s

अपूरो जिन्दगीका कथाहरू

होम कार्की

कतारको हमाद अस्पतालबाट म ट्याक्सीमा फर्किइरहेको थिएँ । नेपालीले चलाइरहेको गाडीमा संयोगले तारादेवीले गाएको गीत बज्यो, 'सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन ।' साँच्चै हो, जीवन सोचेजस्तो हुन्न । यदि हुन्थ्यो भने मैले भर्खरै भेटेर फर्केका नेपालीहरू यो अस्पतालमा कोमामा लडिरहेका हुने थिएनन् । उज्ज्वल भविष्यको कल्पना बोकेर कतार आइपुगेका यी नेपाली युवाहरू विभिन्न दुर्घटनामा परेर कोमामा छन् । कोही कुरा सुन्न र बुभmन सक्छन्, बोल्न सक्दैनन् । कोही त बुझ्न पनि सक्दैनन् । कसैको नाम ठेगाना खुलेको छैन भने कसैको हालत उनका परिवारका मानिसलाई थाहा छैन । कोही त परिवारले मृत भनेर दुतावासलाई शव पठाइदिन चिठी पठाएपछि जीवितै छन् भनेर फेला परेका पनि छन् । 

केही महिनाअघिदेखि कतारका नेपालीका विषयमा रिपोर्टिङ थालेदेखि नै यहाँका ठूला र सुविधा सम्पन्न अस्पतालमा पुग्ने इच्छा थियो, यहाँ राखिएका नेपाली बारे सुनेर । अस्पताल पुग्दा घ्याल्चोक गोरखाका हुमबहादुर गुरुङ 'मेडिकल सिटी'मा भेटिए । एउटा कतारीको घरमा भान्सेको काम गर्न आएका उनी अहिले आपmना साहु -कपिल) लाई अस्पतालमा कुर्ने काम गर्छन् । साहु प्यारालाइसिस भएपछि ६ वर्षदेखि हुमबहादुरको दैनिकी अस्पताल आउने, दिनभरि साहु छेउ बस्ने र राति फर्किने भएको छ । यिनै हुमबहादुरले बताए, 'अस्पतालको यही तलामा मात्रै ६ जना नेपाली कोमामा छन् ।' यो अस्पतालभरि एक दर्जनजति नेपाली कोमामा रहेको उनको अनुमान छ । 

मैले भेटेका मध्ये, पहिलो हुन् गोरखा रुम्चाका कालु गुरुङ । कालु अरूले बोलेको सबै बुझ्न सक्छन् । तर, आफू आवाज निकाल्न सक्तैनन् । हुमबहादुरले नमस्कार भन्दा कालु आँखा झिम्काउँछन् । 'घर जाने कुरा निकाल्दा आँखाबाट आँसु निकाल्छन् । मुहार उज्यालो हुन्छ,' हुमबहादुरले भने । कतार आइपुगेको चार महिनामै अगस्ट २०११ मा दुर्घटनामा परेर कालु कोमामा पुगे । र, उनीसँगै उनको भविष्यको रंगीन सपना पनि कोमामा पुग्यो । कालुका दुईजना आफन्त कतारमा छन्, उनीहरू बेलाबेला भेट्न आइरहन्छन् । उनलाई पाइपबाट खाना खुवाएर राखिएको छ । उनी कहिले निको हुन्छन्, डाक्टरलाई थाहा छैन । खाली यत्ति भन्छन्, 'दीर्घकालीन हेरविचार गर्नुपर्छ ।'

कालुकै कोठासँग जोडिएको अर्को कोठामा एक नेपाली छन् । यिनको नाम थर, ठेगाना केही खुलेको छैन । यिनको हातमा एउटा ट्याग 

झुन्ड्याइएको छ, जसमा 'बहादुर' लेखिएको छ । यिनलाई आजसम्म कोही भेट्न आएको छैन र कसैलाई यिनको परिचय थाहा छैन । कुन कम्पनीमा काम गर्थे वा कसरी कोमामा पुगे भन्ने पनि कसैलाई थाहा छैन । बिरामीले लगाउने छिर्केमिर्के गाउन लगाएर आँखा हेरिरहने उनी बोल्न सक्दैनन् । सिलिङतिर टोलाइरहने यिनको मनभित्र गुम्सिएको कथा कसैलाई थाहा छैन ।

