s

अन्योलमा भुटानी शरणार्थीको भविष्य

चिरञ्जीवी घिमिरे

 

पूर्वी नेपालको झापा र मोरङमा तीन दशकदेखि बसेका भुटानी शरणार्थीको भविष्य अन्योलमा परेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर र मोरङको पथरीशनिश्चरे नगरपालिकाको शिविरमा रहेका ६ हजार तीन सय ६५ जना शरणार्थीको भविष्य अन्योलमा परेको हो । 

सन् २००७ देखि सुरु भएको तेस्रो देश पुनर्वास प्रक्रिया २०१६ बाट स्थगित भएको छ । स्वदेश फिर्तीका लागि भुटान सरकार तयार छैन । नेपाल सरकारले स्थानीयकरणमा चासो देखाएको छैन । जसका कारण भुटानी शरणार्थीको दिगो समस्या समाधानमा जटिलता थपिएको छ । 

हालसम्म एक लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत तेस्रो देश पुनर्वास भइसकेका छन् । पुनर्वास प्रक्रिया रोकिएसँगै परिवारका केही सदस्य नेपालमा र केही तेस्रो देशमा छन् । जसले पारिवारिक विखण्डन ल्याएको छ । स्वदेश फर्कन चाहने वृद्धवृद्धा शिविरमा एक्लै छन् । दातृनिकाय राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्त (युएनएचसिआर) ले पनि सन् २०२१ को सुरुवातसँगै भुटानी शरणार्थीलाई छाडेको छ । 

‘पुनर्वास प्रक्रिया पनि रोकियो, स्वदेश फिर्तीका लागि भुटानसँग वार्ता पनि छैन । दातृनिकायले पनि छाड्यो । स्थानीयकरणको कुरै आउँदैन,’ भुटानी शरणार्थी शिविर पथरीशनिश्चरेका सचिव चम्पासिंह राईले भने, ‘अब हाम्रो भविष्य के ? हामीले के गर्ने ? नेपाल सरकारले हाम्रो समस्या समाधानमा किन चासो नदेखाएको ?’ शरणार्थीको रूपमा २९ वर्ष बिताइसकेकाले अब शरणार्थी बनाइनरहन राईको आग्रह छ । ‘तीन दशक भयो । अब कति शरणार्थीको ट्याग भिर्ने ? कि स्वदेश फर्कानुपर्‍यो, कि त पुनर्वास गरिदिनुप¥यो । होइन भने यहाँ बस्न चहानेलाई नेपालीसरहको सुविधा दिनुपर्‍यो,’ उनले भने, ‘अब हामीलाई शरणार्थीको दर्जामा नराखिदिन नेपाल सरकारसँग आग्रह गर्छु । युएनएचसिआरले ९२ प्रतिशत भुटानी शरणार्थी समस्या समाधान भयो भनेर छाड्यो । तर, हामी कहिलेसम्म शरणार्थी भएर बस्ने ?’ 

भुटानी शरणार्थी अगुवा डा. भम्पा राईले अब नेपाल सरकारसँग भरोसा रहेको बताए । ‘अब हाम्रो भरोसा नेपाल सरकारसँग हो । नेपाल सरकारले भुटान सरकारसँग वार्ता गरेर हामीलाई स्वदेश फर्काउनुपर्छ,’ उनले भने, ‘हाम्रो भविष्य अन्योलमा पार्नुहुँदैन । हाम्रो पनि त मानव अधिकार होला ।’ 

पुनर्वासले वृद्धवृद्धा पारिवारिक विखण्डनमा छन् । हातगोडा चल्न छाडेका उनीहरू एक्लै शिविरमा जीवन काटिरहेका छन् । ८१ वर्षीया डम्बरकुमारी काफ्लेकी छोरी पुनर्वास भएर अमेरिकातिर लागिन् । उनलाई छोरीले अमेरिका जान कर गरेकी थिइन् । तर, डम्बरकुमारीले मानिनन् । उनलाई मर्ने वेलामा भुटान पुग्ने रहर छ । ‘छोरी पछ्याउँदै आएकी मलाई अमेरिका हिँड भन्दै थिई, मैले मानिनँ । अमेरिकामा त भाषा पनि जानिँदैन । यहाँ त मागेर पनि खान सक्छु । छोरीले दसैँमा पैसा पठाइदिउँ आमा भन्दै थिई । काम गर्न सकिन्जेल आफैँ गरेर खान्छु, पर्दैन भनेँ,’ डम्बरकुमारी भन्छिन्, ‘माइती भुटानमै छन् । दाइ, भाउजू, दिदीहरू हुनुहुन्छ । तर म यहाँ एक्लै भएँ ।’ 

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढा नेतृत्वको टोलीले मंगलबार बेलडाँगी र शनिश्चरे शिविरको अनुगमन गरेको छ । अनुगमन टोलीमा युएनएचसिआरका प्रतिनिधि पनि थिए । ‘अनुगमन नगरेको पनि धेरै भएको थियो । शिविरको अवस्था के छ भनेर अनुगमन गर्न आएका हौँ,’ सहसचिव बुढाले भने, ‘उहाँहरूको कुरा पनि सुनौँ र हाम्रा कुरा पनि राखौँ भनेर आएका हौँ ।’ 

