s

अरब देशमा रोकिएन महिला बेचबिखान, अलपत्र दर्जीको एनआरएनद्वारा उद्दार

लक्ष्मण खनाल
 
वैदेशिक रोजगारीका लागि दलालमार्फत अवैधानिक रूपले युएई हुँदै कुवेत पुर्याइएकी नेपाली महिला रेनुका दर्जीलाई एनआरएन युएईको सक्रियतामा उद्दार गरी नेपाल फर्काएको छ।
 
झापा विर्तामोड गोला घर भएकी २४ वर्षीय दर्जी दलालको प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि भिजिट भिषामा युएई आइपुगेकी थिइन् । उनलाई निरु विष्ट नाम गरेकी महिलाले फकाएर काठमाडौं पुर्याएकी थिइन् भने काठमाडौँमा डम्बर राई भन्ने व्यक्तिले पासपोर्ट बनाई वीरगन्ज हुँदै भारतीय बाटोबाट युएई ल्याएका थिए ।
 
राम्रो कमाइ हुने दलालको प्रलोभनमा परेर आफू युएई आइपुगेको उनले बताइन् । युएईको भिजिट भिषामा आएकी उनलाई फेरि कुवेत पुर्याइएको थियो । कुबेत एअरपोर्टमा मालिक लिन नआएपछि उनी ६ दिनसम्म बेवारिसे बसेकी थिइन् । ६ दिनपछि एकजना भारतीय नागरिक आएर लगेको र त्यसपछि लगातार शारीरिक यातना दिएको उनले बताइन् ।
 
विभिन्न यातना सहेकी उनलाई दलालको कुरा नमानेपछि पुनः युएई फर्काइएको थियो । युएईको दुबई विमानस्थलमा अलपत्र भेटिएकी उनलाई त्यहीँ कार्यरत नेपाली रचना तामाङले भेटेपछि उद्धारको पहल भएको थियो । तामाङले सुचना दिएपछि एनआरएन युएईका महिला संयोजक मोती राई, उपाध्यक्षद्वय कल्पना राई र नेत्र शर्माले सोमबार दुबई विमानस्थल पुगेर उनको उद्धार गरेका थिए ।
 
नेपाल फर्काउन टिकटलगायतका आर्थिक सहयोग एनआरएन युएईले गरेको अध्यक्ष रमेश श्रेष्ठले बताए । कुवेतमा अन्य नेपाली महिला पनि अलपत्र अवस्थामा यातना पाएर बसिरहेको पीडित दर्जीले बताइन् ।
 
अवैधानिक रूपमा भारतको बाटो भएर वा नक्कली कागजात बनाएर दलालमार्फत युएई आउने क्रम बढ्दो छ भने कुवेत पुर्याउने क्रम पनि बढिरहेको छ । सरकारले युएईका लागि भिजिट भिषा र घरेलु कामदारको रूपमा युएई आउन रोकेपछि दलालहरूले यस्तै बाटो प्रयोग गर्ने गरेका छन् ।
 
Published on: 15 November 2017 | Naya Patrika

Back to list

;