s

अनुत्पादक क्षेत्रमा रेमिटेन्स

प्रदीपचन्द्र राई

जिल्लाका बैंक तथा वित्तीय संस्थामा आफन्तले विदेशबाट पठाएको रकम निकाल्नेको भीड हुन्छ । वैदेशिक रोजगारीका माध्यमबाट भोजपुरमा वार्षिक अर्बौ रुपैयाँ रेमिटेन्स भित्रिन्छ । तर, यसरी भित्रिएको रकम उत्पादनमूलक क्षेत्रमा उपयोग हुन सकेको छैन ।

रेमिटेन्समार्फत आएको रकम व्यावसायिक क्षेत्रमा लगाउनुको सट्टा घर, घडेरी र सवारीसाधनमा खर्च हुने गरेको छ । यसले समाजमा अस्वस्थ प्रतिस्पर्धा र देखासिकी बढाएको छ । ग्रामीण भेगमा भित्रिएको रेमिटेन्स खानपान, लत्ताकपडा र विलासिताका वस्तुमा खर्च भइरहेको छ । ‘आफन्तले विदेशमा ज्यानको बाजी लगाएर कमाएर पठाउँछन्', दिङ्लाका दिलकुमार राईले भने,‘ यता भने उनीहरूका आफन्तले मोजमस्ती गरेर सिध्याउने गरेका छन् ।'

रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नुको साटो गाउँघर छाडेर सुविधा सम्पन्न सहरमा बसाइँ सर्ने बढेका छन् । ‘ श्रीमानले विदेशमा दुःख गरेर पठाउने, यता श्रीमती छोराछोरीसहित सदरमुकाम बस्ने चलन बढेको छ', स्थानीय पर्शुराम तिवारीले भने । जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाको तथ्यांकअनुसार मासिक ३० देखि ३५ करोड रुपैयाँ रेमिटेन्स भित्रिने गरेको छ । रेमिटेन्समार्फत आएको रकम व्यावसायिक क्षेत्रमा लगाउनुको सट्टा घर, घडेरी र सवारीसाधनमा खर्च हुने गरेको छ

राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रबन्धक रविन श्रेष्ठका अनुसार महिनैपिच्छे रेमिटेन्स बढ्दै गएको छ । ‘युवा पुस्ता बिदेसिने क्रम बढ्दो छ, रेमिटेन्स पनि बढ्ने निश्चित भइहाल्यो', उनले भने । जिल्लामा एक दर्जन बैंक र आधा दर्जन मनी ट्रान्सफरले रेमिटेन्सको कारोबार गर्छन् । रेमिटेन्स बैंकको तुलनामा मनी ट्रान्सफरबाट बढी भित्रिने गरेको छ । एउटा रेमिटेन्सले महिनामा पाँचदेखि ६ करोड रुपैयाँ भित्र्याउँछन् ।

राज्यले लगानीको वातावरण र चेतना फैलाउन नसक्दा दुःखले आर्जेको विदेशी रुपैयाँ अनुत्पादक क्षेत्रमा खर्च भएको रानीवासका एलबी प्रधानको भनाइ छ । रेमिटेन्सको कति खर्च गर्ने, कति बचत गर्ने, कति लगानी गर्ने स्पष्ट नीति छैन । सर्वसाधारणलाई लगानीका बारेमा ज्ञान छैन । उत्पादनमुखी बनाउन राज्यबाटै योजना बनाएर लागू गरिनुपर्ने उनको भनाइ छ ।

युवा पुस्ता वैदेशिक रोजगारीमा खाडी पुगेपछि गाउँ सुनसान छन् । गाउँघर वृद्धवृद्धा, महिला, केटाकेटीका भरमा छ । जिल्ला प्रशासन कार्यालयमा दैनिक १२ देखि १६ जनाले वैदेशिक रोजगारीका लागि सिफारिस बनाउने गरेका छन् । ‘८० प्रतिशत सिफारिस पुरुषले लिन्छन्', प्रशासनका एक अधिकारीले भने । गत आवमा प्रशासनले साधारण प्रकृतिका तीन हजार पाँच सय ८७ र द्रुत प्रकृतिका दुई हजार चार सय ८७ राहदानी सिफारिस गरेको थियो । तुलनात्मक रूपमा हाल जिल्लामा ८० देखि ९० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । अधिकांश घरबाट एकदेखि चार जनासम्म वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । 

Published on: 12 February 2017 | Annapurna Post

Back to list

;