s

अपांगता भएकाहरूलाई रोजगार मेला

देवनारायण साह

मोरङ — अपांगता भएका व्यक्तिहरुका लागि विराटनगरमा पहिलो पटक दुईदिने रोजगार मेला आयोजना गरिएको छ । प्रदेश १ स्थित औद्योगिक तथा ब्यपारिक प्रतिष्ठानहरूलाई अपांगमैत्री बनाउनुका साथै अपांगता भएका व्यक्तिप्रतिको नराकारात्मक दृष्टिकोण हटाई समाजमा स्थापित गराउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपांग महासंघ प्रदेश १ र करुणा फाउण्डेसनको सहयोगमा जैन भवनको प्रांगणमा मेला आयोजना गरिएको हो । मेलामा प्रदेश १ स्थित मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, पाँचथर, भोजपुर र संखुवासभाका ३ सय अपांगता भएका व्यक्तिहरुलाई यस प्रदेशस्थित औद्योगिक, ब्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, बैंकिङ तथा विकास क्षेत्रमा रोजगार दिने उद्देश्य रहेको द लेप्रोसी मिसन नेपाल अन्तर्गतका फाउण्ड परियोजनाका अध्यक्ष विपिन दासले बताए ।

दुईदिने अपांगता समावेशी रोजगार मेलाको उद्घाटनपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले निजी क्षेत्रको अग्रसरतामा अपांगता भएका व्यक्तिहरुको क्षमता र सीपको पहिचान गरी रोजगारी दिएर आत्मनिर्भर बनाउनु महत्त्वपूर्ण काम हुनुका साथै समाजिक उत्तरदायित्व बहन गरेको प्रमाणित भएको बताए । ‘राज्य निकायमा अपांगता भएका व्यक्तिहरुका लागि बजेट विनियोजनदेखि कार्यक्रम बनाउन र कार्यान्वयनमा समेत कर्मचारीहरु झन्झट मानिरहेकाले उनीहरु सेवा सुविधाबाट वञ्चित हुन बाध्य भइरहेका छन्,’ उनले भने, ‘राज्य निकायका लागि आमनागरिक सबै बराबर भएकाले हरेक वर्ग, समुदाय, क्षेत्रका लागि लगानी गर्नु र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ । र त्यसैले समतामुलक समाज निर्माण गर्न मद्दत पुग्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले मेलामा यहाँका ३३ वटा औद्योगिक प्रतिष्ठानले स्टल राखेर कामको प्रकृति अनुसारका आवश्यक योग्य व्यक्तिको पहिचान गरिरहेको बताए । मेलामा रोजगारीका लागि आएका अपांगता भएका व्यक्तिहरुले ब्यापारिक प्रतिष्ठानले राखेका स्टलहरुमा गएर रुची अनुसारको रोजगारीको छनोट गर्ने अवसर पाएका छन् ।

राष्ट्रिय अपांग महासंघ प्रदेश १ का कार्यक्रम संयोजक सरोज नेपालीले यो मेलाले अपांगता भएका व्यक्तिहरू प्रतिको नकारात्मक दृष्टिकोण हटाउनुका साथै समाजमा स्थापित गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘अपांगता भएका व्यक्तिहरु परिवारका लागि बोझ भएको आम बुझाईलाई चिर्न रोजगार मेला सार्थक सिद्ध हुन्छ,’ उनले भने, ‘अपांगता भएका व्यक्तिहरु रोजगारी गर्न थालेपछि उहाँहरुलाई पनि सामाजिक प्रतिष्ठा प्राप्त भएर स्थापित गराउन मद्दत पुग्छ ।’

फाउण्ड परियोजनाले हालसम्ममा यस क्षेत्रका ७२ जनालाई विभिन्न क्षेत्रका रोजगारदातासँग सहकार्य गरेर रोजगारी प्रदान गर्नुका साथै बिउ पुँजी दिएर १२५ जनालाई स्वरोजगारसमेत बनाइसकेको जनाएको छ ।

Published on: 2 January 2023 | Kantipur

Link

Back to list

;