शरणार्थीले विगतदेखि नै राख्नै आएका स्वदेश फिर्ती र पुनर्वासको विषय उठाएको उनले बताए । यहाँ बसिन्जेल जीविकोपार्जनमा सहयोगको अपेक्षा शरणार्थीले राखेको उनको भनाइ छ । ‘उहाँहरूको मुख्य कुरा स्वदेश फिर्तीका लागि नेपाल सरकारले पहल गरोस् भन्ने थियो,’ उनले भने, ‘केही शरणार्थीले बाख्रा, बंगुर पालन सुरु गर्नुभएको रहेछ । यसमा पनि सहयोग होस् भन्ने अपेक्षा उहाँहरूको थियो ।’ 

अनुगमन टोलीले शरणार्थीको दिगो समस्या समाधानबारे बताउन नसकेको पथरीशनिश्चरे शिविर सचिव चम्पासिंह राईले बताए । ‘उहाँहरू (सरकारी टोली)को कुरा खासै उत्साहजनक थिएन । हाम्रो दिगो समाधानका लागि ठोस जवाफ पनि दिन सक्नुभएन,’ उनले भने, ‘केही कुरामा आश्वासन दिनुभयो । तर, हामीलाई ती पूरा हुनेमा विश्वास खासै छैन ।’ पछिल्लो समय दातृ निकायले छाडेपछि शिविरबाट विद्यालय पनि हटेको छ । शिक्षा र स्वास्थ्य शरणार्थी बस्दै आएको स्थानीय तहले हेर्दै आएको छ ।

भुटानी शरणार्थीको दिगो समस्या सामाधानका लागि सरकारले तयारी थालेको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता बुढाले शरणार्थी समस्या समाधानका लागि आन्तरिक छलफल सुरु भएको जानकारी दिए । उनले स्वदेश फिर्ती र पुनर्वासका लागि पहल गर्ने गरी छलफलको तयारी भइरहेको बताए । ‘तेस्रो दशमा पुनर्वास र उहाँहरूको घर फिर्तीको प्रयास एकपटक गर्ने भन्ने छ,’ सहसचिव बुढाले भने, ‘यो अहिले छलफलकै क्रममा छ । ठ्याक्कै यही गर्ने भन्ने त निर्णय भइसेको छैन ।’ 

‘स्थानीयकरणका विषयमा छलफल भएको छैन’

तीन दशक नेपालमा बिताएका कतिपय भुटानी शरणार्थी नेपालमै बस्न चाहन्छन् । शिविर सचिव राईका अनुसार केहीले व्यवस्थित गरेर राखे यहीँ बस्ने इच्छा जनाएका छन् । तर, सहसचिव बुढाले यो विषयमा मन्त्रालयमा छलफल नै नएको बताए । बरु नेपालमा बसिन्जेल जीविकोपार्जनमा सहयोग गर्ने तयारी भइरहेको उनले बताए । ‘स्थानीयकरणको त कुरै भएको छैन । बरु तेस्रो देश पुनर्वास र स्वदेश फिर्तीका लागि एकपटक पहल गर्ने कि भन्ने भइरहेको छ,’ उनले भने, ‘यहाँ बसिन्जेल जीविकपार्जनमा सहयोग पनि गर्न सकिन्छ ।’

दर्ताविहीनको तत्काल दर्ता गर्ने अश्वासन

विविध कारणले दर्ता प्रक्रिया छुटेका शरणार्थी पनि छन् शिविरमा । विगतमा कामको सिलसिलामा शिविरबाहिर गएर छुटेकाहरू अहिले शिविरमै आएर बसेका छन् । उनीहरू अहिले परिचयपत्रविहीन छन् । उनीहरूको दर्ता प्रक्रियामा तत्काल केही गर्ने अनुगमनमा आएको सरकारी टोलीले आश्वासन दिएको शिविर सचिव राईले बताए । दुईवटै शिविरमा करिब आठ सयजना युएचएचसिआरको रेकर्डमा रहेको, तर शरणार्थीका रूपमा दर्ता नभएकाहरू छन् । ‘क्याम्पबाहिर बस्ने, अन्य जिल्लामा जागिर गरेर बस्ने र अन्य कारणले बाहिर बसेर दर्ता छुटेकाको संख्या पनि धेरै छ,’ सहसचिव बुढाले भने, ‘उहाँहरूले आठ सय छन् भन्नुभएको छ । भेरिफाई गर्नुपर्छ । उहाँहरूलाई कहाँ छन् भन्दा जवाफ दिन सक्नुहुँदैन । राज्यले दर्ताका लागि केही निर्णय गरे भेरिफाई हुन्छ ।’

Published on: 11 March 2021 | Nayapatrika

Link

Back to list

;