s

अफगानिस्तानमा बन्धक बनाइएकाहरू बिरामी

अफगानिस्तानमा झन्डै डेढ महिनादेखि बन्धक बनाइएका १० नेपाली कामदारहरू ज्वरो र झाडापखालाले ग्रस्त भएका छन् ।

बाग्रामस्थित अफगानीको गेस्ट हाउसमा रहेका कामदारमध्ये इलामका लीलबहादुर काफ्ले र झापाका राजेन्द्र मिश्र बिरामी परेर नराम्ररी थलिएका छन् । अरू सबैजसो कामदार ज्वरोले ग्रस्त छन् । काबुल, दिल्ली र काठमाडौंका तीन म्यानपावर एजेन्टद्वारा एक वर्षअघि अफगानिस्तान पुर्‍याइएका उनीहरू उता गएदेखि नै अलपत्र छन् । 'अफगानीलाई बिन्ती बिसाएर साथी राजेन्द्रलाई स्लाइन पानी चढाउनुपर्‍यो, म ज्वरो र झाडापखालाबाट ग्रस्त छु,' लीलबहादुरले फोनमा भने ।

आफूहरूलाई देश फर्काइदिन आग्रह गर्दा दिल्ली र काठमाडौंका एजेन्टहरू सम्पर्कहीन बनेको यी कामदार बताउँछन् । 'हामीलाई बाहिर आवतजावत गर्न दिइन्न, अफगानी होटलवालाले हाम्रो पासपोर्ट र अरू कागजात जफत गरेर राखेको छ,' गेस्ट हाउसमा रहेका लीलबहादुरले भने । पीडित कामदारहरूले जनाएअनुसार जनही ४ लाख रुपैयाँ उठाएर भारतको दिल्ली विमानस्थल हुँदै अफगानिस्तान पठाउने एजेन्टहरूमा सुमित्रा राई (काठमाडौं), मिलन थापा (दिल्ली) र गोपाल कार्की (काबुल) रहेका छन् ।

Published on: 3 July 2012 | Kantipur

Back to list

;