s

अरबबाट ६ सय कामदारको क्षतिपूर्ति आएन

अझै ५० शव आउन बाँकी
साउदी अरब र छिमेकी मुलुकमा ज्यान गुमाएका करिब ६ सय नेपाली कामदारका परिवार 'ब्लडमनी' -क्षतिपूर्ति) पाउनबाट वञ्चित छन् ।

साउदीस्थित नेपाली दूतावासको कार्यक्षेत्रभित्र पर्ने साउदी अरब, ओमन, बहराइन र यमनमा हत्या भएका, दुर्घटना र कार्यस्थलमा परी ज्यान गुमाएका कामदारका परिवारले ब्लडमनी नपाएका हुन् ।


'ब्लडमनी बिमा कम्पनीले दिनेबाहेकको क्षतिपूर्ति हो, जुन त्यहाँको कानुनअनुसार हो,' साउदीका लागि कार्यवाहक नेपाली राजदूत पारस घिमिरेले कान्तिपुरसँग भने, 'तर त्यस्तो रकम यति नै भन्ने हुँदैन ।'

सहमतिमा पीडकले उपलब्ध गराउने भएकाले पीडितका तर्फबाट सकेसम्म धेरै मेहनत गर्नुपर्छ । त्यहाँको कानुनमा हत्यामा परेका, सडक दुर्घटना र कार्यस्थल समयमा वा काम गर्दैगर्दा मृत्यु भएको खण्डमा 'ब्लडमनी' पाउने व्यवस्था छ ।

दस वर्षअघि मृत्यु भएकाका परिवारले समेत अझै रकम पाएका छैनन् । 'सजिलै यो रकम पाइँदैन, निरन्तर रोजगारदातासँग वार्ता, बार्गेनिङ र अदालतमा मुद्दा लड्नुपर्छ,' घिमिरेले भने, 'त्यसका लागि आवश्यक स्रोत उपलब्ध हुन सकेको छैन ।'

पीडित परिवारलाई आवश्यक खर्च जुटाइदिन आग्रह गर्दै दूतावासले नेपाल सरकारलाई पत्राचार गरेको जानकारी पनि उनले दिए । हालैमात्र ८८ जना मृतकको मुद्दा लड्न दूतावासले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डसँग ८८ लाख रुपैयाँ माग गरेको छ ।

तिनमा ७१ जना सडक दुर्घटना, १२ जना कार्यस्थल दुर्घटना र ५ जनाको हत्या भएको छ । हत्या भएकामा खड्गबहादुर खत्री, पवित्रा विक, राजेन्द्र बिष्ट, रुद्रप्रसाद घिमिरे, चन्खु धामी र मोहन कपुर छन् । साउदीमा वाषिर्क ३ सयभन्दा बढी नेपालीको मृत्यु हुने गरेको छ । जसमा अत्यधिक सडक दुर्घटना छन् ।

यस्तै साउदीबाट नेपाल पठाउन नसकिएका शव ५० वटा रहेको जानकारी पनि उनले दिए । '५० वटा शव अलपत्र छन्,' उनले भने । थपिने क्रम जारी अझै छ ।

'फागुनमा मृत्यु भएका मेरा पतिको शवको अझै आएको छैन,' तनहुँ मनपाङ्ग-६ की मन्धरी थापा मगरले कान्तिपुरसँग भनिन्, 'छिटो पठाइदिन सम्बन्धित निकायलाई बारम्बार आग्रह गरिसके पनि ध्यानाकर्षण भएको छैन ।'

उनका ४० वर्षीय पति हरिबहादुरको फागुन ७ गते काम गर्दैगर्दा ट्यांकरले किचेर मृत्यु भएको थियो । उनका दुई सन्तान छन् । 'शव मात्रै आएर भएन,' उनले भनिन्, 'क्षतिपूर्ति पनि आउनुपर्‍यो ।'

Published on: 16 May 2011 | Kantipur

Back to list

;