s

एन्टिजेन परीक्षण गर्न नपाउँदा श्रमिकहरू एयरपोर्टमै अलपत्र : सरकारलाई पत्तो छैन

शिवहरि घिमिरे

वैदेशिक रोजगारीका क्रममा बिदामा घर आएका रुपन्देही बेल्वासका अर्जुन शर्मा कोरोनाका कारण ६ महिनापछि बल्ल युएई फर्कने टिकट मिल्यो । कम्पनीबाट बोलावट आएपछि उनी आवश्यक राहदानी, टिकट, श्रम स्वीकृतिपत्र, पिसिआर रिर्पोटलगायतका कागजात बोकेर मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय पुगेका थिए । यसबाहेक आवश्यक पर्ने एन्टिजेन रिपोर्ट विमानस्थलमै बनाउने भनेर एयरलाइन्स कम्पनीले बोलाएको थियो । तर, दुबई सरकारले अनिवार्य गरेको एन्टिजेन परीक्षण (¥यापिड टेस्ट) एयरपोर्टमा परीक्षण भएन । एयरलाइन्स कम्पनीले एन्टिजेन परीक्षण नगरेपछि उनीसहित १ सय १८ जना युवाहरू मंगलबार गन्तव्यतर्फ उड्न पाएनन् ।

कोरोना संक्रमण भएको पुष्टि गर्ने पिसिआरपछिको अर्को माध्यम एन्टिजेन परीक्षण गर्नका लागि सरकारले कुनै तयारी गरेको छैन । यसअघि केही जिल्लाहरूमा एन्टिजेन परीक्षण भएको थियो । तर, भरपर्दो नमानिएपछि त्यसलाई रोकिएको थियो । तर, अहिले दुबई सरकारले एन्टिजेनलाई पनि कोरोना परीक्षणको आधार मान्दै रिपोर्ट अनिवार्य गरेको छ । यसबारेमा जानकारी भए पनि कामदार लैजाने कम्पनी र एयरलाइन्स कम्पनीले एन्टिजेन टेस्ट गर्न पहल नगर्दा विदेश जान तम्तयार भएका  कामदारहरू एयरपोर्टबाटै फर्किन बाध्य भएका छन् । ‘अझै कति समय लाग्ने हो, पत्तो नै छैन, यो खाले परीक्षण यहाँ हुँदैन रे,’ बुधबार एयर अरेबियाको कार्यालयमा भेटिएका शर्माले भने, ‘अब पैसा फिर्ता लिएर घर फर्कनुको विकल्प छैन ।’

उनीजस्तै उदयपुरका नारायण बस्नेत पनि विदेश जान तयार भएर मंगलबार विमानस्थल पुगेका थिए । उनी पनि एन्टिजेन टेस्ट नहुँदा विदेश जान पाएनन् । एन्टिजेन परीक्षणको व्यवस्था नगरेसम्म दुबई सरकारले ‘इन्ट्री’ नदिने उनको भनाइ छ । ‘यस्तो नियम हालसालै लागू गरेको रहेछ, हामीले जानकारी पाएपछि एयरलाइन्स कम्पनीसँग पनि सोधेका थियौँ, एयरलाइन्सले एयरपोर्टमा टेस्ट हुन्छ भनेपछि तयारीसहित एयरपोर्ट पुगेको थिएँ,’ उनले गुनासो गरे ‘तर फर्किनुपर्‍यो ।’ 

दुबई सरकारले विदेशबाट आएका कामदारलाई आठ घन्टाअघिको एन्टिजेन टेस्ट रिपोर्ट अनिवार्य गरेको छ । उक्त टेस्ट एयरपोर्टमै गर्दा सहज हुने कामदारको भनाइ छ । तर, सरकारले त्यसतर्फ चासो नदिँदा रोजगारमा जाने युवाहरूले दुःख पाएका छन् । ‘यो पिसिआर रिपोर्टभन्दा पनि सजिलो छ, स्वाब दिएको दुई घन्टाभित्रै रिपोर्ट आउँछ, तर हामीले पहल गर्दा पनि सरकारले चासो दिएनन्,’ बुधबार हिमालयन एयरयाइन्सको कार्यालयमा भेटिएका बारामा फर्सु यादवले भने, ‘सरकारले बाहेक अरूले यो परीक्षण गर्न सक्दैनन् ।’

युएई सरकारले जहाजको बोर्डिङ पास हुनुअघि नै एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरेको छ । यसअघि सोमबार नेपाल वायुसेवा निगमको जहाजमार्फत युएई हिँडेका कामदार निराश हुँदै फर्किएका थिए । एन्टिजेन रिपोर्ट नहुँदा हिमालयका ९० जनाभन्दा बढी, नेपाल वायुसेवा निगमका ६५ जना र एयर अरेबियामा १ सय २८ जना कामदार यात्रुहरू अलपत्र परेका छन् । उनीहरूले एयरलाइन्स कम्पनीहरूमा पुगेर टिकट फिर्ता गर्न थालेका छन् ।

प्रमाणीकरणमा समस्या उस्तै

यसबाहेक हाल वैदेशिक रोजगारमा जानेहरूले कोरोनाविरुद्धको खोप लगाएपछि प्रमाणीकरणको समस्या झेल्दै आइरहेका छन् । युएई सरकारले भेरोसिल खोप लगाएर गएका कामदारलाई फर्काउने तथा एन्टिजोन रिपोर्ट माग गर्दै दुःख दिइरहेको छ । तर, यसबारेमा वेदैशिक रोजगार विभाग जिम्मेवार नै देखिँदैन । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले कामदार अलपत्र परेकोबारे आफूलाई जानकारी नभएको बताए ।

उनले भने, ‘खोप नलगाएका कारण फर्किए रे भन्ने त सुनेको थिएँ, तर एन्टिजेन रिपोर्ट नभएर फर्किएको जानकारीमा आएको छैन ।’ उनले एन्टिजेन परीक्षण गर्ने काम स्वास्थ्य मन्त्रालयको भएको बताए । ‘हामीले हाम्रा कामदार यसरी अलपत्र परे भनिदिने हो, परीक्षण गर्ने कार्य स्वास्थ्यको हो,’ उनले भने, ‘यसअघि जोन्सन खोप कामदारलाई लगाउनुपर्छ भनेर पत्र पठाउँदा स्वास्थ्यले टेरपुच्छर लगाएन ।’

Published on: 12 August 2021 | Nayapatrika

Link

Back to list

;