छेउको कोठा नं ३०२ को ३ नम्बर बेडमा छन्, डोलिया अधिकारी । उनको छेउमा 

सङ्खा-२, रुकुमका २४ वषर्ीय मनोज केसी छन् । दुवैको टाउकोमाथि टीभी झुन्डाइएको छ । टीभीमा फुटबल लाइभ चलिरहेको छ । तर, यी दुवै युवालाई त्यसको मतलब छैन । डोलियाको कञ्चटको दुवै भागमा गम्भीर चोट लागेको देखिन्छ भने मनोजको कतै चोटपटक देखिँदैन । मनोजलाई हेरेर मानिसहरू उनी बिरामी हुन् र भन्ने प्रश्न गर्छन् ? भर्खरको मोटो कल्कालाउँदो शरीर देखिने मनोजको यस्तो हाल देख्नेबित्तिकै जो कोहीको आँखाबाट आँसु आउँछ । उनी २१ अपि्रल २०१० बाट कोमामा छन् । कतारस्थित नेपाली दूतावासलाई 'शव पठाइदिनु' भन्दै परराष्ट्र मन्त्रालयबाट केही समयअगाडि एउटा पत्र आएपछि सिन्धुलीका डोलिया अधिकारीको पत्तो लागेको थियो । सिर्थौली—१, सिन्धुलीका डोलियाको परिवारले परराष्ट्र मन्त्रालयमा दिएको निवेदनको आधारमा त्यो पत्र दूतावास आएको थियो । दूतावासले खोज्दै जाँदा कतारको सरकारी अस्पताल हमादमा 'डोलबहादुर' जीवित भेटिए । 

११ नोभेम्बर, २००७ मा काम गर्दा गर्दै कार्यस्थलमा दुर्घटनामा परेका डोलियालाई 'भेजिटेबल' खुवाएर अस्पतालले उच्चस्तरीय उपचार गरिरहेको छ । दूतावासले परिवारलाई 'जिउँदै' रहेको जानकारी पठाएपछि परिवारसँग हिजोआज दोहोरो पत्राचार र सम्पर्क छैन । हमादको मेडिकल सिटी तेस्रो तलामा राखिएको अधिकारीलाई स्वदेश लैजान बेला बेला अस्पतालबाट सूचना आउने गरेको छ । हुमबहादुरले भने बिरामीलाई घर पठाउने व्यवस्था मिलाउन डोलियाको परिवारले बारम्बार म्यानपावर धाएको खबर पाएका छन् । दूतावासलाई जानकारी भएअनुसार पीडितलाई तल्लो अदालतले एक लाख ५० हजार रियाल क्षतिपूर्ति दिनू भनेर आदेश गरेको छ । तर, त्यो क्षतिपूर्ति कम्पनीले दिएको छैन ।

महेशपुर-१ झापाका श्रीबहादुर नेम्वाङ ४ सेप्टेम्बर २००८ मा दुर्घटनामा परेर कोमामा गएका हुन् । दूतावासको रेकर्डमा उनका आफन्त कोही छैनन् । नजिकको एकजना दिदी झापामै बस्छिन् । दिदीको तर्फबाट मात्रै क्षतिपूर्तिका लागि निवेदन दिए दूतावासले क्षतिपूर्तिका लागि लडिदिने योजना बनाएको छ । 'हामीले कैयौं प्रयास गरियो । केही भए पनि क्षतिपूर्ति पाउँथ्यो,' द्वितीय सचिव जयबहादुर राई भन्छन्, 'परिवारको सदस्य भेट्टाउन सकिएन ।' 

नेम्वाङकै छेउमा छन्, झापाका विष्णु सुवेदी । उनी पनि यहाँ आएको दुई वर्षभन्दा बढी नाघिसकेको छ । कतारको साउदी जाने सडकमा गाडी दुर्घटनामा परेर उनी कोमामा गएका हुन् । कोही भेट्न आउने 'झापाली' हो भन्यो भने उनी एकदम खुसी हुन्छन् । 'नत्र मुख छोप्छन्,' हुमबहादुरले भने, 'कुरा सबै बुभmछन् ।' 

