरेसन

हामी अस्पताल र केयर होम्स सञ्चालन गर्दै आएका छौं। कम्पनीमा करिब ८ सय जना कार्यरत हुनुहुन्छ। यो मेरो पहिलो नेपाल भ्रमण हो। नेपालीहरूको जापानी भाषा बोल्ने सिप र क्षमताबाट म साँच्चै प्रभावित भएँ।

मेरो अनुमानअनुसार नेपालीहरूमा केयरगिभरको उच्चकोटीको क्षमता छ। नर्सिङ विशेषज्ञता भएकालाई जापानको जीवनमा ‘एडजस्ट’ गर्न धेरै सजिलो हुन्छ।

नेपालीलाई सिकाउन असहज हुने छैन
मिनोरु फुजिसावा,ट्रेनर (केयरगिभर विज्ञ), सेईहोउकाई मेडिकल कर्पोरेसन

मेरो जिम्मेवारी तालिम दिनु हो। हाम्रो अनुभवमा नेपालीहरूमा जापानीमा झैं कम्युनिकेसन सीप रहेछ। यतिराम्रो सीप भएकालाई सिकाउन असहज हुने छैन।

एकचोटी उचित तालिम प्राप्त गरेपछि नेपालीको क्षमता बढ्नेछ। नेपालीमा रहेको अन्तरनिहित सीप र तालिमबाट प्राप्त हुने थप सिपबाट केयरगिभरको रूपमा नेपालीले उत्कृष्ट भूमिका निर्वाह गर्नेमा विश्वस्त छु।

भाषाको ज्ञान भएकाले नेपालीलाई सहज छ

नाओहिरो बेप्पु, महाप्रबन्धक (योजना महाशाखा), सेईहोउकाई मेडिकल कर्पोरेसन

हामी जापानका २ प्रिफेक्चर (राज्य) मा नर्सिङ होम र अस्पतालहरू सञ्चालन गर्दै आएका छौं। हाम्रा १ सयभन्दा बढी शाखा छन्। १० वर्षदेखि हामीले ५ देशका कामदारलाई रोजगारी दिँदै आएका छौं।​​​​​​​

नेपालीलाई पनि रोजगारी दिन थालेका छौं। मेरो अनुभवमा अन्य देशको तुलनामा नेपालीको जापानी भाषा उच्चारण राम्रो छ। कम्युनिकेसनमा अब्बल हुनु वृद्धवृद्धाको हेरचाहमा प्रभावकारी मानिन्छ। एसएसडब्लूबाट जापान जाँदा खर्च पनि कम हुने, जापानमा राम्रो कमाइ हुने भएकाले नेपालीहरूले फाइदा लिने अवसर छ।

धेरै केयरगिभरको आवश्यकता छ
योसियुकी मासुदा,महाप्रबन्ध (मानव संशासन महाशाखा), एइसेइकाइ मेडिकल कर्पोरेसन

हामी स्वास्थ्य सेवा प्रदायक संस्था सञ्चालन गर्छौं। ३ वटा वृद्धवृद्धाका लागि केयर होम्स र २ वटा घरैमा गएर हेरविचार गर्ने क्लिनिक छ। यसबाहेक अस्पताल पनि चलाइरहेका छौं।​​​​​​​​​​​​​​

हामीले सामना गर्ने चुनौतीमध्ये एउटा यो हो कि वृद्धहरूले अक्सर विशेष स्वास्थ्य संस्थामा आकस्मिक सेवा खोज्नुहुन्छ। र, त्यसपछि थप उपचारको लागि अन्य ठाउँमा जानुपर्छ। आकस्मिक हेरचाहको लागि प्रयोग गरेको भन्दा अझ राम्रो सुविधा पाउने अस्पतालमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। डाक्टरहरूले घरमा बस्नभन्दा केयर होम्समा बस्न सिफारिस गर्छन्। ती केयर होम्समा केयरगिभरको आवश्यकता रहन्छ।

Published on: 7 August 2023 | Annapurna Post

Link

Back to list

;