s

अन्त्येष्टिको २ वर्षपछि शव !

जनकराज सापकोटा
 
बाँकेको ए गाउँ सीतापुरबाट झन्डै १६ घण्टा लामो बसयात्रापछि सोमबार वीरबहादुर खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । सिट नपाएपछि उभिएरै गरेको यात्राका कारण उनी थाकेका त थिए नै त्योभन्दा ठूलो चिन्ता उनको मनमा थियो । साढे चार वर्षअघि साउदी अरबमा सडक दुर्घटनामा परी मृत्यु भएका छोरा हर्षमान खत्रीको शव बल्ल काठमाडौं आइपुगेको थियो । वीरबहादुर छोराको शव लिन आएका थिए । 
 
शव अहिले आइपुगे पनि वीरबहादुरले दुई वर्षअघि नै विधिपूर्वक छोरा हर्षमानको किरिया गरिसकेका थिए । मृत्यु भएको दुई वर्षसम्म पनि शवको पत्तो नलागेपछि उनले घरछेवैको चिरनखोलामा कुशको शव बनाएर दाहसंस्कार सम्पन्न गरेका थिए । किरिया सकेको दुई वर्षपछि गत वैशाखमा जिल्ला प्रहरी कार्यालयले उनलाई खबर गर्‍यो, ‘तपाईंको छोराको शव साउदीको किङ फहाद होफुफ अस्पतालमा भेटिएको छ ।’ 
 
काजकिरिया गरिसकेका छोराको शव नेपाल ल्याउने प्रक्रियाका लागि त्यसपछि वीरबहादुर पछिल्ला ६ महिनामा तीन पटक काठमाडौं धाए । परराष्ट्र मन्त्रालयदेखि, कन्सुलर शाखा, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृह मन्त्रालयसम्म धाए । 
 
उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरादेखि परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसम्मलाई भेटेर सरकारले नै खर्च बेहोर्ने गरी शव ल्याउने प्रक्रिया सुरु भएको थियो । मन्त्रिपरिषदले शव ल्याउने खर्च बेहोर्ने निर्णय भएको झन्डै तीन महिनापछि हर्षको शव आइपुगेको हो । 
 
विमानस्थलमा भेटिएका वीरबहादुरले भने, ‘दु:खी भनौं भने महिनौंको दौडधुपपछि छोराको शव आएको छ । खुसी भनौं भने, शव छोराको देख्दा केको खुसी लाग्छ र ?’ 
 
कक्षा आठ पास गरेपछि झन्डै डेढ वर्ष माओवादी पार्टीमा प्रवेश गरी सशस्त्र द्वन्द्वमा लागेका हर्षमानपछि वैदेशिक रोजगारीमा साउदी अरब गएका थिए । छोरा माओवादी कार्यकर्ता रहेकाले गर्दा माओवादी सरकारले उनको शव छिटो ल्याउन पहल गरिदिन्छ भन्ने आस वीरबहादुरको थियो । दुर्घटनाको चार वर्षपछि मात्रै गत वैशाखमा रियादस्थित नेपाली दूतावासले ठेगाना प्रस्ट नभएको भनिएको शव हर्षमानकै रहेको पत्तो पाएको थियो । उनको शव डेनिस खत्रीको नाममा दर्ता गरिएका कारण शवको पहिचान खुलेपछि पनि नेपाल पठाउन समस्या परेको थियो । फरक नाममा रहेको शव हर्षकै हो भनेर प्रमाणित गर्न दूतावासलाई लामो समय लागेको थियो । 
 
छिमेकी कमलसिंह खत्री र टंक पोख्रेलको साथ लागेर काठमाडौं आएका वीरबहादुरले भने, ‘यस्तो सास्ती कसैले नखेपोस् ।’ छिमेकी टंकका अनुसार छोराको शव आएको खबर थाहा पाएदेखि नै घरमा गाउँलेहरूको भीड लागेको छ । 
 
छोराको मृत्युलगत्तै महिनौं शोकमा डुबेको परिवार शव फेला नपर्ने निश्चयमा पुगेपछि कुशको शव बनाएर किरिया गर्ने बेलामा दोस्रो पटक शोकमा डुबेको थियो । टंकले भने, ‘एउटै मृत्युमा परिवारका सदस्यले तेस्रो पटक शोक भोग्नुपर्‍यो ।’ २०६८ मा साउदी अरब पुगेका हर्ष २२ महिनापछि सडक दुर्घटनामा परेका थिए । त्यतिबेला बाबु वीरबहादुर पनि साउदीमै थिए । छोराको मृत्युको खबर थाहा पाएपछि उनले महिनौं शवको खोजी गरेका थिए । तर, पत्ता नलागेपछि नेपाल फर्केका थिए । कुशको शव बनाएर पहिले नै तेह्र दिन किरिया गरेकाले पण्डितले पाँच दिनमै किरिया उम्काउने भनेको उनले बताए । 
 