२ जनवरी २००९ देखि कोमामा रहेका गोर्खा मान्जु गाविसका बिर्ग गुरुङ हमाद अस्पतालको छैटौं तलाको ६८२ कोठामा छन् । उनी पनि सडक दुर्घटनामै परेर कोमामा गएका हुन् । अदालतले उनले पाउने क्षतिपूर्ति सुनाइसकेको छ । त्यही अस्पतालमा रामपुकार ८ जनवरी २०१० बाट कोमामा छन् । ढिकुरपोखरी-४, कास्कीका कुलप्रसाद अधिकारीलाई कोमामा राखिएको लामो समय बित्यो । उनलाई सडकमा गाडीले हानेको थियो । अधिकारीका एक छोरी र श्रीमती छन् । कम्पनीको मन्दुकले आफन्तलाई झुक्काइदिँदा कुलप्रसादले पाएको क्षतिपूर्ति पनि गुम्यो । 'कुलप्रसादले ७ लाख रियाल पाउने गरी अदालतले फैसला गरेको रहेछ । त्यसका लागि तोकिएको मितिमा आफन्तलाई मन्दुकले जानकारी नदिँदा गुम्न पुग्यो,' राईले भने, 'दूतावास हुँदै गएको भए हुन्थ्यो । कम्पनीले सिधै आफन्त लिएर दूतावासलाई बाइपास गर्दा पाइसकेको रकम गुम्यो ।' 

ढिकुरपोखरीकै तिलप्रसाद अधिकारी रमिला अस्पतालको भवन नम्बर ३० स्थित ३ तलाको ३०१ कोठामा उपचाररत छन् । नयाँ मान्छे आएर हेर्दा किन ल्याएको होला भन्ने स्थिति छ । २०११ डिसेम्बर ३१ तारिख शनिबार साहनियामा गाडी लिएर जाँदै गर्दा अगाडि ऊँटलाई घाँस र पानी बोकेको ट्याङ्कीलाई उनले ठक्कर दिएका थिए । 'सुरुमा त्यस्तो गम्भीर देखिएको थिएन । डाक्टरहरूले ठीक हुन्छ भन्थे । त्यसपछि होस कहिल्यै आएन,' तिलप्रसादका भाइ डिल्लीराम भन्छन्, 'अहिले आफन्तलाई चिन्नुहुन्छ । खाली रुनुहुन्छ ।' 

१४ वर्षदेखि कतारीको घरमा काम गर्दै आएका ३५ वषर्ीय तिलप्रसादलाई नेपालको हस्पिटल बुकिङ गरेको खण्डमा मेडिकल स्कटिङमा पठाउने अस्पतालको तयारी थियो । 'कुर्सीमा बस्ने र तरल पदार्थ खाने भइदिए लान्थें,' डिल्लीरामले भने, 'यही स्थितिमा लान हामी असमर्थ छौं ।' तिलप्रसादका मालिक शेखका सुरक्षा गार्ड हुन् । उसले तिलप्रसादको मासिक तलब एक हजार रियाल नियमित दिइरहेका छन् । त्यसैबाट ५ र ३ वर्षका छोरी र परिवारको गुजारा चलिरहेको छ । डिल्लीराम प्रायः दिन बिराएर तिलप्रसादलाई भेट्न जान्छन् । 'जान्छु, हात समाएर बस्छु,' उनले भने, 'धन्य यहाँका नर्स र डाक्टरले निकै राम्रोसँग हेरविचार गरेर राखेका छन् ।' डिल्लीराम र तिलप्रसाद जम्मा सात भाइ छन्, जसमध्ये चारजना कतारमै छन् । 

८ अपि्रल २०१२ देखि गिरिप्रसाद विक सडक दुर्घटनामा परेर कोमामा छन् । दाङका हरिप्रसाद बस्नेत पनि कोमामा छन् । उनीहरूका बारेमा पूर्ण सूचना प्राप्त गर्न सकिएन । 

आ-आफ्नो भविष्य बोकेर यता आउनेहरू सबै भाग्यमानी नहुने रहेछन् । हुमबहादुरलाई पनि त्यस्तै लाग्छ । 'मान्छे के सोचेर आउँछन् । भइदिन्छ के,' हमादबाट फर्किने बेला उनले भने, 'यस्तो घटना सुन्ने परिवारलाई कति आघात परेको होला ? कतिलाई थाहा होला/नहोला ?' यस्ता कामदारको विषयमा यहाँ कसले आवाज उठाइदिने हो ? नियमित अनुगमन कसले गरिदिने हो ? यसको ठोस जवाफ दिने कतारमा कोही छैन । भन्नेहरू त भन्छन्, 'यो सबैको जिम्मेवारी नेपाली दूतावासले लिनुपर्छ ।' तर, हुमबहादुरलाई दूतावासले त्यस्तो अग्रसरता लिएको थाहा छैन । ६ वर्षदेखि अस्पतालमा नेपालीको बिजोग देखेका हुमबहादुरलाई तारादेवीको गीतजस्तो लाग्छ, 'सोचेजस्तो हुन्न जीवन ।'

 

Published on: 2 February 2013 | Kantipur

Back to list

;