हर्षमानलाई दलाल हिरालाल ओली र उमेश आचार्यले भारतको बाटो हुँदै गैरकानुनी रूपमा साउदी पुर्‍याएका थिए । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार कानुनसम्मत हिसाबले साउदी गएको भए र करार अवधिभित्रै मृत्यु भएको भए खत्रीले सरकारबाट आर्थिक सहायता पाउने थिए । वीरबहादुरका कान्छा छोरा पनि दुबईमा कार्यरत छन् ।
 
छैन कार्यविधि 
 
सामान्यतया अवैध बाटोबाट विदेश पुगेका नेपाली कामदारको मृत्यु भएमा कामदारको शव नेपाल ल्याउने विषयमा परराष्ट्र मन्त्रालयले श्रम तथा रोजगार मन्त्रालयलाई पत्र काट्छ र श्रमले आवश्यक रकमका निम्ति अर्थ मन्त्रालयको बजेट महाशाखामा मन्त्रीस्तरीय निर्णय गरेर पत्र काटिन्छ । 
 
हर्षको हकमा भने अर्थ मन्त्रालयको बजेट महाशाखाले रकम उपलब्ध नगराई श्रम मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजान स्वीकृति दिएको थियो । मन्त्रिपरिषदले रकम निकासाका लागि स्वीकृति दिएपछि परराष्ट्र मन्त्रालय हुँदै साउदी अरबस्थित नेपाली दूतावासमा रकम पुगेको थियो । यो बीचमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा रायका निम्ति भन्दै पत्र पठाउने र मृतक श्रम स्वीकृति लिएर गएको हो वा हैन भनेर बुझ्नका निम्ति वैदेशिक रोजगार विभागमा समेत पत्राचार गरिन्छ । 
 
सरकारी खर्चमा शव ल्याउने स्पष्ट कार्यविधि नहुँदा हर्षको शव ल्याउन महिनौं ढिलाइ भएको थियो । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेल स्पष्ट कार्यविधिको अभावमा शव ल्याउन ढिलाइ भइरहेको स्वीकार्छन् । भन्छन्, ‘रकमको जोहो कसले गर्ने भन्ने स्पष्ट हुन आवश्यक छ ।’ 
 
२०७१ सालमै तत्कालीन श्रम तथा रोजगार मन्त्रालयका सचिव भोला शिवाकोटीको पालामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको शव ल्याउनेसम्बन्धी कार्यविधि बन्ने प्रक्रिया सुरु भएको थियो । कार्यविधि बन्न सुरु भएको साढे दुई वर्षमा पनि मन्त्रालयले त्यसलाई पारित गरेको छैन । 
 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले यो बीचमा शव व्यवस्थापन कार्यविधि शीर्षकमा दुईवटा ड्राफ्ट बनाएर मन्त्रालय पठाए पनि त्यो त्यसै थन्किएको छ । मन्त्रालयका अनुसार संशोधनको प्रक्रियामा रहेको वैदेशिक रोजगार नियमावलीमै यस विषयलाई समेटने भनिएकाले कार्यविधि पारित नभएको हो । वैदेशिक रोजगार प्रवद्र्धधन बोर्डका कार्यकारी निर्देशक काफ्ले भन्छन्, ‘स्पष्ट कार्यविधि नबन्दा एउटा शव ल्याउनका लागि रकमको जोहो गर्न मन्त्रिपरिषदै निर्णय पर्खिनुपर्ने अवस्था छ ।’ 
 
स्पष्ट कार्यविधि नबन्दा वैदेशिक रोजगारीमा मृत्यु भएका नेपालीहरूको शव ल्याउन ढिलाइ मात्रै भएको छैन, अन्तरसरकारी निकायबीच समन्वय पनि गतिलो हुन सकेको छैन । त्यसैको एउटा उदाहरण हो, शवको पहिचान भएको सात महिनापछि हर्षको शव आउनु ।
 
Published on: 8 November 2016 | Kantipur

Back to list

;